४ चैत्र २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

गलेश्वर मन्दिरको गजुरमा लगाइयाे सुनको जलप

दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका -९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ। गलेश्वर निवासी बमबहादुर पुनले चार लाख रूपैयाँ खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो) रङ र गजुरमा सुनको जलप लगाएका हुन्।

गलेश्वर मन्दिर विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार कोषको निर्णय र स्वीकृति लिएर पुनले रङरोगन र जलप लगाएका हुन्। कोषका उपाध्यक्ष समेत रहेका उनले यसअघि आफ्नै लगानीमा गलेश्वर मन्दिरमा रहेको शिवजीको ज्योतिएलिङ्गमा चाँदीको मुकुटले छोपेका थिए।

जलप लगाउन प्रयोग भएको सात ग्राम सुन खरिदमा एक लाख ५१ हजार, २७ लिटर सुनौलो रङ खरिद, ढुवानी र ज्यालामा दुई लाख ३६ हजार रूपैयाँ खर्च भएको पुनले बताए।

गलेश्वर मन्दिरको छानो पित्तल र गजुर तामाको छ। यसअघि विसं २०७७ मा कोषको २७ लाख आन्तरिक आम्दानीबाट र सहयोगदाता रमेश शर्माको पाँच लाख ५५ हजार ५५५ रूपैयाँमा मन्दिरको छानोलाई पित्तलले छाइएको थियो। शर्माका बुवा राधाकृष्ण पराजुलीले २०५५ सालमा २० लाख खर्चेर गलेश्वर मन्दिर बनाएका थिए।

रङरोगन र सुनौलो जलप लगाएपछि गलेश्वर मन्दिर चम्किलो र आकर्षक देखिएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरमा शिवालय मन्दिर छ। हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएर उत्पत्ति भएको उल्लेख छ। साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा यहाँ मेला लाग्ने गर्दछ भने दैनिक नित्य पूजाआजा हुन्छ।

यस मन्दिरमा पूजाआजा र दर्शन गरे मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको कोषका अध्यक्ष रेग्मीले बताए। उनका अनुसार यस मन्दिरमा दाताले चढाउने भेटी र दाताको सहयोगबाट सङ्कलित रकम पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिँदै आइएको छ।

यस वर्ष बेनी नगरपालिकासँगको साझेदारीमा गलेश्वर बजार सौन्दर्यकरण योजना सञ्चालन र गलेश्वर मन्दिर परिसरमा उज्यालोका लागि १८ मिटर अग्लो तीन हजार २०० वाट क्षमताको ‘हाइमाक्स लाइट’ जडान गर्न लागिएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले बताए। उनका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक तथा सङ्गितमय बनाउन सात ठाउँमा ‘स्पीकर’ जडान गर्ने तयारी भइरहेको छ। 

प्रकाशित: ४ मंसिर २०८२ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App