कर्णाली प्रदेश सरकारले अब जुम्लास्थित चन्दननाथ मन्दिरको लिंगो बोक्ने दिन जुम्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज २२ गतेलाई जुम्लामा मात्र लागू हुने सार्वजनिक बिदाको रूपमा घोषणा गरेको हो। यो निर्णय प्रशासनिक देखिए पनि यसको सांस्कृतिक र धार्मिक गहिराइ धेरै फरक छ। जुम्लाको चन्दननाथ मन्दिरको परम्परागत ‘लिंगो तान्ने’ अभ्यास केवल धार्मिक क्रिया होइन। यो जुम्लाबासीको सामूहिक चेतना, श्रम, भौगोलिक चुनौती र आस्थाको प्रतिक मानिन्छ।
जुम्लाको चन्दननाथ नगरपालिका–३ लामासिम र डिखेल्ला जंगलबाट उठाइने ५२ हातका चन्दननाथ र ४८ हातका भैरवनाथका लिंगा यी ढिक्का मात्र होइनन्स वर्षौंदेखि सङ्कलित ज्ञान, कौशल र विश्वासको प्रतिक हुन्। ऋषि पञ्चमीमा जंगलमा पूजा, आश्विन कृष्ण त्रयोदशीमा खलंगामा ल्याउने र घटास्थापनाको दिन मन्दिर प्रांगणमा स्थापन गर्ने सम्पूर्ण प्रक्रिया कर्णालीको सामाजिक,सांस्कृतिक जीवनको आधार बनिसकेको छ। पूर्वीयानुसार, पहिले लिंगा हातहातमा, त्यसपछि काँधमा, केही वर्ष ट्र्याक्टरमा र अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिकको संयुक्त सहभागितामा सडकमा घिसारिँदै ल्याइन्छ।
यस परम्परामा देखिने परिवर्तन आधुनिकता र परम्पराबीचको द्वन्द्वको स्पष्ट उदाहरण हो।काठ र सामग्रीहरूको आपूर्ति प्रणाली मुगु, हुम्ला र कालिकोटले कर्णालीभित्रैको अन्तरनिर्भरता देखाउँथ्यो। यस्ता परम्परागत आपूर्तिको क्रमिक कमीले सांस्कृतिक अभ्याससँगै स्थानीय अर्थतन्त्रलाई पनि असर गरिरहेको छ। यता चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष अमरबहादुर थापाले भने, “जंगलबाट लिंगो ल्याउने दिनमा सार्वजनिक बिदा हुनु धार्मिक आस्थाको मात्र सम्मान होइन, सहभागी समुदायलाई राहत र उत्साह दिने कदम हो।”स्थानीय नवराज अधिकारीले थपे, “प्रदेश सरकारले यो बिदा दिने निर्णयले मन्दिरको महत्व मात्र बढाएको छैनस धार्मिक पर्यटन र समुदायको जुडावमा पनि नयाँ ऊर्जा थपेको छ।”
प्रकाशित: २४ चैत्र २०८२ २०:४९ मंगलबार





