१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

साधुसन्तको आगमनले भरिभराउ पशुपति क्षेत्र

तस्बिर : रूबी/नागरिक

हिन्दुहरूको महान् पर्व महाशिवरात्रि आइतबार (फागुन ३ गते) देशभर उत्साहसाथ मनाउने तयारी भएको छ । विशेष गरी शिवालयका मन्दिरहरूमा शुक्रबार साधुसन्तको भिडभाड बढी देखिएको छ । शिवरात्रिको दिन बढी भिड हुने र दर्शन गर्न मुस्किल पर्ने भन्दै भक्तजन पनि दर्शनका लागि शुक्रबारबाटै पशुपति क्षेत्रमा आउन थालेका हुन् । शुक्रबार नै साधुसन्तले पशुपति परिसर भरिएको छ ।

मन्दिरमा शृंगारका लागि फूलमाला सजाउन फ्रेमहरू बनाइएका छन् भने भित्तामा रङरोगन तथा बिजुली बत्तीको सजावटको काम दु्रत गतिमा भइरहेको देखियो । शिवारत्रि पर्वका अवसरमा शुक्रबार एकादशीको दिन पारेर बिहान करिब पाँच सयको हाराहारीमा नागाबाबा तथा साधुहरूले मन्दिरभित्र हरहर महादेवको उच्चारण गर्दै प्रवेश गरेका थिए भने एक हजार हाराहारीमा साधुसन्त मन्दिर वरिपरि बसेको कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले बताए । मन्दिरभित्र प्रवेश गरेका नागाबाबाहरू धुनी बालेर पशुपतिनाथको भजनकीर्तन गरिरहेका थिए भने कतिपय नागाबाबा मयूरको प्वाँखले मन्दिरभित्र दर्शनका लागि आउने भक्तजनलाई शिरमा आशिष दिइरहेका थिए ।

कपितय भक्तजन नागाबाबा देखेर त्रासित पनि भइरहेका थिए भने कतिपय भक्तजन नागाबाबाहरूसँग आशीर्वाद लिइरहेका थिए र दानदक्षिणा पनि दिइरहेका थिए । ‘मैले नागाबाबासँग एउटा पत्थर आशिषस्वरूप लिए र दक्षिणा एक हजार दिएँ,’ बानेश्वरबाट मन्दिर दर्शन गर्न आएका अमर शर्माले नागरिकसँग भने, ‘मैले गत वर्ष पनि नागाबाबासँग आशिष लिएको थिए । राम्रो भएको थियो । मलाई नागाबाबाहरूमाथि ठुलो विश्वास छ ।’

शिवरात्रि पर्व हिन्दु धर्मको एक महŒवपूर्ण पर्व हो । यो दिन भगवान् शिवप्रति श्रद्धा र भक्ति प्रकट गर्न भक्तजन उपवास पनि बस्छन् । भगवान् शिव र पार्वतीको विवाहको दिन पनि शिवरात्रि भएकाले धेरैजसो भक्तजन शिवस्वरूप पति पाउन व्रत बस्छन् । ‘शुक्रबार मात्र मन्दिरबाहिर र भित्र नागाबाबा र अन्य साधुसन्त गरी १५ सयको उपस्थित रहेको छ,’ कोषाध्यक्ष सापकोटाले नागरिकसँग भने, ‘शिवरात्रिसम्म चार हजारको हाराहारीमा साधुसन्त आउने सूचना छ । नागाबाबा र साधुहरूका लागि धुनी व्यवस्थापन गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले गरेको छ ।’ उनले थपे, ‘विशरात्रिमा सहज दर्शनका लागि पूर्ण सचेतना अपनाइएको छ । भक्तजनलाई छिटो दर्शन गराउन त्यस दिन बिहान २ बजेखि नै मन्दिर दर्शनको व्यवस्था गरिएको छ भने पाँच वटा आकाशे पुल र चार वटा ¥यापको व्यवस्था गरिएको छ ।’

करिब १० लाख भक्तजन पशुपतिनाथ दर्शन र मेला भर्न आउने शुक्रबारसम्मको अनुमान रहेको कोषका सदस्य सचिव प्रकाशमणि शर्माले बताए । मन्दिर परिसरमा आएका साधुसन्तले यस वर्ष कोषले खानपिन र आवासको राम्रो व्यवस्था गरेको भन्दै खुसी भएका छन् । मन्दिरवरिपरि त शुक्रबारदेखि नै साधुसन्तको चहलपहल बढेको छ । वनकाली क्षेत्रमा एक सय २० वटा अवास तथा भोजनका स्टल तयारी भइरहेका छन् । शुक्रबारसम्म केही अवास तथा भोजनका स्टलमा साधुसन्त तथा भक्तजनका लागि भोजनको व्यवस्था गरिएको थियो । सरसफाइको उचित व्यवस्थापन नहुँदा वातावरण निकै फोहोर भएको दृश्य देखियो । खाना खाएर फोहोर मिल्काउने डस्टबिनको व्यवस्थापन नभएकाले जथाभाबी फोहोर फ्याँएिको थियो । यसले वातावरण दूषित बनेको थियो । गाईहरूले समेत प्रवेश गरी फोहोर खाइरहेको दृश्यले सबैलाई चिन्तित बनाएको थियो ।

यसैगरी स्वस्थ्य शिविरहरूको पनि व्यवस्था गरिएको छ । ‘सकेसम्म भक्तजले साथमा साना नानीहरू नल्याउँदा ठिक हुन्छ,’ सदस्य सचिव शर्माले भने, ‘मन्दिरमा आउने कसैले पनि गरगहना र बहुमूल्य समान नल्याउनुहोला । भोजन तथा अवासको उचित व्यवस्थापनमा कोष खटिएको छ ।’

प्रकाशित: १ फाल्गुन २०८२ १९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App