२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ समारोह सम्पन्न

<br>

बडादसैँको सातौँ दिन सोमबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ।

समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरिएको थियो। सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा प्रहार, तोप हानाइ, सैनिक परेड प्रदर्शन तथा दुर्गा नाच प्रस्तुत गरेको थियो। साथै सेनाको हेलिकप्टर र ड्रोनमार्फत ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो। सो अवसरमा दुर्गा वन्दना पनि प्रस्तुत गरिएको थियो।

फूलपाती बढाइँलाई धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने मौलिक कार्यक्रम मानिन्छ। गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोका दसैँघरमा साइत जुराएर भित्र्याएपछि सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहेको छ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।

बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन नेपाली सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह आयोजना गर्दै आएको छ। यस वर्ष पनि टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो।

प्रकाशित: १३ आश्विन २०८२ १७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App