२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

महानवमीमा पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै

मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादसैँ) पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ (पोल्टा) भरिँदैछ। फूलपातीका दिनको सन्ध्या आरतीसँगै देवीको ‘खोइँछ’ भर्नेक्रम सुरु भएको हो। आआफ्नो भाकलअनुसार शक्तिपिठ, मन्दिर र प्रतिमास्थलमा ‘खोइँछ’ भर्न श्रद्धालुको भीड लागिरहेको छ।

आज नवरात्रको अन्तिम दिन महानवमीको दिन पनि देवीको ‘खोइँछ’ भर्न श्रद्धालु लामबद्ध छन्। यहाँ सोमबार महासप्तमीका दिन बनाइएका माटाका प्रतिमाको प्राणप्रतिष्ठा गरिएसँगै देवी दर्शनका लागि शक्तिपीठ खुला गरिएका छन्।

दर्शन खुला गरिएसँगै फूलपातीका दिनको सन्ध्या आरती सकेर ‘खोइँछ’ भर्न थालिएको हो। यो क्रम आज महानवमीको मध्यरातसम्म जारी रहनेछ। देवी दुर्गालाई विभिन्न समयमा गरिएको भाकलस्वरूप ‘खोइँछ’ भर्ने चलन बसेको मटिहानी–७ का बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानि विन्देश्वरीप्रसाद मण्डल बताउँछन्।

मैथिल बोलीचालीमा दशहरा भनिने यो पर्वको सप्तमी तिथिमा देवी शक्तिपिठ, मन्दिर र नवस्थापित प्रतिमास्थलमा फूलपाती राखिएसँगै देवी कालरात्रिको पूजाआराधना गरिएपछि ‘खोइँछ’ भर्ने क्रम थालिन्छ।

खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवीको सारीको अँचरा (पोल्टा) मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलपूmल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइँछ’ भर्ने भन्ने गरिन्छ।

हाल महोत्तरीको औरही नगरपालिका–७ स्थित सोनामाई देवी शक्तिपिठ, बर्दिवास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर, बर्दिवास–१ र १४ स्थित दुर्गामन्दिर, जलेश्वरस्थित सन्सारीमाई र राजदेवी मन्दिरमा ‘खोइँछ’ भर्न भीड लागेको छ।

‘खोइँछ’ मा पुरुष सहभागी हुन सक्ने भए पनि यो विधिमा भने महिला बढी सहभागी हुने गरेका छन्। मिथिलामा दसैँको सप्तमीदेखि नवमी तिथिभरि ‘खोइँछ’ भरिने परम्परा छ। मटिहानीस्थित दुर्गा मन्दिरमा स्थापित जिल्लाका देवी प्रतिमामा नेपाली मात्र नभई सीमापारी भारतको मधुवनी जिल्लाका भक्तहरू प्नि ‘खोइँछ’ भर्न लामबद्ध छन्। ‘खोइँछ’ भरिदा धनधान्य, आरोग्यसहित इच्छित मनोकामना पूरा हुने मैथिल जनविश्वास रहेको सोनामाईस्थानका पुजारी कामेश्वर झा बताउँछन्।

‘खोइँछ’ भरिनेक्रमसँगै  बडादसैंँ पर्वको महासप्तमी पर्वका दिनदेखि नै यी ठाउँ (देवीस्थल) मा बलि दिनेक्रम सुरु भएको छ। फूलपाती विधि सम्पन्न भएसँगै सप्तमीकै दिन सुरु हुने बलि आज नवमीमा पनि जारी छ।

जिल्लाको प्रसिद्ध सोनामाई देवी शक्तिपिठमा मधेशसका जिल्लाका साथै र छिमेकको भारतीय जिल्लाबाट हजारौँ भक्तजन दर्शन, पूजाआराधना र ‘खोइँछ’ भर्न पुगेका छन्।

प्रकाशित: १५ आश्विन २०८२ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App