४ चैत्र २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

बहुआयामिक पर्व गाईजात्रामा सांस्कृतिक विधाको संरक्षण

भक्तपुर सांस्कृतिक गतिविधि र व्यवहारिक राजधानी हो। यो एउटा खुल्ला विश्वविद्यालय हो। यहाँका संस्कार, संस्कृति, सम्पदा तथा सांस्कृतिक विधाहरू विश्वका जनताको खोजनीतिको विषय हो। यहाँका संस्कार र संस्कृति वैज्ञानिक र प्रकृति अनुकुल छ। वर्षभरि आइरहने लाखौं विदेशी पर्यटकको आगमनले भक्तपुर एक जीवन्त विश्वविद्यालय बन्न पुगेको छ।

 यसलाई मध्य नजर गरेर भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष सापारु तथा गाईजात्राको अवसरमा परम्परागत, आधुनिक तथा ख्याल नाटकतर्फ प्रतियोगितात्मक मूल्यांकन गरी संरक्षण गर्दै आइरहेको छ।

काठमाडौं उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ। नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट मुक्ति दिलाउन राजा प्रताप मल्लले सुरु गरेको मानिन्छ। तैपनि उनको शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको इतिहासमा अध्ययन गर्न सकिन्छ। यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन्। गाईजात्रा के हो? गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा पनि बृहत् छ।

हिन्दू धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठ्यूँमा पहेँलो वस्त्र लगाइ घुमाइन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो। साथै मृतकको आत्मा शान्तिका लागि मृतकका नाममा परिवारले रोटी, फलफूल, बिस्कुट लगायत विभिन्न खाद्य पदार्थ दान गर्ने गरिन्छ।

नेवारी भाषामा यो पर्वलाई 'सापारू' भनिन्छ। 'सा' को अर्थ गाई र 'पारू' को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ। भक्तपुरमा बालबालिकाको मृत्यु भएको छ भने केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ, जसलाई डोकोसाँ भनिन्छ। यसलाई नगर घुमाउन लैजाने चलन छ। यमलोकमा कसैले कसैलाई नछेकून् भनेर त्यसलाई सहजीकरण गर्न यहाँको टोलटोलका मान्छेहरू "तहामचा गना ते ग्वखं प्वाले ते, ग्वखं प्वाले मन्हंसा खुसी च्वय के छ्वय" भनी गिनी त्वङ गिनी त्वङ, घिन्ताङघिसी त्वङ भनेर लठ्ठी जुधाएर माैलिक नाच नाच्छन्।

गाईजात्राको इतिहासमा नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिँदै आएको छ। मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो। "लिच्छवि कालमा साँढे जुधाएर जात्रा गरिन्थ्यो। अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको छ। त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्त्व कति छ भन्ने देखाउँछ।

करिब ६०० वर्षअघिको गोपालराज वंशावलीमा 'सायात' भन्ने शब्द उल्लेख गरिएको हुँदा 'सा'को अर्थ गाई र 'यात' को अर्थ जात्रा हो भनी इतिहास तथा संस्कृतविद्हरू बताउँछन्।  भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको इतिहासमा अध्ययन गर्न सकिन्छ।

राजा प्रताप मल्लको पालामा आएर गाईजात्राको विधिविधान थपेर एउटा धार्मिक आस्थाको रूपमा गाईजात्राको दिन गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता विकास भई संस्कारको रूपमा मनाउने परम्परा संस्कृति बसेको हो। बाँचेकाहरूको भलो होस् र मरेकाहरूको पनि मोक्ष प्राप्ति होस् भनेर गाईजात्रा मनाइयो। गाईजात्रा र मृत्युगणना गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा माटोको साँढे वा तहासाँ बनाएर नगर परिक्रमा गर्ने चलन रहँदै आएको छ।

तहासाँ वा तहामचा भक्तपुरको गाईजात्राको विशेषता हो। बाँसमा फरिया बेरेको भए त्यो महिलाको र कपडा बेरेको भए त्यो पुरुषको तहासाँ भनेर बुझिन्छ। गाईजात्रा एक प्रकारको मृत्यु गणना जात्रा पनि हो।

परम्परागत सहर तथा नेवार बस्तीमा वर्षभरिमा कति मान्छेले ज्यान गुमाए भन्ने गाईजात्रा घुमाउने बाटोमा दिनभरि बस्दा एकदमै निश्चित र प्रामाणिक तथ्याङ्क आउँछ। भक्तपुरमा परालको भैरव र भद्रकालीको साथमा त्यस वर्ष मरेका व्यक्तिहरूको ताहासाँ प्रदर्शनपछि गाईजात्राको समापन हुन्छ।

गाईजात्रा र भ्यागुताको पूजा गाईजात्राको एक दिन अघि जनैपूर्णिमा पर्छ। त्यसै दिनबाट कृष्ण जन्माष्टमीसम्म गाईजात्रा पर्व मनाइन्छ। स्थानीय किसानहरू उक्त दिन स्थानीय भाषामा 'ब्याञ्चायात जा नकेगु' अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने गरिन्छ।

गाईजात्रा खेतीपाती र किसानसँग सम्बन्धित पर्व हो। रोपाइँ सकेर गोडमेल गरिसकेपछि साउन शुक्ल पूर्णिमादेखि अष्टमीसम्म आठ दिन मनाउने भनिएको छ। खेतमा काम गर्दा जति पनि कीराफट्याङ्ग्राहरू उनीहरूले मार्छन् त्यसका लागि क्षमायाचना गर्दै भ्यागुतालाई खाना खुवाउने गरिन्छ। कीराफटयाङ्ग्रा खाइदिने भएकाले भ्यागुता किसानको असल साथी भएको विश्वास गरिन्छ। गाईजात्रामा क्वाटीको प्रयोग क्वाटीमा ´क्वा` को अर्थ तातो र ´टी` को अर्थ झोल हो।

गाईजात्रामा नेवार समुदायले रोपाइँ सकेपछि जनैपुर्णिमाको दिन खेती किसानीमा देखापरेका विभिन्न प्रकारका किराफट्याङ्ग्रालाई आफ्नो आहारा बनाएर धान उत्पादन तथा वृद्धिमा उल्लेख्य सहयोग गर्ने भ्यागुतालाई विभिन्न गेडागुडी सहित खाना खुवाउने नेवारी संस्कृति  छ। जसलाई नेवारी भाषामा `ब्याञ्चायात जा नकेगु' भनिन्छ। त्यहीँ संस्कृतिअनुरूप नेवार समुदायले खेतीकिसानी तथा रोपाइँको क्रममा क्षति भएको वा प्रयोग भएको शक्ति पुनः पाओस् भन्ने उद्देश्यले विभिन्न प्रकारको गेडागुडीको मिश्रणले भरिपूर्ण तातो झोल खाने परम्परा छ, जसलाई नेवार समुदायले क्वाटी खाने भनिन्छ। जसमा स्थानीय रूपमा उत्पादन भएका चना, केराउ, बकुला, बोडी, सिमी, मुगी, गहुँ, मकै तथा भटमास आदि नाै प्रकारका गेडागुडी प्रयोग भएको हुन्छ।

क्वाटीमा शरीरको लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेटस्, खनिजले प्रेसर, कोलेस्ट्रोल नियन्त्रण गर्नुका साथै हड्डी, रुघाखोकी र पेट दुखाइ कम गर्न सक्ने क्षमता हुन्छ। यस दिन नेवार समुदायमा नाै छाक खाने, नाै पटक नगर घुम्ने र नाै थरी लुगा लगाएमा मृत्युपछि पनि यस्तै सुख पाइने जनविश्वास छ।

गाईजात्रामा माैलिक हास्यव्यंग्य नाचको प्रदर्शनी नेवार समुदायको बसोबास रहेकाे देशभरिका सबैजसो ठाउँमा गाईजात्रा मनाइन्छ। काठमाडौं उपत्यकाकै विभिन्न सहरमा यो पर्व मनाउँदाका कतिपय फरक विशेषता छन्। त्यसमध्ये एउटा भक्तपुरको घिन्ताङ्‌घिसी नाच हो जुन अन्यत्रको गाईजात्रामा देखिँदैन।

उक्त नाच परम्परागत र आधुनिक नृत्यभन्दा फरक रहेको र त्यसका लागि कुनै पूर्वाभ्यास चाहिँदैन। भक्तपुरमा प्रायःजसो व्यक्ति यो नाचमा सहभागी हुन्छन्। यो आफैँ हेरेर गरिने खालको नृत्य हो। गाईजात्राका क्रममा १८ औं शताब्दीदेखिका विभिन्न माैलिक नाचहरू देखाउने गरिएका र तीमध्ये कतिपय लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण गर्नुपर्छ। आठ रात नाै दिनसम्म मनाइने यो पर्व गुन्हीपुन्ही मा विभिन्न डबली तथा चोकहरूमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रस्तुति दिने परम्परा भए पनि बिस्तारै त्यो लोप हुन थालेपछि भक्तपुर नगरपालिकाले हरेक वर्ष परम्परागत, आधुनिक तथा ख्याल नाटकको प्रतियोगितात्मक रूपमा संरक्षण गर्दै आएको छ।

भक्तपुर नगरपालिकाले सापारु गाईजात्राको अवसरमा सापारु प्रतिपदादेखि कृष्णाष्टमीसम्म परम्परागत रूपमा लोपोन्मुख नाचहरू जस्तैः भैल प्याखं, ख्या, लाखे, कवांचा, म्हेखा, जङ्गली, हनुमान, ङा, धुँ, सलां, हाँय्, पहलमान, दैत्य, नागाचा, कलांली, मुथु, लुसि, झ्याँ झ्याँ, भाै मैँचा, फाकंदली, किजापुजा, कपाँय् फेनेगु, म्ये, देवी, भालु, माक, गाईचा, हुला, लाहुरे, झ्याउरे, साँय् सामिचा, ध्याचु, गरुड, सिं तथा शेर प्याखं जस्ता सांस्कृतिक विधाहरूमा नयाँ पुस्ताको आकर्षण हुँदा सांस्कृतिक हस्तान्तरणसँगै टोलटोलमा अनुशासित रूपमा प्रतियोगितात्मक मूल्यांकन र पुरस्कार सहितको व्यवस्थाले संरक्षण हुने क्रममा छ।

पछिल्लो केही वर्षदेखि भक्तपुर नगरपालिकाले सापारुको दिन विभिन्न जिल्लाबाट ल्याइने घिन्ताङघिसी, माक प्याखं तथा लाखे प्याखं जस्ता सांस्कृतिक विधालाई समेत मायाको चिनो प्रदान गरी सांस्कृतिक विधा संरक्षणमा टेवा पुर्‍याउँदै आएको छ।

गाईजात्रामा पछिल्लो समय अभिव्यक्त गरिने नाच र व्यङ्ग्यात्मक प्रस्तुतिमा राजनीतिक र सामाजिक विसङ्गतिहरूलाई लक्षित गरिएको पाइन्छ तर त्यसमा अश्लील शब्द र अभिनय वञ्चित गरी अनुशासित रूपमा समयसापेक्ष प्रदर्शनलाई प्राथमिकता दिएको पाइन्छ।

देश र समाजमा व्याप्त कुरीति,भ्रष्टाचार, अपहरण, अपराध, अन्याय अत्याचार जस्ता अस्तव्यस्त व्यवस्था र त्यसले फैलाएको समस्यालाई व्यङ्ग्यात्मक रूपमा जनतासामु प्रस्तुत गर्न गाईजात्रा एक माध्यम बन्न पुगेको छ। जसमा नयाँ पुस्ताको आकर्षण बढ्दो क्रममा छ। गाईजात्रामा प्रस्तुत गरिने ख्याल नाटक व्यङ्ग्यात्मक शैलीको माध्यमबाट जनताको छोराछोरी साहित्यकार, कलाकार तथा लेखकको रूपमा उभिएका छन्। जसले देश र समाजको उत्थान तथा विकासका मुद्दा उठाएका हुन्छन्।

प्रकाशित: २४ श्रावण २०८२ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App