२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

वसन्तपुर दसैँ घरमा सोमबार फूलपाती भित्र्याइयो (फोटो फिचर)

<br>

वसन्तपुरस्थित हनुमान ढोका दरबारको दसैँ घरमा सोमबार परम्पराअनुसार फूलपाती भित्र्याइएको छ। गोरखाबाट ल्याइएको फूलपाती धादिङको जीवनपुर हुँदै काठमाडौंसम्म पुर्‍याउने परम्परा रहेको छ।

धादिङबाट दसैँ घरका पुजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउने गर्छन् र त्यसपछि काठमाडौं जमलसम्म ६ जना ब्राह्मणले फूलपातीको लावालस्कर पुर्‍याउने परम्परा रहेको छ। जमलबाट हनुमान ढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जु पल्टन, ब्यान्ड बाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित फूलपाती ल्याइन्छ।

राजतन्त्रको समयमा राजा आफैँ हनुमान ढोका दरबारको दसैँ घरमा फूलपाती भित्र्याउन उपस्थित हुने प्रचलन थियो। प्रत्येक वर्ष दुर्गा पक्षको आश्विन शुक्ल सप्तमीमा फूलपाती मनाइन्छ र घर–घरमा शुभ साइत अनुसार भित्र्याइन्छ।

दसैँ घर र पूजा कोठामा घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मान वृक्ष भित्र्याइन्छ। नवपत्रिकाको रूपमा चिनिने फूलपाती नववटी देवीको प्रतीक मानिन्छ र शास्त्रीय विधि अनुसार पूजा गरी शक्तिको आराधना गरिन्छ।

फूलपाती भित्र्याएपछि केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मान वृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी नौ देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ।

प्रकाशित: १३ आश्विन २०८२ १८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App