३ चैत्र २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

कार्तिक कृष्ण त्रयोदशी: नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै

कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन धनतेरस पर्व मनाइँदै छ।

सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर पूजाआराधना गरी यो पर्व मनाइन्छ। यसरी ल्याइएको भाँडाकुँडामा धेरैले कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्छन्। केहीले भने आजै बेलुकी धनतेरस पूजा गर्छन्। यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको विश्वास छ। धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ। धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ।

आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामले समेत चिनिन्छ। आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ। भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा सजायर राखिएका छन्।  

यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान सुरु गरिँदै छ। यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए। आज धनका अधिपति देवताका रूपमा पूजिने कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधना गरिन्छ। केहीले कुबेरको आज र केहीले लक्ष्मीपूजाकै दिन पूजाआराधना गर्छन्।

दीपावली, तिहार, यमपञ्चकजस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो। आजदेखि विधिवत् रूपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ। यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। धनवन्तरी जयन्ती पनि आइतबार नै मनाइन्छ।

नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज धनतेरस पर्व मनाइनुका साथै यमदीपदानसमेत सुरु गरिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ।

प्रकाशित: १ कार्तिक २०८२ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App