१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

भक्तपुरको गाईजात्रामा ‘ओलीको पानीजहाज’

दिवङ्गत आत्माको सम्झना र सामाजिक-राजनीतिक व्यङ्ग्यको अनुपम पर्व गाईजात्रा भक्तपुरमा आज धूमधामका साथ मनाइएको छ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने परम्परागत सांस्कृतिक झाँकीहरूमा यस वर्ष पनि समसामयिक राजनीति र अन्तर्राष्ट्रिय घटनाक्रममाथि तिखो प्रहार गरिएको छ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म मनाइने यो पर्वमा टोलटोलबाट निकालिएका झाँकीमा राजनीतिक व्यङ्ग्य प्रमुख आकर्षण बनेको थियो।

जात्रामा एक व्यक्तिले प्रधानमन्त्री ओलीको तस्बिर अंकित मुकुण्डो लगाएर काँधमा पानीजहाजको प्रतीक बोकेको झाँकी चर्चामा रह्यो। प्रस्तुतिमार्फत सरकारको पानीजहाज सञ्चालन गर्ने घोषणालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको थियो।

त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पतञ्जलि प्रकरणलाई जोडेर पनि व्यङ्ग्यात्मक प्रस्तुति देखाइएको थियो। अन्य नेताहरूका गतिविधिदेखि विश्वमा जारी युद्धका विषयलाई समेत प्रहसनको विषय बनाएर कलाकारहरूले समाजलाई सचेत गराउने प्रयास गरेका थिए।

गाईजात्रा मूलतः एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा मनाइने पर्व हो। आजका दिन मृतकका परिवारले गाई वा बालकलाई गाईको रूपमा सिँगारेर नगर परिक्रमा गराउँछन्।

यसो गर्नाले मृतकको आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छ भन्ने धार्मिक विश्वास छ। जात्रामा सहभागीहरूलाई श्रद्धालुले दूध, फलफूल, रोटी र अन्य सामग्री दान गर्ने परम्परा रहिआएको छ।

यसरी, भक्तपुरको गाईजात्राले शोकलाई शक्ति र व्यङ्ग्यमार्फत समाज सुधारको सन्देश दिने आफ्नो मौलिक परम्परालाई यस वर्ष पनि जीवन्त राखेको छ।

हेराैं तस्बिरहरु, सबै तस्बिर: विजय राई/नागरिक

प्रकाशित: २५ श्रावण २०८२ १५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App