८ चैत्र २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

सामाजिक एकता, सहिष्णुता र समावेशी विकासमा मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक पर्वहरूले समाजमा आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्ने बताएका छन्।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–फित्र २०८२ का अवसरमा मुख्यमन्त्री आचार्यले आज दिएको शुभकामना सन्देशमा सामाजिक एकता, सहिष्णुता र समावेशी विकासलाई थप सुदृढ बनाउन सबैमा आह्वान पनि गरेका छन्।

उनले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका मूल्यलाई संस्थागत गरेको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक समाजबीच ‘विविधतामा एकता’को भावना अझ सुदृढ बन्दै गएको बताएका छन्।

मुख्यमन्त्री आचार्यले समावेशी विकास र समृद्धिका लागि सबै समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको स्पष्ट पारेका छन्। उनले ईद–उल–फित्रले त्याग, संयम, करुणा र सहअस्तित्वको सन्देश दिने उल्लेख गर्दै यस पर्वले समाजमा प्रेम, सहयोग र भाइचाराको संस्कार मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्री आचार्यले सन्देशमा लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति, परम्परा र पहिचानलाई समान सम्मान र संरक्षण गर्ने नीति अवलम्बन गर्दै आएको पनि स्पष्ट पारेका छन्। 

प्रकाशित: ७ चैत्र २०८२ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App