३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

गहवामाईप्रति लोकश्रद्धा

आस्था

वीरगन्ज महानगरपालिकाको घण्टाघरबाट पाँच सय मिटर दक्षिण मोडिएपछि भव्य मन्दिर पुगिन्छ। यो मन्दिर हो, हिन्दु धर्मावलम्बीहरूको श्रद्धाको केन्द्र– गहवामाई मन्दिर।

यस मन्दिरको क्षेत्रफल करिब ७२२५ वर्गफिट छ। मन्दिरका तीनवटा ढोका छन्। मूल ढोका पश्चिमपट्टि छ। मन्दिर खुल्ने समय ग्रीष्म ऋतुमा बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म र शरद् ऋतुमा बिहान ५ बजेदेखि १२ बजेसम्म तथा साँझ ४ बजेदेखि राति ८ः३० बजेसम्म हुन्छ। मन्दिर वर्षभरि खुला रहन्छ। मन्दिरमा अनेकौं देवीदेवताहरूका मूर्ति छन्। तर दुर्गा भवानीको मूर्ति मन्दिरको प्रमुख आकर्षण हो। यो वीरगन्जको सबैभन्दा प्रमुख र मानिसहरूको निकै चहलपहल हुने क्षेत्रमा अवस्थित छ।

हाल गहवामाईको मन्दिर रहेको ठाउँमा पहिले एउटा ठुलो अजङको पिपलको रुख थियो। त्यस पिपलको रुखमुनि एउटा सानो मन्दिर बनाई गहवामाईको स्थापना गरिएको थियो। कालान्तरमा उक्त पिपलको रुख काटी सानो मन्दिरको ठाउँमा भव्य मन्दिर निर्माण गरियो। मन्दिर सञ्चालनका लागि समिति गठन गरी यस मन्दिरको सौन्दर्यीकरणलगायतका कार्य सम्पादन हुँदै आएका छन्।

गहवामाईको मन्दिरलाई यस भेगमा माईस्थान मन्दिरको नामले पनि चिनिन्छ। श्रद्धा र भक्तिको केन्द्र गहवा माईस्थान मन्दिर महानगरको ठिक केन्द्रमा अवस्थित छ। यस मन्दिरको मौलिक नाम गहवामाई हो। माईस्थान भोजपुरी भाषाका दुई शब्द– माई र स्थान मिलेर बनेको हो, जसको अर्थ नेपाली भाषामा ‘देवीस्थान’ हुन्छ। भोजपुरी भाषामा ‘माई’ भन्नाले देवी बुझिन्छ।

वीरगन्जको मुटुमा रहेको गहवामाई यस भेगका श्रद्धालुका लागि मात्र नभई आसपासका जिल्लालगायत भारतीयहरूको पनि आस्थाको केन्द्र मानिन्छ। यहाँ विशेषतः सन्तान प्राप्तिको भाकल र परिवारको सुख–समृद्धिका लागि भक्तजन आउने गरेको स्थानीय पत्रकार विमला गुप्ता बताउँछिन्।

माता देवी दुर्गाको पूजा–आराधनाका लागि माईस्थान लोकप्रिय छ। मन्दिरको आधुनिक भवन करिब चार करोड रुपैयाँ लागतमा सम्पूर्ण वीरगन्जवासीको सहयोगमा बनाइएको स्थानीयहरू बताउँछन्।

मार्बलले बनाइएको मन्दिर दुई तलाको छ। गर्भगृहमा पुरानो गहवा माईको मूर्ति र सातवटा माताको पिण्ड राखिएको छ। माथिल्लो तल्लामा चाँदीले बनेका नागसहितका सातवटा माताका पिण्ड छन्। वीरगन्जमा देशका विभिन्न क्षेत्रबाट विभिन्न प्रयोजनले आउनेहरू माईस्थान पुगेर पूजाआजा गर्छन्। मन्दिरको अर्को आकर्षण यसको कलात्मक पक्ष पनि हो।

माईस्थान मन्दिर धार्मिक एवं सांस्कृतिक रूपमा अत्यन्त महŒवपूर्ण र गौरवयोग्य छ। मन्दिरको बनावट सुन्दर र कलात्मक छ। दुर्गा मन्दिरको बाहिरी द्वारमा अनेक प्रकारका प्रतिमाहरू बनाइएका छन्। मन्दिरमा हिन्दु देवीदेवतासँगै बुद्धको सानो स्तूप पनि स्थापित छ, जसले यहाँको सांस्कृतिक संगमको अनुपम सन्देश दिन्छ।

गहवामाईको स्थापना कसरी भयो भन्ने कथा निकै रोचक छ। लगभग एक सय चालिस वर्ष पहिले भिस्वा गाउँका जिउत महतो कहारको सपनामा भगवती आइन्। गहवामाईले कहारलाई बाँसको एउटा छडी फ्याँक्न आदेश गरिन्। उनले लट्ठी झरेको ठाउँमा मन्दिर स्थापना गरी पूजा–आराधना गर्न आदेश दिइन्। कहारले फ्याँकेको लट्ठी अहिलेको मन्दिर रहेको ठाउँमा खस्यो। जसका कारण सोही ठाउँमा गहवामाईको स्थापना भयो। गहवामाईलाई ग्रामदेवी पनि भन्ने गरिन्छ।

मधेसका हरेक गाउँको रक्षा गर्नका लागि ग्रामदेवी र ब्रह्म बाबाको स्थापना गर्ने परम्परा रहँदै आएको छ। अहिले पनि गाउँघरमा मन्दिर र ब्रह्मस्थान देख्न सकिन्छ। गहवामाई मन्दिर स्थापनापूर्व सात स्थानको माटोबाट पिण्ड बनाई कहारले पूजा–आराधना सुरु गरेका थिए।

मन्दिर अवस्थित रहेको स्थाननजिकै रहेको गहवा गाउँको द्वारमा माताको स्थापना भएको कारण यस मन्दिरलाई ‘द्वारदेवी’ पनि भन्न थालियो। पछि ‘द्वारदेवी’ मन्दिरको नाम परिवर्तित भएर गहवाको प्रवेशद्वारमा रहेका कारण ‘गहवामाई’ नाम रहन गएको यस भेगका ज्येष्ठ नागरिकहरू बताउँछन्।

सुरुमा पिण्ड आकारमा सानो बनाइएको मन्दिरलाई गहवाका चुल्हाई चौधरीले मन्दिरको स्वरूप दिएका थिए। उनी व्यापारी थिए। भारतबाट सामान ल्याउने क्रममा राजाका सिपाहीहरूले उनलाई पक्राउ गरे र काठमाडौं जेलमा पठाउने तयारी गरे। जब उनी अमलेखगञ्जको आधा बाटो पुगे, त्यसपछि उनले ग्रामदेवी गहवामाईको प्रार्थना गरे। भगवतीको कृपाले उनी जेलमुक्त भएपछि पहिलो पटक मन्दिरमा इँटाको पर्खाल बनाएका थिए। राणा शासकहरूले पनि मन्दिरलाई व्यवस्थित बनाउन सहयोग गरेका थिए।

एउटा भनाइ छ– श्री ३ चन्द्रशमशेर राणाको शासनकालमा मन्दिर पूर्ण रूपमा व्यवस्थित अवस्थामा पुगेको थियो। त्यही बेला प्याकुरेल परिवारका पुजारी पनि नियुक्त गरिएको थियो। जसको पछिल्लो पुस्ता राधेश्याम प्याकुरेल पुजारीका रूपमा कार्यरत छन्। अच्छेलाल कहार विशेष पूजाका बेला गुरु पुजारीका रूपमा सहभागी हुन्छन्।

वास्तविकतालाई प्रमाणित गर्ने कुनै अभिलेख वा ठोस लिखत उपलब्ध छैन। तर गहवामाईलाई स्थापना गराउने कहारका चौथो पुस्ताका सन्ततिहरू मन्दिरको प्रमाणका रूपमा सेवा गरिरहेका छन्।

हिन्दुहरूको महान् पर्व विजयादशमीलाई माईस्थानको मेलाले थप आकर्षक र आनन्ददायक बनाउँछ। वीरगन्जलाई गहवामाई मेलाका लागि घटस्थापनादेखि नै सजाइए पनि यहाँ विशेष मेला सप्तमी र अष्टमीका दिन लाग्ने गर्छ। यस दिन वीरगन्जको बजारमा थामिनसक्नु भिड हुन्छ।

माईस्थान मन्दिरमा बलिप्रथाको छुट्टै नियम छ। असोजको अष्टमीको बलिका लागि पूर्ण रूपमा कालो रङको भेडाको पूजा गरी बलि चढाइन्छ। सो भेडा दसैंमा मन्दिरको तर्फबाट पशुबलीका रूपमा चढाइने गरिन्छ, त्यसपछि सर्वसाधारणद्वारा बलि चढाइन्छ। सर्वसाधारणबाट पहिलो बलि हरिनारायण गुप्ता कानुको परिवारबाट चढाएर बलि सुरु हुने परम्परा रहेको स्थानीय रमितामाया गुप्ता बताउँछिन्।

बलिमा अनेक प्रकारका जीव जस्तै बोका, परेवा, हाँस आदि चढाइन्छ। बलि दिएपछि जीवजन्तुका टाउका खाल्टो खनेर पुर्ने परम्परा छ। अन्तिममा भाले सुँगुरको बलि दिएर बलिप्रथा समाप्त हुन्छ।

प्रकाशित: ३० फाल्गुन २०८२ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App