१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ।

बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको हो।

नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई ५५१ देखि ११ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गर्न लागिएको संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए। 

पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधुसन्त चार हजारभन्दा बढी रहेको पनि उनले जानकारी गराए। महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ। 

संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरिने कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए। महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने चलन छ। 

आज नागा बाबासहितका साधुसन्तलाई बिदाइ गर्दा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले संकल्प गरेकाका लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिने पनि संस्थानले जनाएको छ। रासस

प्रकाशित: ५ फाल्गुन २०८२ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App