१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

भाका फेरिन्छ संस्कार फेरिन्न

संस्कार

तिज पर्व नेपाली महिलामाझ मात्र नभई समग्र समाजमै उल्लास साथ मनाइने चाड हो।समयसँगै यसको स्वरूपमा धेरै परिवर्तन देखिन थालेको छ। पहिले दुःख पीडा पोख्ने करुण भाका गाइन्थे भने अहिले स्वतन्त्रता, समानता र मनोरञ्जनका लयहरूमा तिजका गीत घन्किन थालेका छन्। सामाजिक सन्देश, महिला सशक्तीकरण र आधुनिक भावनाले तिजका नयाँ गीत सजिएका छन्।

तिजका भाका र मनोरञ्जन गर्ने शैलीमा विकास भएको कलाकार तथा निर्माण प्रक्रियामा रहेको चलचित्र ‘मनबिनाको धन’का निर्माता तथा निर्देशक टंक बुढाथोकीले बताए। उनले जसरी तिज गीतका शैली विकास भइरहेका छन्, त्यसरी नै महिलाहरू पनि जीवनमा सकारात्मक परिवर्तन आउनुपर्ने बताउँछन्।

उनले भने, ‘चेलीबेटीको घरमा बसिरहेको बेला आफू अनुकूल स्थानमा तिज मनाउनु राम्रो हो। तिज गीतका शैली विकास भएसँगै महिलाहरूको जीवन पनि खुसीले बित्नुपर्छ।’

विगतमा महिलाले आफ्ना पीडा र दुःख तिजका गीतमार्फत पोख्ने गर्थे भने आजका गीतहरूमा स्वतन्त्रता, समानता र आत्मसम्मानका स्वरहरू घन्किन थालेका उनको भनाइ छ।

समय परिवर्तन छ।विगतजस्तो नै हुनुपर्छ भन्ने मान्यता आफ्नो नरहेको उनले बताए। कलाकार बुढाथोकीका अनुसार तिज पर्वलाई समयसँगै विकसित रूप दिनु स्वाभाविक हो। पछिल्लो समय बजारमा तिजको अवसरमा आउने गीतसंगीत ठिकै लाग्ने उनले भनाइ राखे। ‘अहिले बजारमा आइरहेका तिजका गीतहरू रमाइला छन्। यसमा नकारात्मक छ जस्तो लाग्दैन।म चाहन्छु अझै रमाइला तिजका गीतहरू बजारमा आउनुपर्छ।’ साथै उनी तिजमा आफ्नो क्षमताले भ्याएसम्म मात्र खर्च गर्नुपर्ने र देखासिकी गर्न नहुने बताउँछन्।

धार्मिक पक्षलाई हेर्दा अनादि कालमा आदिशक्ति हिमालयपुत्री पार्वतीले ‘भगवान् शिवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ। राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने भएपछि आफूले मन पराएको वर पाउन उनले शिवजीको तपस्या गरिन्। लामो समयसम्म तपस्या गर्दा पनि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिंग स्थापना गरी व्रत गरिन्।

अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ।सोही आधारमा तिज उत्सव मनाउन थालिएको  कथन उल्लेख छ।

सोही क्रममा काठमाडौं खानेपानी लिमिटेड भक्तपुर शाखाको एकाउन्ट अफिसर उर्मिला कार्की भण्डारीलाई भने अहिले बजारमा आएका तिजका गीतहरू पटक्कै मन परेको छैन।उनी भन्छिन्, ‘हामी महिलाहरूले आफ्ना पीर व्यथा भुलेर मौलिक तरिकाले मनाउने हो तर अहिले आएका गीतहरूले तिजको मर्म नै मरेको छ।’

हिन्दु महिलामाझ विशेष रूपमा मनाइने तिज पर्व विगतका वर्षभन्दा अहिले धेरै फरक रूप लिन थालेको उनले बताइन्। ‘यो पर्व पहिले व्रत, भक्ति र परिवारप्रतिको समर्पणमा सीमित हुने गरेको भए पनि पछिल्ला वर्षहरूमा यसमा देखिएको विलासी खर्च, बाह्य प्रदर्शन र भड्किलोपनले हाबी भएको छ,’ भण्डारी भन्छिन्।

तिजमा आफ्ना टोल छिमेकमा रमाउने र माइत जाने सोचमा रहेकी उनी पहिलेका गीतमा माइती र महिलाका पीडाहरू हुन्थे तर अहिले अश्लीलता बढेको बताउँछिन्।

तिजको गीत आफ्नै मौलिक शैली र मर्मलाई समेटेर सभ्य र मर्यादित शब्दहरू राखेर तिजका गीत बनाउन उनले संगीतकर्मीहरूलाई सुझाव समेत दिइन्।

तिज भन्नासाथ बच्चा बेलादेखि आमाहरूले दर खाने भनेर उठाएको सम्झिन्छिन्   निर्माण प्रक्रियामा रहेको ‘मन बिनाको धन’ चलचित्रकी निर्माता तथा स्टुडियो नाइनकी प्रबन्ध निर्देशक विष्णु मैनाली। ‘आमाहरूले बच्चैदेखि दर खाने कुरा सम्झनामा आउँछ,’ उनी भन्छिन्, ‘पहिला ढकनी, खिरजस्ता मिठा परिकार घरमै पकाएर खाइन्थ्यो तर अहिले मोडर्नको नाममा बजारमा पाइने खानेकुराहरू खाइन्छ।’

तिज पर्व महिलाहरूका लागि माइती पक्ष नै महत्त्वपूर्ण हुने उनको भनाइ छ।साथै  धेरै वर्षदेखि तिजमा माइत जान नपाएको गुनासो पौख्दै मैनाली भन्छिन्, ‘हामी महिलाहरूका लागि यो तिज पर्व भावनासँग जोडिएको छ। तिज भन्नेबित्तिक्कै आमा र बाबाको याद आउँछ।यसकारण जसरी पनि तिजमा माइत जान्छु।’

यसैबिच, तिजलाई महिला अधिकार र स्वतन्त्रताको सन्दर्भमा बुझ्दा फरक दृष्टिकोण पनि देखिन्छ। यसले तिजलाई केवल धार्मिक व्रतको दिन मात्र नभई महिला चेतना, अधिकार र समानताको माग गर्ने एउटा सामाजिक मञ्चको रूपमा पनि स्थापित गरिरहेको उनले बताइन्।

यस्तै,  तिज पर्व भन्नासाथ महिलाको पर्व नै भन्ने बुझिन्छ। यस्तो अवस्थामा तिज महिला मात्रको पर्व हो त ? भन्ने प्रश्नमा कलाकार बुढाथोकीले पुरुषहरूको सक्रिय सहभागिताबिना तिजको वास्तविक उद्देश्य अधुरो रहने बताए। उनका अनुसार महिलाको समानता र स्वतन्त्रता समाजकै सरोकार हो, जसलाई समर्थन गर्न पुरुषहरूको साथ र समझदारी अपरिहार्य हुन्छ।पुरुषहरूले तिजलाई ‘महिलाको मात्र चाड’ भनेर हेर्नुभन्दा यसलाई लैंगिक समानता र परिवारिक सहकार्य बढाउने अवसरका रूपमा लिन सकिन्छ।

तिजका अवसरमा लैंगिक समानता, महिला शिक्षा, स्वास्थ्य र अधिकारबारे छलफल गर्ने कार्यक्रमहरू सञ्चालन गर्नु पनि उपयुक्त हुने नेपाल सरकारको महालेखापरीक्षकको कार्यालय अनामनगरकी उपमहालेखापरीक्षक सचिव विन्दु विष्टले बताइन्।

‘पहिला सीमित जातजातीले मनाउने पर्व तिज अहिले राष्ट्रिय पर्वको रूपमा रहेको छ,’ उनले भनिन्, ‘वर्तमान अवस्थामा तिज पर्व देश विदेशमा रहेका नेपाली दिदीबहिनीले मनाउने पर्व भएको छ।यसले सबैलाई एउटै कडीमा बाँध्ने राष्ट्रिय एकताको राम्रो माध्यम भएको छ।’

विगतमा तिज मनाउनका लागि श्रीमान् तथा पुरुषहरूमै निर्भर हुने अवस्था थियो तर अहिले महिलाहरू आफैं सक्षम भएका छन्, जसबाट उनीहरूले जे जसरी तिज पर्व मनाउन चाहन्छन् त्यसरी नै मनाउन दिनुपर्ने भनाइ सचिव बिष्टको छ।

‘तिज केवल पार्टी प्यालेसमा नाच्ने र रमाउने पर्व मात्र होइन, आफ्नो श्रीमान्का लागि त्याग तपस्याको भावना पनि बोकेको छ,’ उनले भनिन्। यस कारण महिला दिदीबहिनीहरूले तिजको मर्म र संस्कारबारे आफ्ना छोरी चेलीलाई बताउनुपर्ने भनाइ राखिन्। एक दिनको भोज र प्रदर्शनमा सीमित नराखी तिजलाई सामाजिक चेतना, लैंगिक समानता र पारिवारिक समन्वयको पर्वका रूपमा विकास गर्न सबै अग्रसर हुनुपर्ने उनको भनाइ छ।

उनी भन्छिन्, ‘तिजमा नयाँ भाका र समयानुकूल चेतना जोड्नु सकारात्मक भए पनि संस्कार र परम्परा जोगाउँदै लैजाने जिम्मेवारी सबैको हुन्छ। पुरानो र नयाँको सन्तुलन कायम गर्न सकेमा तिज अझ अर्थपूर्ण र स्थायी बन्न सक्छ।’

हाल बजारमा आएका गीतसंगीत र भेषभुषा तथा नृत्य विकृतिको रूपमा नरहको उनको भनाइ छ। उनले यसलाई विकृति नभनेर सशक्तीकरणको रूपमा आफूले लिएको उनले बताइन्। ‘महिलाहरू आफैंमा सक्षम भएको अवस्थामा तिजको अवसरमा बजारमा आएका गीत संगीत सशक्तीकरण हो। सधैं पुरानै तरिकाबाट तिज पर्व मान्नुपर्छ भन्ने छैन। महिलाले आफूलाई जे गर्दा सन्तुष्टि मिल्छ त्यो गर्नु पर्छ,’ उनले भनिन्, ‘तर यति भनिरहँदा भने महिलाहरूले आफ्नो मान मर्यादा भने भुल्नु हुँदैन।’

भविष्यमा तिजलाई अझ सन्तुलित र अर्थपूर्ण बनाउन विलासी खर्च र भड्किलो प्रतिस्पर्धाभन्दा सांस्कृतिक, समर्पण र आध्यात्मिक पक्षमा ध्यान दिनुपर्ने भनाइ बिष्टले राखिन्।

उनले तिजका गीत र नृत्यलाई मनोरञ्जनसँगै सचेतना र सशक्तीकरणका सन्देश बोकेको बनाउँदै लैजाँदा राम्रो हुने बताइन्। यस्तै, आफ्नो आमा तिज आउँदा माइत जान नपाएर रुँदै बसेको विगत सम्झँदै ६० वर्षीया शारदा थापा उदास हुन्छिन्। विगतमा तिज मनाउन आमाले ठूलो कष्ट गरेर माइत गएको बताउँदै उनले अहिले तिज पर्व धेरै राम्रो र सहज भएको जिकिर गर्छिन् ।

‘हाम्रो आमाको पालामा धेरै दुःख गरेर तिज मनाएको देखेकी छु। अझ माइत जान नपाएर रुँदै बस्नुपथ्र्यो। तर अहिलेको छोराछोरीको पालामा धेरै आनन्द छ।’

विगतभन्दा वर्तमान परिपेक्षलाई नियाल्दा यही तिज ठीक भएको भन्दै आफू ४/५ वर्षपछि जन्मेको भए धेरै कुराहरू देख्न पाइथ्यो भन्दै सुनाइन्। ‘हाम्रो पालामा डेगमा गीतसंगीत बजाइन्नथ्यो तिजको दर पनि तिजको अघिल्लो दिन एकै दिन मात्र खानुपर्थ्याे। तर अहिले त्यस्तो छैन। मलाई अहिलेको तिज धेरै रमाइलो लाग्छ। मेरो जन्म ४/५ वर्ष पहिले भएको भए धेरै रमाइलो हुन्थ्यो होला।’

अहिले बजारमा आएका तिजका गीतहरू पनि निकै रुचाउने गरेको उनले सुनाइन्। ‘मलाई अहिले आएका गीतहरू धेरै मन पर्छ। जे भए पनि मेरो भन्दा पनि मेरा छोराछोरीको पालामा तिजको यो फेरिएको स्वरूप देखेर साह्रै खुसी लागेको छ,’ उनले भनिन्।

तिज पर्व पारिवारिक र धार्मिक पर्व हो।यसलाई भगवान् शिवसँगको आस्थामा हेरिन्छ।तर वर्तमान स्थितिमा पर्वको नाममा तिजलाई तडकभडक र देखासिकीले अप्ठेरोमा पार्ने पो हो कि भन्ने शंका डा. नम्रता पाण्डेको छ। हाम्रो समाजमा जति पनि चाडपर्व छन्, ती सबै सनातन धार्मिक परम्पराअनुसार सौर्यमास र चान्द्रमासका आधारमा छन्। सबै पर्वहरूमध्ये हरितालिका तिज पनि एक महत्वपूर्ण पर्व हो, जसले सामाजिक प्रपञ्चमा बाँधिएर पराई घर गई नयाँ जीवनको सुरुवात गरेकी चेली र माइतीको सम्बन्धलाई नजिक गराइदिन्छ।

तर, पछिल्लो समय तिजका  भाका फेरिँदै छन्।यसले समाजमा नराम्रो पक्षलाई निम्त्याउन सक्ने उनले बताइन्। ‘वर्तमान समयमा तिजका भाका फेरिएका छन्। तर भाका फेरिँदैमा आफ्नो संस्कार बिर्सनु हुँदैन,’ उनले भनिन्।

तिज रमाइलो गर्ने चाड मात्र नभई परिवार र समाजलाई जोड्ने, धार्मिक आस्था र परम्परालाई जोगाउने अवसर पनि हो। महँगो लुगा, गहना र भोजभतेरले मात्र तिजको सार्थकता पूरा हुँदैन भन्नेमा उनी जोड दिन्छिन्। तिजमा महँगो लुगा, गहना, मेकअप र भोजभतेरमा ठूलो खर्च गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। परम्परागत रूपमा आध्यात्मिक र सामाजिक मूल्यमा आधारित पर्वलाई यस्तो विलासी शैलीले ‘देखावटी पर्व’ मा परिणत गरिरहेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। यसले तिजको मर्मलाई दीर्घकालीन रूपमा जोगाउनेमा चुनौती थपेको उनको भनाइ छ।

उनी भन्छिन्, ‘कतिपयलाई यो महिलाको आर्थिक स्वतन्त्रताको परिचायक जस्तो लागे पनि कतिपयले भने यसलाई सामाजिक दबाब र प्रतिस्पर्धाले सिर्जना गरेको अस्वस्थ संस्कृति ठान्ने गरेका छन्।’

तिजलाई व्यवस्थित, सभ्य र मर्यादित बनाउन सबैले पर्वको मर्मबारे बुझ्नुपर्ने पाण्डेको भनाइ छ।आर्थिक र भावनात्मक रूपले तिज महत्त्वपूर्ण मानिने भएकाले पुरुष र महिलाको संयुक्त सहभागिता सुनिश्चित गरी तिजलाई साझा पर्वमा रूपान्तरण गर्नु नै आजको आवश्यकता भएको डा. पाण्डेको बुझाइ छ।

प्रकाशित: ७ भाद्र २०८२ ०९:३६ शनिबार