‘छठ मैयाँके दरबार सजल सत्कारमे ब्रतीनके पुकार हो रहल ...ब्रतीनके पुकार हो रहल।’ मधेसमा सिँगारिएका जलाशयहरूमा गुन्जिने यी र यस्तै मौलिक गीतले मनमोहक, रोमाञ्चक र मुग्ध बनाएको छठघाटमा सोमबार बर्तालुहरूको स्वागत गरिँदै छ। सोमबार छठ पूजाको मुख्य विधि अस्ताउँदो सूर्यलाई अर्घ दिएर ‘सौंझका अर्घ ’ मनाइँदै छ। छठ सूर्य उपासनाको पर्व हो। यो आस्था एवं अमर परम्पराको पर्व हो। घरको एक व्यक्ति व्रत बसे पनि परिवारका हरेक सदस्यले सहयोग गरी यो व्रतलाई धारण गरेका हुन्छन्। त्यसकारण यो केवल एउटा पर्व होइन, महापर्व हो।
यस पर्वमा प्रकृतिबाट प्राप्त हरेक वस्तु वा सामग्री सूर्यदेवलाई अर्घका रूपमा अर्पण गरिन्छ। करिब ७० प्रकारका पूजासामग्री प्रसादका रूपमा सूर्यदेवलाई अर्घ दिइन्छ। छठ कात्तिक मासको शुक्ल पक्षको चतुर्थी तिथिदेखि प्रारम्भ हुन्छ। चतुर्थी तिथिमा नहाय खायबाट यो पर्व प्रारम्भ हुन्छ। भौगोलिक, सांस्कृतिक, प्राकृतिक, आध्यात्मिक, वैज्ञानिक, धार्मिक हरेक कोणबाट छठ पर्वको महत्त्व जोडिएको पाइन्छ। यस पर्वमा पुजारी हुँदैन। बर्तालु स्वयंमा छठी मैयाँको वास हुने मान्यता छ। त्यसैले छठ घाटमा रहेका सबैले बर्तालु महिलाको पाउ छोएर आशीर्वाद लिने गरेको देख्न पाइन्छ।
छठको कथा
छठ पर्व मुख्यतया राजा प्रियव्रत र देवी षष्ठी (छठी मैयाँ) को कथासँग सम्बन्धित छ। किंवदन्तीअनुसार राजा प्रियव्रत धेरै वर्षसम्म निःसन्तान थिए, जसले गर्दा उनी र उनकी पत्नी मालिनीलाई ठुलो शोक भयो। सन्तान नहुनुको शोक कम गर्न उनले महर्षि कश्यपको नजिक गएर पुत्रएष्टी यज्ञ गरे। रानी मालिनीलाई बलिका रूपमा खिर चढाइएको थियो। जसको परिणामस्वरूप उनी गर्भवती भइन् । दुर्भाग्यवश उनको छोरो मृत जन्मियो।
यस शोकका कारण राजा प्रियव्रत आफ्नो छोरासँगै श्मशानमा आफ्नो प्राण त्याग गर्न लागेका थिए, तब भगवान् ब्रह्माकी मानसिक छोरी देवी देवसेना (जसलाई षष्ठी देवी वा छठी मैयाँ भनिन्छ) प्रकट भइन्। उनले राजालाई आफ्नो पूजा गर्न आग्रह गरिन्। किनभने उनी सृष्टिको मूल प्रकृतिको छैटौं तत्त्वबाट जन्मिएकी थिइन्। त्यसैले उनको नाम षष्ठी राखिएको थियो। देवीले राजा र सबै मानिसहरूलाई छठ पूजा गर्न प्रेरित गरिन्। राजाले षष्ठी देवीलाई पूजा गरे। त्यसको फलस्वरूप उनलाई पुत्र प्राप्त भयो।
छठ पूजासँग सम्बन्धित अन्य पौराणिक कथाहरू पनि छन्, विशेष गरी महाभारतको समयको कथा। भनिन्छ, छठ व्रतको परम्परा पाण्डवकी पत्नी द्रौपदीले आफ्नो परिवारका लागि कठिन समयमा सूर्यदेवको पूजा गर्दा सुरु भएको थियो। सूर्यपुत्र कर्ण पनि सूर्यदेवका एक महान् भक्त थिए, जो दिनभरि पानीमा उभिएर सूर्यलाई प्रार्थना गर्थे। रामायणका अनुसार भगवान् राम र माता सीताले लंका जितेपछि कार्तिक शुक्ल षष्ठीमा सूर्य देवको पूजा गरेका थिए।
छठ पूजा जीवनमा संयम, पवित्रता र आत्मसंयमको भावना जगाउने पर्वका रूपमा पनि स्थापित छ। सूर्य देवता र छठीमैयाँको पूजाद्वारा सबै मनोकामना पूरा हुने लोक मान्यता छ। यो पर्व बालबालिकाको सुख र समृद्धिका लागि विशेष रूपमा महत्त्वपूर्ण छ।
छठ पूजाको किंवदन्ती राजा प्रियव्रतको सन्तानको चाहना र देवी षष्ठीको आगमनसँग जोडिएको छ, जसले यस पर्वको महत्त्व र निरन्तरताको व्याख्या गर्छ। यसबाहेक यस पर्वको उत्सवलाई महाभारत र रामायणसँग जोडिएको छ।
समानताको पर्व
सूर्यको किरणले समान रूपमा आफ्नो प्रकाश छरिरहेको हुन्छ। सूर्यको किरणले कुनै धर्म देख्दैन, जात रोज्दैन, लिंग देख्दैन, समुदाय बुझ्दैन। जसरी सूर्यको किरण सबैका लागि समान हुन्छ त्यसरी नै छठ पर्व सबैका लागि समान र समावेशी हुन्छ। छठ पर्वमा सबै जलाशय सफा गरिन्छ। यसले प्रकृति र पर्यावरण संरक्षण र प्रवर्धनको निश्चल अभ्यास गर्छ। यो पर्व मौलिक उद्यमशीलताको प्रवर्धन पनि गर्छ। बाँसको सामग्री बनाउने, माटोको भाँडा बनाउने, कृषि उत्पादन गर्ने, सकर बनाउने लगायत वर्ग समुदायलाई यस पर्वले प्रवद्र्धन गर्छ।
यस पर्वको सुन्दर पक्ष समानता हो। जुनसुकै हैसियत र पृष्ठभूमिका व्यक्ति होस्, उनीहरू जलाशयको एउटै धरातलमा उभिएर अस्ताउँदो र उदाउँदो सूयदेवको पूजा गर्छन्। अर्को सुन्दर पक्ष पूजासामग्री सबै मौलिक कृषि उत्पादन हुन्छन्। पर्यावरण, प्रकृति, संस्कृति, उद्यमशीलता, समावेशी, समानता र मौलिक उत्पादनको प्रवर्धनको सन्तुलित अभ्यास गर्दै मनाइने महापर्व हो छठ।
शनिबार नहाय खाय गरी सुरु भएको छठ अनुष्ठानअन्तर्गत आइतबार ब्रर्तालुहरू खरना मनाउँदै छन्। राति खरनाको प्रसाद ग्रहणपछि ब्रर्तालुहरू मंगलबार बिहानसम्म निर्जल र निराहार व्रत बस्दै छन्। सोमबार अस्ताउँदो र मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ अनुष्ठान समापन हुनेछ।
मधेस–पहाड जोड्दै
पहाडी मूलका लहान नगरपालिका–१० का भूतनाथ उपाध्यायलाई थाहा भएदेखि नै उनको परिवारमा छठ पूजा मनाइँदै आएको छ। जान्नेबुझ्ने भएदेखि नै मातापिताले छठ पूजा गरेको देखेको उनी बताउँछन्। यो पर्वलाई उनको पछिल्लो पुस्ताले पनि निरन्तरता दिँदै आएको छ। सूर्यको उपासना गरिने यस पर्वलाई पहाडी समुदायका महिलाले पनि तराई–मधेस मूलका महिलासँगै सामूहिक रूपमा मनाउन थालेका छन्। यस पर्वले सांस्कृतिक सद्भाव कायम गर्ने पुलको काम गरेको छ।
बिहान उदाउँदो सूर्य र साँझमा अस्ताउँदो सूर्यलाई अर्घ चढाएर मनाइने यो पर्व पछिल्लो समय मधेसी र पहाडी समुदायका महिलाले बराबर मान्न थालेका छन्। ‘यो पर्व सामाजिक अन्तरघुलन र सद्भावको अनुपम नमुना हो। यसले सामाजिक मिलापलाई चौतर्फी फैलाउँदै छ। पहिला मिथिलावासीले मात्र मनाउने यस पर्वले अहिले पहाड–तराईको सम्बन्ध जोड्दै छ। गोलबजार नगरपालिकाका अर्जुन थपलियाको परिवारमा पनि यो पर्व मनाइन्छ। थपलिया भन्छन्, ‘छठ घाटमा मधेसी र पहाडी भन्ने भेद हुँदैन। सबै बराबर हुन्छन्। सबै मिलेर सूर्यको उपासना गर्छन्।’
सूर्य उपासनाको परम्परा
छठ पर्व कुनै समय प्राचीन मिथिला र भुजपुरा भूभागमा मात्र प्रचलित थियो। कालान्तरमा यो पर्व मैथिली र भोजपुरी भाषाभाषी सँगै देशदेशान्तरसम्म विस्तार हुँदै आयो। ‘छठ वास्तवमा सहरी मिथिलाको ग्रामीण पर्व हो। छठ पर्वमा धनी–गरिबबिचको फरक छुट्टिँदैन। छुवाछूत, जातीय वा लैंगिक विभेद पनि पाइँदैन। छठमा प्रसादका रूपमा चढाइने सामग्री ७० थरी पुर्याउनुपर्ने मान्यता छ। यस्ता सामग्रीमा मुला, गाजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन्। कुनै कारण ७० प्रकारका सामग्री पुर्याउन नसकिए गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ। गम्हरीलाई औषधीय गुणयुक्त वस्तु मानिन्छ।
यस वर्ष छठ पर्व मनाउने क्रममा शनिबार बर्तालुले नजिकैको पोखरी या नदीमा स्नान गरी अरुवा चामलको भात, रहरको दाल, तरकारी विशेषतः लौका पकाएर ग्रहण गरी ‘नहाय खाय’ गरे। पञ्चमीका दिन अर्थात् आइतबार बर्तालु दिनभरि उपवास बसी साँझ चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा सक्खर, दुध र अरुवा चामलको खिर पकाई केराको पातमा राखेर छठीमातालाई चढाए। छठीमातालाई चढाएपछि बर्तालुले ग्रहण गरी खराना मनाए।
कार्तिक शुक्ल षष्ठी (सोमबार) यो पर्वको प्रमुख दिन हो। यस दिनलाई ‘सँझिया घाट’ तथा ‘सौंझका अर्घ’ भनिन्छ। यो दिन बिहानैदेखि बर्तालुसहित परिवारका सबै सदस्य मिलेर चामलको पीठोमा सक्खर मिसाएर ठेकुवा, भुसुवा लगायत प्रसाद तयार पार्छन्। साँझपख ब्रतालुका साथै घरका सदस्य हातमा पूजासामग्री र बलिरहेको दियो बोकेर छठी घाट पुग्छन्। नदी, तालतलैया, पोखरी किनारमा छठी घाट बनाइन्छ। सजाइएको छठी घाटमा बर्तालु भक्तिभावका साथ उपस्थित भई अस्ताउँदो सूर्यको पूजा गर्छन्। मंगलबार बिहान उदाउँदो सूर्यलाई पूजा गरेपछि यो चार दिवसीय छठ महाअनुष्ठान समापन हुन्छ।
प्रकाशित: १० कार्तिक २०८२ ०६:२० सोमबार





