गुरुङ समुदायको कुलघर ‘क्वोइयो’ निर्माण गर्ने उद्देश्यले तमू प्ये ल्हु संघले सांस्कृतिक कन्सर्ट आयोजना गर्ने भएको छ । संघले आज (मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी दिएको हो ।
आगामी वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर चितवनको क्याम्पाचौरमा साँझ ४ बजेदेखि राति १० बजेसम्म कन्सर्ट आयोजना गर्न लागिएका संघका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । सो दिन गुरुङ समुदायको संस्कार तथा संस्कृति विधान (फूतासो) दिवस समेत परेकाले कार्यक्रमलाई विशेष महत्वका साथ आयोजना गर्न लागिएको उनले बताए ।
कन्सर्टमा एक्सिस ब्याण्ड, लिल झोला ब्याण्ड, साथै एमूना गुरुङ र प्रविन गुरुङको प्रस्तुति रहनेछ । कार्यक्रममार्फत संकलित रकम कुलघर निर्माणमा खर्च गरिने उनले बताए । कार्यक्रमले गुरुङ समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
भरतपुर महानगरपालिका–४, यज्ञपुरीमा निर्माण हुन लागेको कुलघर ‘क्वोइयो’ को लागत करिब एक करोड रुपैयाँ अनुमान गरिएको छ । कन्सर्ट सम्पन्न गर्न करिब ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको संघले जनाएको छ । कार्यक्रमबाट करिब डेढ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
संघका अनुसार कुलघर निर्माणका लागि आवश्यक जग्गा खरिद गरिसकिएको छ र अब निर्माण कार्य अघि बढाइनेछ । निर्माण सम्पन्न भएपछि जिल्लाभरका गुरुङ समुदायले उक्त स्थानमा सामूहिक पूजा गर्न सक्नेछन् ।
प्रकाशित: २४ चैत्र २०८२ १६:४० मंगलबार





