२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

मिथिलाञ्चलमा गोधन कुट्ने पर्व मनाइँदै

मिथिलाञ्चलमा आज परम्परागत गोधन कुट्ने पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइँदैछ।

बिहानैदेखि गाउँगाउँका चौबाटा, गल्ली–टोल र घरआँगनमा महिलाको घुइँचो थियो। मिथिलानीहरूले उठेर गोबर र केराउको दाना ओखलमा कुट्दै गोधन कुट्ने परम्परा निभाइरहेका थिए।

लक्ष्मीनिया गाउँपालिका–३ का गोविन्द यादवका अनुसार प्रत्येक वर्ष भाइटीकाको भोलिपल्ट यो पर्व मनाउने परम्परा रहिआएको छ।

“महिलाहरू बिहानै गाई–भैँसीको गोबर, केराउ र माटो मिसाएर गोधन कुट्छन्। यो कृषिप्रधान जीवनशैलीप्रतिको कृतज्ञताको प्रतीक हो”, उनले भने।

अघिल्लो दिन राति मिथिलाका घरघरमा गाई–भैँसीको गोठमा गोबरबाट गोधन अर्थात् माता लक्ष्मी र भगवान् विष्णुको प्रतीकात्मक प्रतिमा बनाइन्छ। परम्पराअनुसार राति गाई–भैँसीले त्यो गोधन कुल्चेपछि बाँकी भागलाई बिहान केराउ मिसाएर कुट्ने चलन छ। यसरी कुटिएको मिश्रणलाई ‘गोधन कुट्ने’ भनिन्छ।

यसलाई धन, समृद्धि र उर्वरतासँग जोड्ने गरिएको पण्डित कुश्वेवर उपाध्यायले बताए।

गोधन कुट्ने पर्वको अर्को विशेषता पारिवारिक स्नेह र रमाइलोपन पनि हो। महिलाले बिहानै गोधन कुटेपछि दाजुभाइलाई केराउको दाना (बजरी) खुवाउँछन् भने भाइहरूले दिदीबहिनीलाई कोसेली वा दक्षिणा दिने चलन रहेको स्थानीय सोनिया यादवले बताए।

यसैगरी दिदीबहिनीले रमाइलो पारामा ‘बजरी खइहा भैया बजर होइहा, दहेज न दिहा दरिद्र होइहा’ लोककथन पनि दोहर्याउँछन्।

यसको अर्थ ‘केराउ खाएर बलियो बन, दान नदिए दरिद्र बन’ भन्ने प्रतीकात्मक सन्देश दिनु हो। गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो। यस पर्वले परिवारमा माया, स्नेह र एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ।

साँझपख गाउँका विभिन्न स्थानमा गीत, ठट्ठा र नाचगानसहित सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिन्छ। यसले मिथिला संस्कृतिको मौलिक सौन्दर्य झल्काउँछ।

प्रकाशित: ६ कार्तिक २०८२ १९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App