१ पुस २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

खिरपर्व र साउँखर्क

परम्परा

नेपाली समाज प्राचीन संस्कृति र सभ्यताले परिपूर्ण छ। पूर्वीय दर्शन र परम्परामा आधारित नेपाली समाजले वर्तमान अवस्था र भविष्यलाई पनि आध्यात्मिक चेतनाको मार्ग देखाएको पाइन्छ। आफ्नै धार्मिक, सांस्कृतिक र सामाजिक परम्पराको अर्को नमुना हो श्रावण १५ गते अथवा खिरखाने पर्व।

आयुर्वेदिक दृष्टिकोणले पनि खिर खानु लाभदायक मानिन्छ। जाडोबाट बच्न, शरीरमा पाचन प्रणाली कायम गर्न, सात्त्विक भोजनप्रति आकर्षित गर्न खिर खानुपर्छ। यसले मानिसको चिन्तनलाई सकारात्मकतातिर अभिप्रेरित गर्छ। हत्याहिंसाबाट टाढा राख्ने पाठ पनि सिकाउछ खिर खानाले भन्ने अर्ती उपदेश र आयुर्वेदिक महत्त्व दर्शाउनु हुन्थ्यो काठमाडौं चावहिलका कविराज कृष्णबहादुर मिश्र। कविराज मिश्रको निधन भएको पनि निकै वर्ष भयो। जसले नेपाल आयुर्वेदिक औषधालयको मन्दिर हो। गाईवस्तु पाल्न नेपालका वनजंगल गोठालाहरूका लागि सुविधाजनक घर हो भन्नुहुन्थ्यो। त्यस्ता विचारक व्यक्तित्वको अर्ती उपदेश वर्तमान अवस्थाका पिँढीका लागि उत्तिकै आवश्यक रहेको मानिन्छ।

असार १५ मा दहीचिउरा खाने पर्वलाई बिदाइ गरेलगत्तै आउने खिर खाने पर्वको चर्चा गर्दा कतिपय मानिसको जिब्रो रसाएको पनि हुनसक्छ। कहिले साउन महिनाको १५ गते आउला भनेर ससाना बालबालिकादेखि वृद्धवृद्धासम्म दिन गनिरहेका हुन्छन्। नेपाल कृषिप्रधान देश भएकाले यतिबेला धान, कोदो रोपेर किसानहरू थकाइ मार्ने अवस्थामा हुन्छन्। तर यसपटक अन्नको भण्डार मानिएको तराई क्षेत्रमा ५१ प्रतिशत मात्र खेतमा धान रोपाइँ भएकाले राष्ट्रिय चिन्ताको विषय बनेको छ। मधेस प्रदेशका केही जिल्लामा प्रदेश सरकार र संघीय सरकारले डिप बोरिङ गरेर भए पनि रोपाइँ गर्ने पहलकदमी चालेर आफैंमा प्रशंसनीय काम गरेका छन्।

कुनै बेला असार १५ को दहीचिउरा खाने प्रचलन र साउन १५ को खिर खाने परम्परा सीमित समुदायमा मात्र थियो। अहिले यी दुवै पर्वले राष्ट्रिय मान्यता पाएपछि नेपाली समाज हर्षित देखिन्छ। किसानको भूमि भएकाले नेपाली समाज पर्व, संस्कृति र संस्कार कायम राख्न आफैं अग्रसर हुने गर्छ। किसानको निष्कलङ्क अनुहार आफूले लगाएको खेतमा धानका बाला र कोदाका गाना पाकेका बेला जति खुसी देखिन्छ, उनीहरू त्यति नै खुसी आफूले पालेका गाई, भैंसी, चौंरी आदि वस्तुभाउबाट दुहेको दुधदही देख्दा हुन्छन्। अझ दुध र यसबाट बनेका परिकारबाट आयआर्जन हुने गरेका कतिपय गाईभैंसीपालक कृषकले बताउँदै आएका छन्।

आफ्नो देशको मायाले ओतप्रोत भएका किसान परिश्रम गरेर पसिनाको कमाइले परिवार पाल्न सक्षम पनि देखिएका छन्। आफ्ना छोराछोरीलाई विदेश जानबाट रोक्नका लागि उनीहरूले, गाईवस्तु पालन, फलफूल खेती, तरकारी खेतीलगायतका आम्दानीमूलक काम गर्दै आएका छन्। तैपनि बेरोजगारका नाममा युवाहरू बिदेसिएको देखेर चिन्ता लाग्नु स्वाभाविकै हो। आफ्नो थातथलो बाँझो राखेर भैंसी पाल्ने खरकहरू रित्तो देखेर मन खिन्न हुनु स्वाभाविकै हो।

साउन प्राकृतिक स्रोतसाधनले हराभरा महिना हो। वर्षा ऋतुको पानीले चरणक्षेत्र र घाँसे मैदान र पाटनहरू हरिया देखिन्छन्। वस्तुभाउ प्रशस्त मात्रामा चर्न पाउँछन्। खेततिर धानकोदाको हरियाली, पाटनतिर वस्तुहरूले घाँस खाइरहेको परिवेश, छाँगाछहरा र झरना एकनासले बगिरहेको मनमोहक दृश्य, हरियो वनजंगलको तस्बिरले नेपाली भूमिको वास्तविक परिचय दिन्छ। त्यसैले त नेपाल, हिमाल, पहाड, तराई बोकेको संसारकै अति सुन्दर मुलुकको पङ्क्तिमा देखापरेको छ। यसमा हामीलाई गौरव लाग्छ।

गाउँको खिर खाने चलन विगत वर्षदेखि सहरमा सरेको छ। जुन आफैंमा खुसीको कुरा हो। आआफ्नो समूह बनाएर आपसी भाइचाराको सम्बन्ध कायम राख्न मित्रवत् व्यवहारबाट समाजलाई अभिप्रेरित गर्न खिर खाने चलनले सकारात्मक सन्देश दिएको छ। अहिले त यो परम्परामा मात्र सीमित नभएर राष्ट्रिय पर्वका रूपमा उदाएको छ। यसले नेपाल कृषिप्रधान देश हो, देशको माटो उर्वर छ, हरेक विषयवस्तुलाई प्रयोगमा ल्याउन नेपाली जनजीजन र नेपाली माटो सक्षम छ भन्ने सकारात्मक सन्देश पनि खिर खाने पर्वले दिएको छ।

 जनसङ्ख्याको बढ्दो वृद्धिसँगै काठमाडौं उपत्यकालगायतका देशका सहरी क्षेत्रमा गाई पाल्ने कृषकको सङ्ख्या पनि बढ्दै गएको देखिन्छ। दुध बेचेर प्रशस्तै आम्दानी भएको, जीविकोपार्जन गर्न र सहरमा छोराछोरी बढाउन सहज भएको कुरा कतिपय गाईपालक कृषकले बताउँदै आएका छन्। जुन आर्थिक मेरुदण्डको सबल पक्ष पनि हो। तर सहरी क्षेत्रमा वस्तुभाउ पाल्न त्यति सहज भने देखिँदैन। किनकि गाउँमा जस्तो वस्तुलाई चरनक्षेत्र सहरमा छैन।

स्वस्थ्यका दृष्टिले दुध आफैंमा पोसिलो पदार्थ हो। हिन्दु शास्त्रमा गाईलाई लक्ष्मी र वेदशास्त्रका रूपमा लिइने गरिन्छ। गाईको दुध र यसबाट निर्मित खिर कुराउनीजस्ता पौष्टिक परिकार खान पाएपछि शरीर स्वस्थ र निरोगी हुन्छ। नेपाली भनाइ पनि छ– गाभामाथिको खिर। अर्थात् पिँडालुको गाभा र खिर खाएपछि साइत राम्रो पनि हुन्छ, शरीर स्वस्थ पनि हुन्छ। त्यसैले खिर नेपाली जनजीवनको राष्ट्रिय परिकारका रूपमा स्वीकार्य छ। खिर पितृ र देवीदेवतालाई मनपर्ने परिकार पनि हो भनी शास्त्रमा बताइएको छ। दसैंको बेला नवदुर्गालाई ‘पायस’ भनी खिर र खिरको परिकारलाई श्रद्धापूर्वक चढाउने र होम गर्ने परम्परा पनि रहँदै आएको छ।

खिर खाने पर्वका रूपमा चर्चा गर्दा यतिखेर सुदूरपश्चिम प्रदेशको रमणीय जिल्ला डडेलधुराको साउँखर्कको याद आइरहेछ। साउँखर्क हालको गन्यापधुरा गाउँपालिकामा पर्छ। तराईबाट डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा र अछाममा जाने गाडी यही राजमार्ग भएर गुड्ने गर्छन्। सयौं मानिस साउँखर्कको भैंसीको दुधबाट बनेको खिर खाएर मात्र आआफ्नो गन्तव्यमा पुग्छन्।

साउँखर्कको खिरको इतिहास लामो छ। घना जंगलबिच रहेको यो ठाउँका खिर बिक्री गर्ने पहिलो किसान हुन् शेरबहादुर देउवा। उनले भैंसीपालन गरी २०२८ सालमा खिर र कुराउनी बिक्री गर्थे। त्यस बेला खिर बनाएर बिक्री गर्नु नौलो काम थियो। त्यस बेला गाईभैंसीको दुध बिक्री गर्न हुँदैन भन्ने मान्यता थियो। अझ बाहुनले खिरलाई चुल्होमा बाहेक अन्यत्र खानुहुँदैन भन्ने मान्यता थियो। डडेलधुराको पोखरास्थित टिम अस्पतालका एक विदेशी स्वास्थ्यकर्मीले साउँखर्कको खिर खाएको र देउवाले शुद्ध दुधबाट बनेको खिर खुवाउने गरेको प्रसङ्गग त्यसबेला चर्चित थियो।

अहिलेको जस्तो प्रचारप्रसारको जमाना नभए पनि एक कान दुई कान मैदान भनेझैं साउँखर्कको खिरको चर्चा सुदूरपश्चिमका सहर र गाउँमा दिन प्रतिदिन फैलिँदै गयो। काठमाडौंलगायत ठाउँबाट गएका पाहुना र विदेशी पर्यटकहरूले पनि आजभोलि साउँखर्कको खिर खाएर मात्र गन्तव्यमा पुग्ने गरेका छन्। तर पुरानो जमानाको जस्तो चिनी र पानी नमिसाएको खिर अहिले पाइँदैन।

शेरबहादुर देउवा इमानदार किसान र खिर व्यापारी थिए। उनले आफ्नो धर्म न छाडेकाले सुदूरपश्चिममा उनको नाम प्रख्यात छ। केही वर्ष पहिले उनको निधन भयो, छोराहरूले सो पेसा अपनाएका छन्। अहिले धेरै ठाउँमा होटलहरू स्थापना गरिए तापनि त्यति सारो प्रचार भएको देखिँदैन। २०६३ भदौमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सुदूरपश्चिमका जिल्लाहरूको भ्रमणका क्रममा पङ्क्तिकारले पनि उहाँसँगै बसेर साउँखर्कमा खिर खाएको याद आइरहन्छ।

सुदूरपश्चिम र कर्णालीका ग्रामीण बस्तीमा पोट्या खिरको महत्त्व छ। अलिकति पानी मिसाएर बाक्लो खालको खिरलाई पोट्या खिर भनिन्छ। साउन १५ बाट सोह्र श्राद्धसम्मको कालखण्डमा कालीकर्णाली प्रदेशका पहाडी बस्तीमा गाईभैंसीपालक किसानले घरपरिवार, आफन्तजन, इष्टमित्र र पाहुनाहरूलाई खिर खुवाउने चलन अहिले पनि कायम छ।

लेकका भिड्याइती पात र स्टिलका थालमा खिर खुवाउने चलनले वास्तविक किसानको परिचय र अतिथि सत्कारको उदाहरण पनि देख्न पाइन्छ। केवल सुदूरपश्चिममा मात्र नभएर सुदूरपूर्वका जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुमलगायतका पहाडी बस्तीमा पनि दुध र दुधबाट निर्मित खिर, कुराउनी, छुर्पी बनाएर बिक्री वितरण गर्ने प्रचलन कायम छ।

खिरसम्बन्धी सुदूरपश्चिमका कलाकारहरूले विभिन्न गीत गाएका छन्। यो पङ्क्तिकारले पनि २०४६ सालमा गाएको देउडागीतको पङ्क्ति यस्तो छ–

दुधभन्दा खिर अझै मिठो पाटन चर्न्या गाईको

म कन न भयै खती जोवन झान लाइग्यो।  

अलि काँकणी खोला...

प्रकाशित: १७ श्रावण २०८२ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App