१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

आस्थाको धरोहर: गढीमाई मन्दिर

आस्था

मधेस प्रदेशको बारा जिल्ला, कलैयाबाट ७ किमि पूर्व लागेपछि महागढीमाई नगरपालिका–१, बरियारपुर आउँछ। हुलाकी राजमार्गअन्तर्गत महागढीमाई नगरपालिका नपुग्दै आउँछ आस्थाको जीवन्त धरोहर– गढीमाई मन्दिर।

खुला चौरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप  आध्यात्मिक, आदिदैविक र आदिभौतिक नाश हुन्छन् भन्ने जनविश्वास छ। त्रिशूल स्थापना भएको दक्षिणतिर देवीको मूर्तिसहित मन्दिर निर्माण गरिएको छ।

मन्दिरबाट पूर्व–दक्षिणतिर पिपलबोटसँगै ब्रह्माको स्थान पनि छ। पूर्वतिर रहेका ब्रह्मस्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ। गढीमाईका पुजारी थारू जातिका छन्। गढीमाईको पूजाआजा गर्दा कंकालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ।

गढीमाईका बहिनीहरू - कटबासीमाई, कंकालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ।

गढीमाई स्थापनाको कथा

करिब २६५ वर्षको लामो इतिहास बोकेको गढीमाई देवीको स्थापना बारा सिम्रौनगढका तिरहुतेहरूको शासनकालमा भएको मानिन्छ। कुनै समयमा थारू जातिका एक व्यक्ति मकवानपुर गढीमा बन्दीका रूपमा थुनिएका रहेछन्। उनलाई उक्त गढीमा रहेकी देवीले सपनामा आफूलाई त्यहाँबाट कतै लगेर स्थापना गर्न सल्लाह दिइन्। ती कैदी त्यही रात जेलबाट छुटेछन् र त्यहाँकी देवीलाई बरियारपुरमा लगेर स्थापना गरेछन्। त्यसपछि गढीमाईमा तिनै व्यक्ति पुजारी बनेछन्।

हालसम्म पनि गढीमाईमा तिनकै सन्तान पुजारी रहेको विश्वास गरिन्छ। सिम्रौनगढबाट भागेका हरिसिंह देव र उनकी रानी देवलदेवी एक रात यही गढीमाई स्थानमा बास बसेछन्। किंवदन्तीअनुसार उनीहरूले साथमा लिएर हिँडेकी तुलजादेवीको एउटा अंश गढीमाई क्षेत्रमै छ। बारा, बरियारपुरकी गढीमाईलाई साक्षात् देवी मानिन्छ। यहाँ भाकल गरेपछि देवीले इच्छा पूरा गरिदिने लोकविश्वास रहेको पुजारी मंगल चौधरी बताउँछन्।

स्थानीय जनश्रुतिअनुसार कुनै बेला त्यस भेगमा रस्सागुरु नामक एक जना सिद्ध व्यक्ति रहेछन्। उनी देवीलाई प्रसन्न पारेर बाघहरूलाई आफ्नो अधीनमा लिन्थे र गोरु तथा राँगासहित अन्नपातको दाउनी गर्न प्रयोग गर्थे। गढीमाईमा प्रत्येक पाँच वर्षको पूजा एकै पटक सम्पन्न गर्ने चलन छ। त्यस अवसरमा सेतो मुसा, पाठो सुँगुर र राँगाको बलि दिइन्छ। मन्दिरका तर्फबाट पूजा गरी बलि दिएपछि मात्र भक्तहरूलाई पूजा तथा बलिका लागि अनुमति दिने चलन रहेको छ।

एकैपटक सबैभन्दा बढी संख्यामा राँगाको बलि दिइने स्थान पनि गढीमाई नै हो। यी देवीले भक्तको मनोकांक्षा पूरा गर्ने लोकविश्वास रहेकाले मेलाका अवसरमा यी माईलाई पशुबलि दिनेहरूको ठुलो भिड लाग्ने गरेको हो। यहाँ बलि चढाउने आउनेमा ८० प्रतिशत भारतीय भक्तजन हुन्छन्।

प्यागोडा शैलीको मन्दिर

प्यागोडा शैलीमा निर्माण गरिएको गढीमाई मन्दिरभित्रको देवीमूर्ति करिब १५० वर्षअघि उपेन्द्रविक्रम शाहले स्थापना गरेको इतिहास छ। नेपालको अन्य मन्दिरको तुलनामा आकारका हिसाबले ठुलो नभए पनि आस्थाको आकर्षण व्यापक छ।

यहाँ हजारौंको संख्यामा बलि प्रदान भएपछि रगतमा झिंगा नलाग्नु गढीमाईको थप विशेषता हो। गढीमाई मन्दिर परिसरमा दर्शनार्थीका लागि सुविधासम्पन्न शौचालय, बिजुली, खानेपानी, सवारी पार्किङस्थल व्यवस्था गरिएको छ।

यस्तो छ गढीमाईको धार्मिक किंवदन्ती

किंवदन्तीअनुसार हत्या अभियोगमा जेल परेका भगवानदास थारुले जेलबाट छुटकारा पाएपछि फर्किदा ल्याएको त्रिशूल गाढेको स्थानमा अहिले गढीमाई मन्दिर छ। तिनै थारुका सन्तानबाट १०औं पुस्ताका मंगल चौधरी हाल मन्दिरका मूल पुजारी रहनुले १७औं शताब्दीदेखि चलेको यो किंवदन्तीले श्रद्धालु, भक्तजनहरूका लागि आस्था र जनविश्वास बढाएको हो।

जेल घरमा राति निदाएको बेलामा सपनामा आएकी मकवापुरगढीकी ‘तुलजा भवानी अर्थात् गढीमाईले मलाई तिम्रो गाउँमा लैजाऊ अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दुःख पीडासमेत हरेर जानेछ’ भनेर हत्या अभियोगमा जेलमै सजाय भोगिरहेका भगवानदास थारुलाई दर्शन दिएपछि जेलमुक्त भएका थारुले भवानीले दिएको त्रिशूल बाराको वरियारपुरमा ल्याएर गाढेको किंवदन्ती छ। त्यसैबेलादेखि उहाँका वंशजले गढीमाई मन्दिरको रेखदेख र पूजाआजा गर्दै आएको मूल पुजारी चौधरीले बताए।

जहाँ नरबलि चढाइन्छ

तिथिअनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मूल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा, परेवा, हास, राँगासमेत गरी पञ्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि पनि बलि खुला हुने मन्दिरका मूल पुजारी मंगल चौधरीले बताउँछन्।

‘मान्छेको शरीरको ४ अंगबाट रगत चढाइन्छ, जसलाई नरबलि भनिन्छ। गढीमाईको विशेष पूजा, आराधनासँगै अन्य गढीमाईका मूल पुजारी, पुजारीहरूसँगै रही आफ्नो शरीरबाट रगत निकालि नरबलिस्वरूप रगत चढाउने गरिएको छ,’ मन्दिरका पुजारी कपिलदेव चौधरीले बताए।

‘यसअघि रातभर पूजा हुन्छ। पूजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफैं बत्ती बल्छ र पञ्चबलि हुन्छ,’ पुजारी चौधरीले सुनाए।

हिन्दु धर्म संस्कृतिमा पशुबलिलाई शक्तिसँग जोडेर हेर्ने प्रचलन सदियौंदेखि रही आएको छ। शक्तिकी देवीलाई खुसी पार्न बलि अनिवार्य भएको परापूर्वकालदेखि नै मानिँदै आएको छ।

गढीमाईलाई हिन्दु धर्ममा शक्तिपीठमध्ये एक मानिन्छ। शक्तिपीठ भन्नाले देवी सतीको अंग पतन भएको स्थान हो। देवीको शक्तिलाई रोग निको पार्ने, मनोकामना पूरा गर्ने र संकट टार्ने रूपमा लिइन्छ।

पूजा र अनुष्ठान

गढीमाई मन्दिरमा विभिन्न प्रकारका पूजा र अनुष्ठानहरू गरिन्छ।

नियमित पूजाः मन्दिरमा दैनिक पूजाआजा गरिन्छ, जसमा भक्तजनले देवीलाई फूल, फल र मिठाई चढाउँछन्।

विशेष पूजाः विभिन्न अवसरमा विशेष पूजाआजा गरिन्छ, जस्तै नवरात्रि, दसैं र तिहार।

पशुबलिः गढीमाई मेलाको मुख्य आकर्षण पशुबलि हो, जो प्रत्येक पाँच वर्षमा आयोजना हुन्छ।

प्रकाशित: ९ फाल्गुन २०८२ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App