सूर्यदेव र छठी माताको आराधना गर्दै मनाइने छठ पर्व पछिल्लो समय तराई–मधेसको सीमाभन्दा बाहिर फैलिँदै गएको छ। कुनै समय विशेषगरी मिथिला र मधेस क्षेत्रमा सीमित रहेको यो पर्व अहिले काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रका विभिन्न सहर र बस्तीमा समेत मनाउन थालिएको छ।
धार्मिक आस्था, पारिवारिक सुख, सन्तानको दीर्घायु र समृद्धिको कामनासँग जोडिएको छठले पछिल्लो समय नेपालको साझा सांस्कृतिक पहिचानसमेत बनाउँदै लगेको यस वर्षको यो पर्व शुक्रबारदेखि सुरु भएको छ।
आस्था र शुद्धता अपनाइने छठ पारिवारिक र सामाजिक एकताको प्रतीक पनि हो। छठ पर्वमा परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुन्छन् र मिलेर छठी माईको प्रसाद निकै पवित्रता र शुद्धतासाथ बनाउने गर्छन्।
कसरी मनाइन्छ चार दिनसम्म छठ?
छठ पर्व कात्र्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ। यस वर्ष २०८३ कात्तिक २७ गते शुक्रबारदेखि छठ पर्व सुरु भएको छ।
पहिलो दिन, नहाय–खाय: यस दिन व्रतालुहरूले नदी, पोखरी वा जलाशयमा स्नान गरी घरको सरसफाइ गर्छन्। शुद्ध र सात्त्विक भोजन ग्रहण गरेर व्रतको सुरुआत गरिन्छ। यस दिनदेखि खानपान र व्यवहारमा विशेष शुद्धता अपनाइन्छ। यस दिन व्रतालुहरू बिहान र बेलुका गरी दुई छाक मात्र खान्छन्।
संस्कृतविद् याम रिजाल शास्त्रीका अनुसार विगतमा तराई–मधेशमा मात्र सीमित छठ पर्व पछिल्लो समयमा मधेशमूलका नागरिकहरू नेपालको जुन–जुन स्थानमा पुगेका छन्, त्यही स्थानका पोखरी, नदीकिनार वा जलाशय भएको ठाउँमा समूहमा बसेर मनाउन थालेका छन्। त्यसैले यो पर्व हाल राष्ट्रिय पर्वकै रूपमा प्रख्यात हुँदै गएको छ। ‘छठ पर्वमा परिवार, टोल, छिमेक र समुदाय मिलेर पूजाको तयारी गर्छन्। यसले सामाजिक एकताको पर्वका रूपमा छठलाई स्थापित गरेको छ,’ संस्कृतविद् रिजालले भने, ‘परिवारको सुख, समृद्धि, आरोग्य र भाग्य निर्माणको पर्वका रूपमा छठलाई हर्षोल्लासका साथ मनाउने गरिन्छ।’
उनले थपे, ‘हाल तराईमा मात्र होइन, पहाड र हिमाली भेगमा समेत छठ पूजा विस्तार भइरहेको छ।’ दोस्रो दिन, खरना पूजा: यस वर्षको खरना शनिबार अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिन परेको छ। दोस्रो दिन दिनभर उपवास बसेर साँझ पूजा गरिन्छ। चामल, दुध र सक्खरबाट खिर तयार गरी प्रसादका रूपमा ग्रहण गरिन्छ। परिवारका सदस्य तथा आफन्तलाई पनि प्रसाद वितरण गरिन्छ।
तेस्रो दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य : तेस्रो दिन छठको मुख्य पूजा गरिन्छ। व्रतालुहरू बाँसका ढाकी र नाङ्लोमा छठीमाईको प्रमुख प्रसाद ठकुवा, भुसुवा, केरा, उखु, नरिवल तथा विभिन्न फलफूल राखेर नदी, पोखरी वा जलाशयमा पुग्छन्। अस्ताउँदो सूर्यलाई जलमा उभिएर अघ्र्य दिइन्छ। राति नदीकिनारमै भजनकीर्तन गरी जाग्राम गर्ने गरिन्छ। चौथो दिन, उदाउँदो सूर्यलाई अघ्र्य: अन्तिम दिन बिहानै जलाशयमा पुगेर व्रतालुहरूले उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन्। त्यसपछि पूजा सम्पन्न गरी व्रतालुहरूले प्रसाद ग्रहण गरेर व्रत समापन गर्छन्। यस दिन बल्ल व्रतालुहरूले नुन भएको खाना खाने गर्छन्।
छठ पर्व नेपालमा कति ठाउँमा मनाइन्छ भन्ने यकिन राष्ट्रिय तथ्यांक भने उपलब्ध छैन। संस्कृति तथा पर्यटनसम्बन्धी सरकारी निकाय र स्थानीय तहबाट देशभरका छठ घाट तथा पूजा स्थलको एकीकृत अभिलेख सार्वजनिक भएको देखिँदैन।
विभिन्न स्थानमा हुने पूजा व्यवस्थापन र स्थानीय तहका विवरणले यसको विस्तार व्यापक हुँदै गएको गौरीघाँट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले जनाए। अध्यक्ष सिंहका अनुसार यस वर्ष काठमाडौं उपत्यकामा मात्रै १७ स्थानमा छठघाट निर्माण, सरसफाइ र व्यवस्थापन भइरहेको छ।
टंकेश्वरको विष्णुमती, गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट, कुपन्डोल, बल्खु, नख्खु नदीकिनार, तीनकुने दोभान, टंकेश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट र बालाजुको बाइसधारा लगायत स्थानमा छठ पूजा गर्ने तयारी गरिएको छ।
‘गौरीघाटमा मात्रै ५८० पूजा स्थल बनाइएको छ,’ अध्यक्ष सिंहले भने, ‘गौरीघाटमा पूजा व्यवस्थापनमा ३० लाख खर्च भएको छ। पशुपति क्षेत्र विकास कोषले तीन लाख सहयोग गरेको छ। बाँकी रकम भक्तजनहरूले नै दिनुहुन्छ।’
उनले थपे, ‘मनोकांक्षा पूरा गर्न मनाइने छठ पर्वमा परिवारका सबै सदस्यको साथ र सहयोग हुन्छ। पछिल्लो समय काठमाडौंमै छठ पूजाका सबै सामग्री पाइने र पूजा गर्न पनि नदी, तलाउ सरसफाइमा सरकार र स्थानीय तहको सहयोग रहेकोले काठमाडौंमै छठ हर्षोल्लासका साथ मनाउन थालिएको हो।’ उपत्यकाबाहिर परिवारसाथ जाँदा खर्च पनि बढी लाग्ने भएकाले उपत्यकामा छठ पर्व गर्नेहरू बढेको उनको ठहर छ।
किन मनाइन्छ छठ पर्व?
छठ पर्वको मुख्य उद्देश्य सूर्यदेव र षष्ठी देवी अर्थात् छठी माताको पूजा आराधना गर्नु हो। सूर्यलाई पृथ्वीमा जीवन, ऊर्जा र प्रकाश दिने शक्तिका रूपमा मानिन्छ। कृषि उत्पादन, वनस्पति, जलस्रोत र मानव जीवन सूर्यको ऊर्जामा निर्भर रहेकाले सूर्यप्रति कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा छठ मनाउने धार्मिक तथा सांस्कृतिक मान्यता छ।
छठमा विशेषगरी परिवारको सुख, शान्ति, समृद्धि, सन्तान प्राप्ति तथा सन्तानको दीर्घायुको कामना गरिन्छ। महिलासँगै पुरुषले पनि यो व्रत बस्ने परम्परा छ। मनोकामना पूरा हुने धार्मिक विश्वासका आधारमा भाकल गरेर छठ व्रत बसिन्छ भने केही व्रतालुहरू परिवारको सुख, समृद्धि र सन्तान तथा श्रीमान्को दीर्घायुका लागि व्रत बस्ने गरेको अध्यक्ष सिंहले बताए। ‘मेरो हजुरआमाले छठ गर्दै आउनुभएकोमा हाल मेरी श्रीमतीले १७ वर्षदेखि छठ व्रत बस्दै आउनुभएको छ,’ अध्यक्ष सिंहले नागरिकसँग भने, ‘हामी परिवारका सबै सदस्य मिलेर घरमा छठको प्रसाद ठेकुवा, पुरी, कसार लगायत परिकार बनाउन सहयोग गर्छौं।’
उनले थपे, ‘अनि साँझिया घाटमा सबै प्रसाद मिलाएर बाँसको दउरीमा राखेर गौरीघाट किनारमा बसेर सूर्यलाई अघ्र्य दिएर भजनकीर्तन गरी पूजा गर्छौं।’
छठ नेपाल र भारतमा मनाइने महत्त्वपूर्ण पर्व हो। विशेषगरी तराई क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने यो पर्व पछिल्लो समय देशव्यापी साझा सांस्कृतिक उत्सवका रूपमा विकास हुँदै गएको उनको भनाइ छ।
किन लोकप्रिय हुँदै छ छठ?
छठ पर्वको विस्तारमा बसाइँसराइको ठूलो भूमिका छ। तराई–मधेसबाट रोजगारी, व्यापार, अध्ययन तथा अन्य अवसरका लागि काठमाडौंलगायत विभिन्न सहरमा पुगेका परिवारले आफ्नो मौलिक धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन्।
अर्कातर्फ, छठमा जातीय तथा धार्मिक विभेदभन्दा सामूहिक सहभागिता र सामाजिक सद्भावलाई प्राथमिकता दिइन्छ। एउटै घाटमा विभिन्न जातजाति र समुदायका मानिस भेला भएर पूजा गर्ने भएकाले यसको सामाजिक महत्त्व पनि बढेको छ।
छठ पूजा व्यवस्थापनमा संलग्न व्यक्तिहरूका अनुसार पहिले मधेसको पर्वका रूपमा चिनिने छठ अहिले अन्य समुदायका मानिसले पनि श्रद्धापूर्वक मनाउन थालेका छन्। यसले नेपाली समाजमा सांस्कृतिक सहअस्तित्व र विविधताको उदाहरण प्रस्तुत गरेको छ।
हाल पालिकाहरूले तथा पशुपति क्षेत्र विकास कोषले समेत छठ पूजामा आर्थिक, सामाजिक र सुरक्षालगायतका सहयोग गरी छठ पूजा व्यवस्थापन गर्न सहकार्य गरेको अध्यक्ष सिंहले जनाए।
प्रकृतिको पूजा गर्ने पर्व, प्रदूषित नदीको चुनौती
छठ पर्वको अर्को महत्त्वपूर्ण पक्ष वातावरण संरक्षणसँग सम्बन्धित छ। सूर्य, जल र प्रकृतिलाई पूजा गर्ने यस पर्वमा स्वच्छ जलाशयको विशेष महत्त्व हुन्छ। तर नेपालका धेरै नदी र पोखरी प्रदूषण, ढल मिसावट तथा अतिक्रमणको समस्याबाट प्रभावित छन्।
विशेषगरी काठमाडौंको बागमती, विष्णुमती र मधेसको सिर्सिया नदीमा प्रदूषणको समस्या छ। छठका बेला मात्रै नदी तथा पोखरी सफाइ गर्ने प्रवृत्तिले दीर्घकालीन संरक्षणको आवश्यकता देखाएको छ। त्यसैले स्थानीय तहले छठ घाटको व्यवस्थापनलाई वर्षभरि सञ्चालन हुने सरसफाइ र संरक्षण कार्यक्रमसँग जोड्नुपर्ने देखिन्छ। पूजा सामग्रीका रूपमा प्रयोग हुने प्लास्टिक घटाउने र पर्वपछि फोहोर व्यवस्थापन गर्ने व्यवस्था पनि आवश्यक छ।
राष्ट्रिय सांस्कृतिक पहिचान बन्दै छठ
छठ पर्वको विस्तार धार्मिक गतिविधिमा मात्रै सीमित छैन। यसले विभिन्न भाषा, जाति, समुदाय र भौगोलिक क्षेत्रका मानिसलाई एउटै सांस्कृतिक गतिविधिमा जोडिरहेको छ। तराई–मधेसबाट सुरु भएको छठको परम्परा अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा फैलिँदै जानु नेपालको सांस्कृतिक विविधताको एउटा उदाहरण हो।
यद्यपि छठ मनाइने देशभरका स्थान, सहभागी व्रतालु, घाटको संख्या र आर्थिक कारोबारको यकिन तथ्यांक नहुँदा यसको राष्ट्रिय प्रभाव मापन गर्न कठिन छ। सरकारले स्थानीय तहसँग समन्वय गरी छठ पूजा स्थलको अभिलेख राख्ने, सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्ने र वातावरणमैत्री पर्वका रूपमा विकास गर्ने नीति लिनुपर्ने देखिन्छ।
छठ केवल सूर्यको पूजा गर्ने पर्व होइन, यो प्रकृतिप्रति कृतज्ञता, पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचान जोड्ने नेपाली समाजको साझा उत्सवका रूपमा विकसित हुँदै गएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जनाए। ‘कमलपोखरी, बालाजु बाइसधारामा सुरक्षाको व्यवस्था नगर प्रहरीले गर्छ। किनभने यी स्थानमा व्रतालुहरूले स्वीकृति लिएर पूजा गरिरहनुभएको छ,’ प्रवक्ता मानन्धरले भने, ‘विगतमा रानीपोखरीमा पनि छठ पूजा हुन्थ्यो। तर हालसम्म कसैले माग नगरेकाले यो वर्ष स्वीकृति दिएको छैन।’
उनले थपे, ‘रानीपोखरीमा छठ पूजाको माग आए महानगरले स्वीकृति दिनेछ।’ शुक्रबार तराई–मधेस तथा उपत्यकाका नदी, पोखरी र तलाउ किनारमा छठ पूजा समितिले घाट सजाउने काम गरिरहेका छन्।
प्रकाशित: २८ कार्तिक २०८३ ११:०४ शनिबार





