४ चैत्र २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

श्रद्धा, आत्मीय प्रेमसहित तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानका रूपमा मनाइने भ्रातृ द्वितीया अर्थात् भरद्वितीया (भाइपूजा) पर्व आज हर्षोल्लासकासाथ मनाइँदैछ। विशेषगरी मैथिल र भोजपुरी समाजमा दाजुभाइ, दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको भरद्वितीया पर्व तराईवासीहरूको महान् चाड हो।  

यो पर्व दीर्घायु तथा सुख, समृद्धिको कामना गर्दै यस समाजका दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने गर्दछन्। धर्म, संस्कृति र चाडवाडका दृष्टिले समृद्ध मैथिल र भोजपुरी समाजमा मनाइने अनेक पर्वहरूमध्ये यस पर्वमा दाजुभाइ, दिदीबहिनीबीचको पवित्र, स्नेही, आत्मीय र निःस्वार्थ सम्बन्धलाई उजागर गर्दछ।

 हिन्दूहरूको महान् चाड तिहारको दुई दिनपछि अर्थात् कात्तिक शुक्ल पक्ष द्वितीयाका दिन मनाइने हुनाले यस पर्वलाई भर (भाइ) द्वितीया भनिएको हो। भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन्। अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा छ।  

सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले स्वर्गका राजा इन्द्रसँग युद्ध गर्न हिँड्नुअघि दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको छ। यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन छ।  

विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषणलगायत कोसेली लिएर जाने गर्छन्। यस पर्वका दिन दिदीबहिनीले दाजुभाइ आफ्नो घर आउँछ भनेर बाटो कुरेर बसेका हुन्छन्। यतिखेर मैथिल र भोजपुरी समाजका गाउँगाउँ र घरघरमा यस्तो गीत बजिरहेको जो कोहीले पनि सजिलै सुन्न सकिन्छ। दाजुभाइको निम्तोका लागि गीतबाट यस्तो भाव व्यक्त गर्दछन्–  

ए लई भरद्वितीया के पावन,

ए बई गाओ यौ भैया।

सबके बाट निहारत बहिन,  

गावे गाओ यौ भैया।।

अर्थात् भ्रातृ द्वितीया वा भरद्वितीयाको पर्व आउँदैछ, यो पर्व मनाउनका लागि दिदीबहिनीले आफ्ना दाजुभाइलाई  मेरो गाउँ आउनका लागि निम्तो दिन्छ, यो पर्व मनाउनका लागि दिदीबहिनीले दाजुभाइका लागि बाटो कुरेर बसेका छन्।

यस दिन मैथिल र भोजपुरी समाजको घरघरमा दिदीबहिनीले हर्षोल्लासका साथ आफ्ना दाजुभाइका लागि मीठोमीठो खानेकुराको परिकार बनाउने चलन छ। पर्वका दिन बिहानै नुहाइधुवाइ गरी घरको आँगनमा पिठारको (चामलको पीठो) अर्पणा बनाई त्यसमाथि सिन्दुर र अबिरले सजाएर राखिएको ठाउँमा काठको पीर्कामाथि दाजुभाइलाई बसाएर उनको निधारमा टीका लगाई दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दछन्।  

पूजाका क्रममा दाजुभाइले दुवै हात अञ्जली बनाएर बस्दछन्। त्यसमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिण्डोको फूल राखेर पवित्र जल हाल्दै धार्मिक विधिअनुरुप मन्त्रोउच्चारणसहित दाजुभाइलाई तीनचोटी पूजा गर्दछन्। पूजाका बेलामा दिदीबहिनीले यसरी मन्त्रोच्चारण गर्ने गर्छन्–

यमुना नेओतैत छथी यम के,

हम नेओतैत छी भाइके,

हमर भाइ कुम्हरक फूल,

बजरी खाय बज्र भके जीवे,

जेना गङ्गा यमुना धार बढ्य,

तहिना हमर भाइके औरदा बढय।

अर्थात्, जसरी यमुनाले आफ्नो भाइ यमराजलाई घर आउन निम्तो दिएछ, त्यसरी नै म पनि आफ्नो दाजुभाइलाई निम्तो दिएछु। मेरो दाजुभाइ कुभिण्डोको फूलजस्तै होस् (जो छिटो ओइलिँदैन), बजरी (एक प्रकारको कडा दाना) खाओस् र बज्र भएर बाँचोस् तथा जसरी गङ्गा यमुनाको धार निरन्तर बगिरहन्छ, त्यसरी नै मेरो दाजुभाइको आयु निरन्तर बढिरहोस् भन्ने हो।  

पूजा सम्पन्न भएपछि दाजुभाइले आफ्नो हैसियतअनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लत्ताकपडा अथवा रुपैयाँ पैसा दक्षिणास्वरुप दिने प्रचलन छ। त्यसपछि दिदीबहिनीले पकाएको मीठामीठा परिकार दाजुभाइले ग्रहण गर्छन्। दाजुभाइलाई खुवाएपछि मात्र दिदीबहिनीले पनि भोजन ग्रहण गर्छिन्।

पौराणिक कथा अनुसार सत्ययुगमा बहिनी यमुनाले दाजु यमराजलाई आफ्नो घर आउन निम्ता गरिन्। आफ्नो घर आएको दाजु यमराजलाई पूजाआजा गरी विभित्र प्रकारका खानेकुरा खुवाएर बहिनी यमुनाले सम्मान र सत्कार गरिन्। बहिनीको सम्मान र सत्कारबाट खुसी भई यमराजले बहिनी यमुनालाई वरदान माग्न भने। बहिनीको इच्छानुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छासिद्धि गर्न पाऊन् भनी यमराजले वरदान दिएकाले त्यसैबेलादेखि कार्तिक शुक्ल द्वितीयाका दिन भ्रातृद्वितीया गर्ने परम्परा बसेको धार्मिक विश्वास छ।

यमुनाले दाजु यमराजलाई भोजन गराएर यसै द्वितीयाका दिन वरदान प्राप्त गरेकीले यस पर्वलाई यमद्वितीया पनि भनिने गरिन्छ। भ्रातृ द्वितिया दाजुभाइ, दिदीबहिनीका लागि विशेष उत्सवको दिन हो। घरबाट टाढिएर बसेका दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्न भ्रातृ द्वितीयाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

प्रकाशित: ६ कार्तिक २०८२ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App