प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो खानेकुरा दिएर मनाइँदैछ।
बिहान सूर्योदयमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रअनुसार आज आइतबार यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए।
यमराजले लोकको खबर कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान छ। कागले यमराजसमक्ष राम्रो खबर पुर्याओस् भनेर आज कागलाई पूजा र मीठो खाना दिएर खुसी पार्ने गरिन्छ। लोक व्यवहारमा काग घरमा आएर कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलन छ। काग घर वरपर कराएमा खबर लिएर आएको विश्वास गरिन्छ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आज कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश पुर्याउने विश्वास छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुन्छ। हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ। यहाँ कागको ठूलो मूर्ति छ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वास तिहारसँग जोडिएको छ। यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान शनिबार साँझदेखि सुरु भएको छ। यम दीपदान दक्षिण फर्काएर गर्ने शास्त्रीय विधि छ। यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने मान्यता छ।
यस वर्ष तिथिको घटबढले सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन यमपञ्चक शनिबार बेलुकादेखि सुरु भएको हो। लक्ष्मी स्थिर राख्न गरगहना र तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार मनाइएको छ। यस दिन गरगहना र भाँडाकुँडा किन्दा लक्ष्मी घरमै स्थिर रहने धार्मिक मान्यता छ। रासस
प्रकाशित: २ कार्तिक २०८२ ०६:२९ आइतबार





