उपराष्ट्रपति रामसहायप्रसाद यादवले चौरचन र गणेश चौथी पर्वले मौलिक संस्कृति, धार्मिक चेतना र सामाजिक एकता सुदृढ पार्ने माध्यम भएको बताएका छन्।
चौरचन (चकचना) पर्व र गणेश चौथी, २०८२ को अवसरमा शुभकामना दिँदै उनले नेपालमा मनाइने विभिन्न पर्वले धार्मिक र सांस्कृतिक अनुष्ठानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने धारणा राखेका छन्।
तराई–मधेसका केही जिल्लामा भदौ शुक्ल चौथीको दिन सूर्यास्तपछि हिन्दू व्रतालुले मनाउने चौरचन (चकचना) पर्वमा धार्मिक विधिविधानअनुसार चन्द्र देवको पूजा उपासना गर्ने परम्परा छ।
मधेसको सांस्कृतिक पहिचान बोकेको यो पर्वमा पुरी, खीर, दही, मौसमअनुसारका फलफूललगायतका मौलिक प्रसाद चन्द्रदेवलाई अर्पणपछि सम्पूर्ण परिवार सामूहिक रूपमा प्रसाद ग्रहण गर्ने चलन छ।
प्रसादको रूपमा तयार पारिने मौलिक परिकारले खानपान संस्कृतिको विविधतालाई झल्काउँछ। यो पर्व मनाउँदा मानसिक शान्ति, चन्द्र दोषको निवारण तथा पारिवारिक समृद्धि हुने जनविश्वास रहिआएको छ। यो पर्वले स्थानीय परम्परा र सामूहिक आस्थालाई बलियो बनाउन पनि सघाउँछ।
गणेश चौथी (गणेश चतुर्थी) को नामले पनि लोकप्रिय यो पर्वमा भगवान् गणेशको आराधना गरिन्छ। जसले विघ्नहरण गरी जीवनमा शुभलाभ ल्याउने विश्वास गरिन्छ। यो पर्वमा भक्तजनले विघ्न नाश, कार्यसिद्धि र मानसिक शान्तिको कामना गर्दै गणेशको पूजा गर्छन्। गणेश चौथी केवल एक धार्मिक अनुष्ठान होइन, यो हाम्रो सामाजिक आत्मा, सांस्कृतिक पहिचान र सामूहिक चेतनाको उत्सव पनि हो।
उपराष्ट्रपति यादवले भनेका छन्, 'यो पर्वले परिवार र समाजमा आपसी भाइचारा, अपनत्व र प्रेमभाव अभिवृद्धि गर्न सघाउँछ, विविधतायुक्त सांस्कृतिक भएको नेपाली समाजमा मनाइने विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा रीतिरिवाजले एकता, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्छन्।'
उनले चाडपर्वको माध्यमबाट मत्तोमालिन्यताहटाउने, समभाव बढाउने र सद्भाव कायम गर्ने वातावरण सिर्जना हुने विश्वास पनि गरेका छन्। 'आधुनिक जीवनशैलीमा व्यस्त मानिसलाई धार्मिक ध्यान र आत्मचिन्तनको अवसर प्रदान गर्छ, यी चाडपर्वले हामीबिच विद्यमान सबै प्रकारका आपसी मत्तोमालिन्यताहटाई प्रेम, समता र सहिष्णुताको भावना जागृत गर्न उत्प्रेरित गरून् भन्ने कामना गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु,' उनले भनेका छन्।
प्रकाशित: १० भाद्र २०८२ ०८:०० मंगलबार





