मिथिला क्षेत्रमा यस वर्ष हरितालिका तीज र चौरचन (चौठचन्द्र) पर्व एकै दिन परेपछि यहाँको धार्मिक, सांस्कृतिक तथा आर्थिक गतिविधिमा दोब्बर रौनक थपिएको छ।
दुई ठूला पर्वको दुर्लभ संयोगले घर-घरमा पूजाको तयारी तीव्र बनेको छ भने लामो समयदेखि सुस्ताएको परम्परागत माटोको भाँडा बनाउने पेसा र स्थानीय बजार एकाएक चलायमान भएका छन्।
पर्वको विशिष्ट महत्त्वलाई ध्यानमा राख्दै मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न जिल्लाका स्थानीय तहले भदौ २९ गते सोमबार अत्यावश्यक सेवाबाहेक आफ्ना मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिएका छन्।
धार्मिक तथा सांस्कृतिक पर्वमा सर्वसाधारणलाई सहज रूपमा सहभागी हुने वातावरण बनाउन बिदाको निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले जानकारी दिए।
दुई पर्वको संगमले धनुषाका कुम्हाले बस्तीहरूमा यतिबेला भ्याइनभ्याइ छ। आधुनिक प्लास्टिक र स्टिलका भाँडाका कारण वर्षभरि जीविका चलाउन कठिन हुने कुम्हाले समुदायका लागि चौरचन वरदान सावित भएको छ।
धार्मिक विधिमा माटाकै भाँडा अनिवार्य हुने भएकाले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-४, हरैयाका रामप्रबोध पण्डितजस्ता कालिगडहरू बिहानैदेखि चाका घुमाउन व्यस्त छन्।
‘अरू बेला फुर्सद नै हुन्छ, तर चौरचन आएपछि माटोले पनि बोलाउन थाल्छ,’ पण्डितले भने, ‘जति बनाए पनि माग धान्नै गाह्रो भइरहेको छ।’ आम्दानी राम्रो नहुँदा नयाँ पुस्ता यो पेसाबाट विमुख भए पनि पर्वको समयमा माटाका भाँडा घरघरमा पुग्दा आफ्नो पुख्र्यौली पहिचान जोगिएको अनुभूति हुने उनको भनाइ छ।
चौरचन र हरितालिका तीज एकै दिन परेपछि स्थानीय महिलाहरूको व्यस्तता पनि दोब्बर भएको छ। क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयाकी अनिता यादवका अनुसार एकातिर हरितालिका तीजको निराहार व्रत र देवाधिदेव महादेव-पार्वतीको आराधना, अर्कोतिर साँझ चन्द्रमालाई अर्पण गरिने चौरचनको विशेष परिकार र पूजा सामग्रीको व्यवस्थापन एकसाथ गर्नुपरेको छ।
मिथिला संस्कृतिमा पारिवारिक सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै साँझ उदाउँदो चन्द्रमालाई फलफूल, दही र विशेष परिकार अर्पण गरी चौरचन मनाउने पुस्तौँ पुरानो परम्परा छ। अर्कोतर्फ, तीजले महिलाहरूको सामाजिक भेटघाट, गीत–सङ्गीत र आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै आएको छ।
पर्वको यो दोहोरो संयोगले मिथिलाका बजारमा समेत ठूलो आर्थिक कारोबार बढाएको छ। महेन्द्रनगर धनुषाका स्थानीय व्यापारी दिनेश गुप्ताका अनुसार फलफूल, मिठाई, पूजा सामग्री तथा नयाँ कपडाको माग उच्च भएको छ। चाडपर्वका कारण दुई-तीन दिनयता बजारमा उपभोक्ताको बाक्लो भीड लागेको छ।
आधुनिकताको तीव्र प्रभावबीच पनि तीज र चौरचनको यो संगमले मिथिलाको रैथाने संस्कृतिलाई पुनर्जीवन दिएको छ। यसले एकातिर कुम्हालेको पुख्र्यौली चाका घुमाएको छ भने अर्कोतिर बजारको व्यापार उकास्दै सम्पूर्ण मिथिलाञ्चललाई सांस्कृतिक एकता र उल्लासमा बाँधेको छ।
प्रकाशित: २९ भाद्र २०८३ १६:३० सोमबार





