मंगलबार बिहान होर्मुजको जलमार्गमा दुई व्यापारिक जहाजमाथि आक्रमण भएपछि पश्चिम एसियाको सुरक्षा अवस्था जटिल बनेको छ। उक्त आक्रमणमा परी एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
घटनाप्रति भारतले कडा प्रतिक्रिया जनाएको छ। भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित इरानी दूतावासका उपप्रमुखलाई बोलाएर कडा विरोध दर्ता गराएको छ। मन्त्रालयले आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुद्री मार्गमा यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्नेमा जोड दिएको छ।
दैनिक भास्कारका अनुसार होर्मुजमा जारी तनावका कारण ११ वटा जहाजमा सवार १४८ भारतीय नाविकहरू फारसी खाडीमा फसेका छन्। सरकारले उनीहरूको उद्धारका लागि सातवटा भारतीय झण्डाधारित र भारतका लागि सामान बोकेका चारवटा विदेशी जहाजहरू पहिचान गरेको छ। फेब्रुअरीदेखि हालसम्म यस क्षेत्रमा भएका विभिन्न दुर्घटनाहरूमा परेर ७ जना भारतीयको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन्।
यसैबिच, अमेरिकी सेनाले इरानमाथि सैन्य कारबाही सुरु गरेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानको बुशेहर, बन्दर अब्बास, महशहर र अबादान लगायतका शहरहरूमा पाँच घण्टासम्म बमबारी गरिएको छ। अमेरिकाले इरानको तटीय रक्षा प्रणाली, क्षेप्यास्त्र, ड्रोन साइट र नौसेना क्षमतालाई लक्षित गरेको जनाएको छ। अमेरिकी सेनाले ‘यी आक्रमणहरूले इरानी सेनामाथि भारी मूल्य चुकाउनेछन् र होर्मुजको जलमार्गमा निर्दोष नागरिक तथा व्यावसायिक ढुवानीमाथि आक्रमण गर्ने उनीहरूको क्षमतालाई कमजोर बनाउनेछन्’ भनेको छ।
यसको जवाफमा इरानले कुवेत, बहराइन, जोर्डन र होर्मुज क्षेत्रमा रहेका तेल सुपरट्यांकरहरूमा आक्रमण गरेको छ। संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना दुई राष्ट्रिय जहाजमा इरानी क्रूज मिसाइल प्रहार भएको जनाएको छ। युएईको रक्षा मन्त्रालयका अनुसार सो आक्रमणमा एक नाविकको मृत्यु र आठ जना घाइते भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी केही घण्टाभित्रै इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी पुनः लागू हुने घोषणा गरेका छन्। उनले होर्मुज जलमार्गको ‘संरक्षक’ बन्ने बताउँदै त्यहाँबाट गुज्रने जहाजहरूले कार्गोको २० प्रतिशत शुल्क तिर्नुपर्ने उल्लेख गरेका छन्। यता, इरानका विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पको भनाइको खण्डन गर्दै ‘२० प्रतिशत धेरै हो, हामी उचित शुल्क लिनेछौँ’ भन्दै व्यंग्य गरेका छन्।
यो द्वन्द्वले विश्वव्यापी अर्थतन्त्रमा गम्भीर असर पारेको छ। विश्वको कूल कच्चा तेल र प्राकृतिक ग्यासको पाँचौं भाग व्यापार हुने उक्त जलमार्गमा तनाव बढ्दा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७ डलरभन्दा माथि पुगेको छ। यसले विश्वभर मुद्रास्फीति बढ्ने चिन्ता थपिदिएको छ।
विशेषज्ञहरूका अनुसार पछिल्ला यी घटनाक्रमले युद्धविराम र शान्तिको प्रयासलाई ओझेलमा पारिदिएको छ। यदि कूटनीतिक समाधान चाँडै फेला नपरेमा यो द्वन्द्व व्यापक युद्धमा परिणत हुन सक्ने खतरा बढेको छ।
प्रकाशित: ३० असार २०८३ १८:४५ मंगलबार





