आर्थिक नगरी वीरगन्जको प्रसिद्ध घडीअर्वा पोखरी छठ घाटलाई यस वर्ष आकर्षक रूपमा सजाउन २३ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
घडीअर्वा पोखरी छठ पूजा व्यवस्थापन समितिले आइतबार एक पत्रकार सम्मेलन गरी आय-व्ययको अनुमानित विवरण सार्वजनिक गरेको हो।
समितिका अध्यक्ष राकेश साह कानुका अनुसार, यस वर्ष २६ लाख ७ हजार ७ सय ५५ रुपैयाँ आम्दानी र २३ लाख ८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
आम्दानीको मुख्य स्रोत टिकट बिक्रीबाट २० लाख र विज्ञापनदाताबाट ५ लाख रुपैयाँ संकलन हुने अनुमान छ। खर्चतर्फ टेन्ट, पण्डाल, सजावट, बत्ती, साउण्ड सिस्टम र फूलमालामा सबैभन्दा बढी करिब १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
घाटमा व्रतालु र भक्तजनको सुरक्षाका लागि कडा व्यवस्था मिलाइएको छ। सुरक्षा उपसमितिका संयोजक मुन्ना साहका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी ११० जना सुरक्षाकर्मी तथा घडीअर्वा स्पोर्टस् क्लबका ६० जना स्वयंसेवक परिचालन गरिनेछ।
साथै, घाट परिसरको सुरक्षा निगरानीका लागि २० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ। समितिका सचिव सन्तोष कुमार साहले सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरिएको र आवश्यक परे नेपाली सेनासँग पनि समन्वय गरिने बताए।
पूजाको मुख्य दिन (सँझियाघाट) मा यस घाटमा करिब १० हजार व्रतालु र दुई लाखभन्दा बढी भक्तजन आउने समितिको अनुमान छ।
देशभरमै भव्य सजावटका लागि चर्चामा रहने घडीअर्वा छठ घाटलाई यस वर्ष पनि आकर्षक पण्डाल, फूल र झिलिमिली बत्तीले सजाइएको छ।
समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताका अनुसार गत वर्ष घाट व्यवस्थापनमा १९ लाख १४ हजार ८१२ रुपैयाँ खर्च भएकोमा आम्दानीबाट २ लाख ९३ हजार २७२ रुपैयाँ बचत भएको थियो।
भव्य सजावटका कारण हरेक वर्ष आकर्षणको केन्द्र बन्ने यो घाटमा यस पटक पनि लाखौँ भक्तजन आउने अनुमानसहित तयारीलाई अन्तिम रूप दिइएको छ।
प्रकाशित: ९ कार्तिक २०८२ १९:५५ आइतबार





