५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

महाशिवरात्री : तौलेश्वरनाथ महादेवमा भक्तजनको भीड

महाशिवरात्रीको अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेव सहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनहरुको घुईचो लागेको छ।

नेपालकै ठूलो शिवलिङ दाबी गरिएको मन्दिरमा बिहान ४ बजे देखि नै भक्तजनहरुको ठूलो भीड लागेको छ। छिमेकी जिल्ला रुपन्देही, अर्घाखाँची, भारत तथा जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनहरुले मन्दिरमा पूजापाठ गरेका छन्।

शनिवार रातिदेखि नै मन्दिरमा भक्तजनहरुको भीड लागेको छ। मन्दिरमा आएका साधु, सन्त, भक्तजनहरुको पूजापाठ र सहज दर्शनका लागि मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ताले बताए। मन्दिरको चार वटै द्वार खोलिएको छ। मन्दिरमा महिला र पुरुषका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ।

पुरुषलाई पूर्वी द्वार र महिलालाई पश्चिमी द्वारबाट मन्दिरमा प्रवेश गराइएको छ। मन्दिरदेखि मुख्य बाटो हुँदै बहादुरगञ्ज जाने चोकसम्म लामो लाइन लागेको छ। सहज ढंगबाट दर्शन तथा सुरक्षित पूजापाठका लागि मन्दिर परिसरमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। भगवान गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्किँदा उनका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गराएको किंवदन्ती छ।

मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ। १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रसमेत बनेको छ। भक्तजनहरुको सुरक्षालाई मध्यनजर गरी मन्दिर परिसरमा सिसी क्यामेराले समेत निगरानी गरिएको छ।

आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्थापन पनि गरिएको समितिले जनाएको छ।

यस्तै शिवराज नगरपालिका–९ शिवगढी स्थित शिव मन्दिरमा समेत भीड लागेको छ।

प्रकाशित: ३ फाल्गुन २०८२ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App