१ चैत्र २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

गोलढुंगामा म्हेन्दोमाया र ऐतिहासिक घोडा नाच (तस्बिरहरू)

तस्बिर: दिपेश दर्शनधारी/नागरिक<br>

काठमाडौं उपत्यकामा बसोबास गर्ने तामाङ समुदायले शनिबार गोलढुंगामा भव्य रूपमा म्हेन्दोमाया पर्व मनाएका छन्।

सोनाम ल्होसारको अवसर पारेर गोलढुंगाको खाल्टोमा आयोजित कार्यक्रममा ऐतिहासिक एवं लोपोन्मुख घोडा नाच विशेष आकर्षणको केन्द्र बन्यो ।

आधुनिकतासँगै तामाङ समुदायको मौलिक संस्कृति हराउँदै गएको भन्दै यसको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवमा घोडा नाच देखाइएको आयोजकले जनाएको छ।

परापूर्वकालदेखि छेच्यु अन्तर्गत समूहमा देखाइने यो नाच लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय सरकारको सहयोगमा यसको संरक्षणमा जोड दिइएको हो।

घोडा नाचमा कलाकारहरूले शरीरको दुवैतर्फ काठ बाँधेर घोडाको आकृति बनाई नृत्य प्रस्तुत गरेका थिए। नर्तकीहरूले सैनिकको भेषमा दायाँ हातमा तरबार र बायाँ हातमा ढाल लिएर, अनुहारमा रङ पोतेर युद्ध कौशल प्रदर्शन गरेका थिए।

अन्य सहायक सैनिकका हातमा भाला, धनुषलगायतका सामग्री थिए। झ्याम्टा र ढ्याङ्ग्रोको तालमा लामा गुरुहरूको नेतृत्वमा दिइएको सामूहिक प्रस्तुतिले दर्शकलाई रोमाञ्चित बनाएको थियो।

घोडा नाचमा गोर्खाली राजा र तिब्बती राजाबीचको युद्ध र अन्त्यमा मित्रताको कथा समेटिएको छ। शालिन रूपमा सुरु हुने प्रस्तुति क्रमशः युद्धमा परिणत हुन्छ।

गोर्खाली राजाहरू डसङमा प्रवेश गर्नासाथ तिब्बती राजासँग युद्ध हुन्छ, तर तेस्रो पटकको युद्धमा कसैले पनि नहारेको निष्कर्ष निस्कन्छ। अन्ततः गोर्खालीको चामल र तिब्बतीको नुन साटासाट गरी मित्रवत् व्यवहारका साथ संयुक्त विजय उत्सव मनाएर यो युद्ध नृत्य समापन गरिन्छ।

तामाङ समुदायको उत्पत्ति, सामाजिक, आर्थिक र धार्मिक मान्यतासँग जोडिएको यो नाच प्रदर्शन गर्नाले युद्ध वा अन्य कारणले दिवंगत भएकाहरूको आत्माले शान्ति पाउने र कुलदेवता खुसी भई समाजमा सुख-शान्ति छाउने धार्मिक विश्वास रहेको छ।

हेराैं केही तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १० माघ २०८२ १८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App