प्राचीन कालमा हिन्दु समाजमा विवाह भोगविलासको साधन नभई धार्मिक संस्कारको रूपमा लिइन्थ्यो । हिन्दुहरूले पालना एवं अनुशरण गर्ने सोह्र संस्कारमध्ये विवाह पनि एक संस्कार हो । संस्कारले अन्तस्करण शुद्ध बनाउँछ, संस्कारजनित विवाहबाट सुखद दाम्पत्य जीवन व्यतीत गर्न सकिने मान्यता छ।
संस्कारभित्र पर्ने विवाहलाई ब्रह्म विवाह भनिन्छ । हिन्दु धर्ममा आठ प्रकारका विवाह संस्कार छन्– ब्रह्म विवाह, दैव विवाह, आर्ष विवाह, प्राजापत्य विवाह, गान्धर्व विवाह, असुर विवाह, राक्षस विवाह, पैशाच विवाह।
भनिन्छ, पुरातनकालमा विभिन्न जातिको प्रचलित वैवाहिक चलन हेरेर मनु, पराशर आदि स्मृतिकारहरूले यी विवाहलाई मान्यता दिएका थिए । मनुले सुरुका चार विवाह ब्राह्मण वर्गका लागि, राक्षसी र गन्धर्व विवाह क्षत्रियका लागि र आसुरी विवाह वैश्य वर्गका लागि भनेर छुट्याएका थिए । पैशाच विवाह आर्यहरूको कुनै वर्गका लागि उचित मानिँदैन थियो । वर्तमान समयमा विवाहका प्रचलन पनि समयानुकूल परिमार्जन भएका छन् । आफ्ना पुर्खाले विवाहको जुन परम्परा बसाले, ठाउँ, अवस्था, जाति एवं प्रकृतिअनुसार सबैले त्यसलाई टिप्दै आफ्नो जीवनको अंग बनाएको पाइन्छ।
विवाहपूर्वको संस्कार
गोत्र र मूल जाँचः विवाह अघि, दुलहा र दुलहीको गोत्र र मूल (मूलग्राम) मिलाइन्छ । दुलहा र दुलहीको गोत्र एउटै हुनुभएन । परम्पराअनुसार पितृको सात र मातृको पाँच पिँढीसम्म रगतको सम्बन्ध अर्थात् कुनै प्रकारको सम्बन्ध देखिनुभएन भनेर जाँच गरिन्छ । यो काममा पञ्जीकारले सहजीकरण गरिदिन्छ । उनीसँग आफ्नो क्षेत्रका सबैको दस्ताबेज सुरक्षित हुन्छ।
गोत्र परीक्षणपछि पञ्जीकारले दुवै पक्षको (दुलहा र दुलही) सहमतिमा विवाहको मिति र नियमहरू तय गरिदिन्छ । मूलग्राम, मूल, गोत्र र उपनाम हेरेर पञ्जीकारले सिद्धान्त सुनिश्चित गर्छन् । सिद्धान्तमा दुवै पक्ष (दुलहा र दुलही) का पञ्जीकारको हस्ताक्षरण अनिवार्य मानिन्छ । यदि यसमा कुनै दोष देखिए यसको निदानका लागि विवाहपूर्व वृक्ष विवाह गरी दोष मेटाउने प्रचलन पनि छ । यो सिद्धान्त तारको पातमा रातो मसीले लेख्ने परम्परा छ । यसमा सम्पूर्ण परिचय लेखेर दुलहा र दुलहीको विवाह तय गरिएको उल्लेख गरिन्छ । मैथिली ब्राह्मण समुदायको विवाह संस्कारको महत्त्वपूर्ण पक्ष सिद्धान्त लेखन नै मानिन्छ । यो यस समुदायको विवाहको वैज्ञानिक र पारम्परिक आधारस्तम्भ पनि हो । यसले दुवै परिवारबिचको सम्बन्धलाई पुष्टि गर्ने आधार पनि हो । सिद्धान्त लेखन तथा हस्ताक्षर भइसकेपछि दुलही पक्षले त्यो सिद्धान्तलाई आफ्नो कुलदेवताको घरमा राखेर पूजा गर्छन् । विवाहको राति आज्ञा डालामा राखेर दुलहा पक्षसमक्ष राखी दुलहा पक्षबाट दुलहीका लागि ल्याइएको सहागको सामान राखेर फेरि कुल देवताको घरमा मातृका पूजाका लागि राखिन्छ।
हुन त विवाहको प्रचलन प्राणीहरूमध्ये मानिसमा मात्रै छ । यो प्राचीनकालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसंगमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन्।
विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ।
मानव जीवनलाई आदर्श रूपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको मानिन्छ । हिन्दु समाजमा आफ्नो सम्पत्ति अरूलाई दान दिँदा संकल्प पढेर विधिपूर्वक दिने चलन भएजस्तै कन्याका पिताले आफ्नी छोरी अरूलाई सुम्पँदा धार्मिक विधि अपनाउने गरिएको पाइन्छ।
विवाहको परम्परा
हिन्दु समाजमा विवाहको परम्परा बसाल्ने श्रेय उद्दालकपुत्र श्वेतकेतुलाई दिइन्छ । उनले थिति बसाल्नुअघि विवाहको चलन थिएन । महिला र पुरुष केही समयको सम्झौता गरेर बस्थे । सम्झौतामा यतिवटा सन्तान जन्मिउन्जेल सँगै बस्ने, त्यसपछि स्वतन्त्र हुने, अन्य महिला वा पुरुषसँग शारीरिक सम्बन्ध राख्ने वा नराख्नेजस्ता विविध विषयमा मौखिक समझदारी हुन्थ्यो।
रोचक कथा
विवाहको चलनबारे हाम्रा पुराणमा रोचक कथा पाइन्छ । ऋषि उद्दालककी पत्नीलाई कुनै बलियो व्यक्तिले जबर्जस्ती लैजान बल गर्यो । यो देखेर उद्दालकले कुनै प्रतिक्रिया जनाएनन् । श्वेतकेतुलाई भने आफ्नी आमामाथि बलजफ्ती भएको मन परेन ।
उनले त्यसको प्रतिकार गरे । उद्दालकले छोरालाई भने– ‘नरोक, यो हाम्रो पहिलेदेखिकै सामाजिक परम्परा हो ।’ यस घटनाले श्वेतकेतुलाई यति असर गर्यो कि पछि उनले जबरजस्ती अर्कालाई उठाउने व्यवस्थाको अन्त्य गरे । उनले एक पत्नी–एक पतिको व्यवस्था सुदृढ बनाउने प्रयत्न गरेको बताइन्छ।
अर्को एउटा प्रसंगअनुसार दीर्घतमा नाम गरेका ऋषि थिए । उनी जन्मान्ध थिए । उनको निरंकुश यौनाचारको बानी सहन नसकेर पत्नीले उनलाई त्यागिन् । यो देखेर दीर्घतमाले महिलाले श्रीमानलाई छोड्न नहुने नियम बनाए । यी सबै घटनामा पतिपत्नीको अनिवार्यता देखिए पनि विवाह र धार्मिक क्रिया जोडिएका थिएनन्।
रामायणको रोचक प्रसंग
पत्नीको महत्त्व कति हुन्छ भन्ने झल्काउन रामायणमा एउटा रोचक प्रसंग छ । रामले जीवनमा सीताबाहेक कसैसँग विवाह गरेनन् । सीतालाई जंगलमा छाडेपछि भएको अश्वमेध यज्ञ पत्नीको अभावमा पूरा हुन नसक्ने भएका कारण रामले सीताको प्रतिमा बनाएर यज्ञ पूरा गरे।
शिक्षा ग्रहण गर्न गुरुकुल जाने र २५ वर्षको उमेरसम्म त्यहाँ बसेर ब्रह्मचर्य पालन गरी विद्या लिने काम सम्पन्न भइसकेपछि गृहस्थाश्रममा प्रवेश गर्नका निमित्त धार्मिक विधिअनुसार विवाह गर्ने चलन चल्यो । विवाहलाई एउटा अनिवार्य संस्कार बनाइयो । दुई आत्माको पवित्र बन्धनका रूपमा लिन थालियो । अविवाहित मानिस अधुरो हुने मानिन थालियो।
पछिपछि विविध व्यापार र बन्दोबस्तीबाट अकूत सम्पत्ति जम्मा हुन थालेपछि एउटा पुरुषले धेरै पत्नी राख्ने चलन विकसित हुन थाल्यो । सम्पत्तिकै अवस्था हेरेर बहुपत्नी तथा बहुपतिजस्ता चलनसमेत सुरु हुन थाल्यो । समयको आवश्यकताअनुसार एउटी पत्नीसँग धार्मिक विवाह गर्ने, सम्पत्तिको हकदार धर्मपत्नीका सन्तानको मात्र हुने आदिजस्ता अनेकौं नियम थपिन थाल्यो ।
विवाहको विधि
जन्ती आउने दिन दुलही नुहाएर नव वस्त्र धारण गर्छिन् । जुन वस्त्र पछि धोवीन (धोवी महिला)लाई दान गर्नुपर्छ । दुलही कपाल नबाधी खुलेर राख्छिन् । त्यसपछि कोहबर घरमा दुलही आफ्नो दहिना हाथबाट पिठार (चामलको पिठो) र सिन्दूरले पाँच पटक थप्पा लगाउँछिन् । र, पाँच जना सहजकर्ता महिला जसलाई अहिवाती भन्छिन् । उनीहरू पनि थप्पा लगाउँछिन् । त्यसपछि त्यो कोहबर घर (बेहुलाबेहुलीको कोठा) मा कोहबर लेख्ने र सजाउने काम सुरु हुन्छ।
दिउँसो पण्डितले दुलही र कन्यादान गर्नेसँग भगवतीको पूजा घरमा मातृका पूजा गराउँछन् । साँझ धोबिन महिला दुलहीको कपाल फिँजाइदिन्छन् र मुखमा दही च्युरा खुवाइदिइसकेपछि दुलहीले लगाएको सुहागको कपडा खोलेर धोविनलाई दान गरिदिन्छन्।
जन्ती आइपुग्न लागेको खबर आएपछि दुलहीले आँप र महुआको पूजा गरी पहेलो डोरी तीन पटक घुमाएर बाँधिन्छ।
जन्ती आइसकेपछि घरको श्रेष्ठ व्यक्ति मिथिलाको मौलिक बाँधसको सामग्री (चँगेरा) मा धुप अगरवत्तीसहित स्वागत गर्छन् । सोही चँगेरामा बेहुला पक्षले बेहुलीसहितका लागि ल्याएको कपडा दिँदै विवाह प्रारम्भ गर्न सहमति दिन्छन् । त्यसपछि बेहुलीका सखीहरू बेहुलालाई घर भित्र लग्छन् । मिठाई खुवाएर स्वागत गर्छन्।
त्यसपछि बेहुलाको परीक्षण सुरु हुन्छ । परीक्षणको बेला विधकरी (विवाहको विधि गर्ने महिला) ले बेहुलासँग सवालजवाफ गर्ने चलन छ । त्यसपछि बेहुलाको नाक समातेर कोहबर घर लगिन्छ । त्यहाँ दुलही र उनकी बहिनीलाई रातो साडीले छोपेर बसाइदिएको हुन्छ । कोहबर घरको चारै कुनामा बेहुलाले पात टाल्नुपर्ने विधि चल्छ । विधि चलिरहँदा विधकरीहरू सवालजवाफ (कवाली) शैलीको मौलिक लोक गीत गाइरहेकी हुन्छिन्।
त्यसपछि दुलहालाई दुलही चिनाउने विधि सुरु हुन्छ । रातो सारीले छोपेको दुई जना मध्ये बेहुली यकिन गर्नुपर्छ । चिनिसकेपछि सुन लिएर बेहुला दायाँ हातले बेहुलीको माँग (सिउँदो) मा तलदेखि माथि गर्छन् । यो विधिलाई शीत नौतनाई (शीतलाई निम्तो दिनु) भनिन्छ । त्यसपछि मात्र बेहुलालाई बेहुलीको अनुहार देखाइन्छ।
यति भएपछि बेहुलीलाई विवाहको विधिका लागि वेदी (विवाह स्थल) मा लगिन्छ । जहाँ पण्डित मन्त्र पढी विवाहको वस्त्र दिइन्छ । यो वस्त्र बेहुलीको घरबाट दिइन्छ । यही वस्त्र बेहुलीलाई पहिराइन्छ।
यसपछि ओठंगर विधि हुन्छ । अनि सुरु हुन्छ कन्यादान एवं विवाह यज्ञ । विवाहको वेदीनजिक चारकुने अरिपन (मौलिक चित्रकला) बनाइएको हुन्छ । बाँसको टुप्पोमा केराको कोसा राखिन्छ।
वेदीमा विवाह यज्ञका सामान राखिन्छ । सबै तयारी पूरा भएपछि बेहुलीलाई कोहबर घरबाट वेदीमा ल्याइन्छ । जहाँ बेहुला बेहुलीसँगै बस्छन् र बेहुलीको पिताले कन्यादान विधि पूरा गर्छन् । पण्डितले यो विधि पूरा गराउँछन्।
यसपछि लाजाहवन विधि हुन्छ । जसमा धानको लावा पण्डितले मन्त्र उच्चारण गर्दै बेहुला बेहुली मिलेर कोनियाको सहाराले खसाल्छन्।
यसपछि सिन्दूर दान विधि हुन्छ । जसमा बेहुलीको आमाले बेहुलीको मुख आफ्नो आँचलले छोपेर अगाडि बस्छिन् । बेहुला बेहुलीको पछाडि उभिन्छन् । र सिउँदोमा सिन्दूर (भुसना सिन्दुर) पाँच पटक लगाउँछन् । त्यसपछि पाँच जना अहिवाती (महिलाहरू) पनि बेहुलीलाई सिन्दूर लगाउँछन् । अन्तमा बेहुलीको आमाको आँचलमा झरेको सिन्दूर काठको तामा (सामग्री) मा राख्छिन्।
सिन्दूरदानपछि बेहुलाको पिता बेहुलीलाई तीन पटक अगाडिबाट चुनरीले छोप्छन् र बेहुला पछाडिबाट त्यो घुँघट उघार्छन् । र, बेहुलाको पिताले बेहुलीलाई आभूषण र द्रव्य दान गरी आशीर्वाद दिन्छन्।
दूर्वाक्षत र चुमौनलगायतका विधि चार दिनसम्म चल्छ । चौथो दिन चतुर्थी विधिमा सूर्योदयअगावै बेहुलालाई नुहाइदिन्छन् । नव वस्त्र धारण गर्छन् । यस दिन बेहुलीले बेहुलाको घरबाट आएको कपडा र गरगहना लगाउँछिन् । त्यसदिन राति बेहुलाको घरबाट आएको माछा खाने चलन छ । बेहुला बेहुली विवाहको चौथो दिन मात्र नुन खान पाउँछन् । र बेहुली त्यसपछि मात्र सिउँदोमा रातो सिन्दूर लगाउने परम्परा छ।
बेहुलीको सिउँदोमा रातो सिन्दूर भर्नुअघि बेहुला सम्पूर्ण रूपमा सफल सारथि सिद्ध भइसकेको हुन्छ । कारण चार वा सात दिनमा बेहुलालाई शारीरिक, मानसिक, बौद्धिक हरेक हिसाबले बेहुली पक्षबाट परीक्षण भइसकेको हुन्छ।
चौथो वा सातौ दिन द्विरागमन दिन हुन्छ । यस दिन बेहुला बेहुली आफ्नो घरका लागि बिदाइ हुन्छन् । बेहुला बेहुली सवार गाडी दुई पटक अघिपछि गर्नुपर्छ । बेहुलीले सो गाडीको पछाडिको चक्कामा पानी खसालेर माइतबाट बिदा हुन्छिन्।
प्रकाशित: २ जेष्ठ २०८३ ०६:४५ शनिबार





