२७ वैशाख २०८३ आइतबार
image/svg+xml
धर्म/संस्कृति

रातो मच्छिन्द्रनाथको जात्रा सुरु, गाबल पुर्‍याइयो

ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। पुलचोकबाट तानेर रातो मच्छिन्द्रनाथको रथ गाबल पुर्‍याइएको छ।

वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको देवतालाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो। तिथिअनुसार मंगलबार पुलचोकबाट रथ तानेर गाबल पुर्‍याइएको हो।

गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथलाई मीननाथ देवताले स्वागत गर्दै गाबलसम्म ल्याइएको हो। बुधबारदेखि रातो मच्छिन्द्रनाथको रथ अगाडि लाग्नेछ भने मिननाथ देवताको सानो रथ पछि लाग्नेछ।  

रथ गाबल, सुन्धारा, लगनखेल हुँदै ठटीटोल पुर्‍याइनेछ । ठटीटोलमा पुगेपछि जात्राको पहिलो चरण सम्पन्न हुने मच्छिन्द्रनाथ मृदङ्ग भजनमण्डलका सदस्य प्रद्युम्न श्रेष्ठले जानकारी दिए। उनका अनुसार लगनखेलबाट करिब सय मिटर अगाडि रथ तानेर पोडेटोलमा नरिवल फुटाउने र त्यसको भोलिपल्ट महिलाले रथ तान्ने परम्परा रहेको छ।

ठटीटोलमा रथ विश्राम गरेपछि बिहीबार पात्रो हेरिन्छ र तिथिअनुसार एकदेखि करिब दुई महिनासम्म रथ त्यहीँ रहन सक्छ। त्यसपछि तिथिअनुसार रातो मच्छिन्द्रननाथको रथलाई पश्चितर्फ तानिन्छ। कुमारीपाटी हुँदै जावलाखेलस्थित ललितमण्डप पुर्‍याएको चौथो दिन ‘भोटो देखाउने’ प्रचलन रहेको छ।

प्रकाशित: ८ वैशाख २०८३ २१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App