नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन नेपाल) गण्डकी शाखाद्वारा आयोजित इस्कोनको श्री राधा कृष्ण मन्दिरको विधिवत उद्घाटन समारोह सम्पन्न भएको छ।
उद्घाटन समारोहमा इस्कोन नेपालका क्षेत्रीय सचिव परम पुज्य महाविष्णु स्वामी, इस्कोन नेपालका क्षेत्रीय सुपरिवेक्षक पत्री दास र इस्कोन नेपालका केन्द्रीय अध्यक्ष परमेश्वर अच्युत दास सहभागी थिए। साथै राधा बेणी माधव, शालिग्राम, जगन्नाथ, बलदेव, सुभद्रा, गौर नित्याई र विग्रहको स्थापना पनि गरिएको छ।
बागलुङको प्रवेशद्वार मालढुङ्गा खुदुर्केमा अवस्थित उक्त मन्दिरमा उद्घाटन समारोहमा हजारौं श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता थियो।
कलात्मक शैलीमा बनेको यस मन्दिरमा नित्य निरन्तर रूपमा बिहान साढे ४ बजे मङ्गल आरतीदेखि बेलुकी ८ बजेसम्म आरती र पूजा हुनेछ।
उद्घाटन सत्रमा बोल्दै परम पुज्य महाविष्णु स्वामीले पवित्र कालीगण्डकीको तटमा अवस्थित यस इस्कोन मन्दिरले जीवहरूमा सुसुप्त अवस्थामा रहेको कृष्णभक्तिलाई उजागर गर्न टेवा पुग्ने कुरा व्यक्त गरेका छन्।
त्यस्तै स्वामी पत्री दासले मन्दिर आध्यात्मिक अस्पताल भएको र यसले जीवको काम, क्रोध, लोभ, मोह, ईर्ष्या र अहंकार जस्ता अनर्थहरू निको पार्ने कुराबारे चर्चा गरेका थिए।
परमेश्वर अच्युत दासले मुष्टिदानबाट बनेको यस मन्दिर सबैको साझा घर भएकोले यस परियोजनाको सम्पन्नताको निम्ति सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: १ भाद्र २०८२ २०:०० आइतबार