भक्तपुरको ऐतिहासिक एवम् प्रसिद्ध बिस्का जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ । जात्रालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क, इन्टरनेट सेवा प्रदायकबीच सोमबार छलफल कार्यक्रम सम्पन्न भयो ।
छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरका ठाउँठाउँमा छरपस्ट रहेका केबल नेटवर्कका तारहरु व्यवस्थित गर्नुपर्ने बताउँदै तार व्यवस्थापनको लागि सम्बन्धित सबै सरोकारवालाहरुको संयुक्त प्रयास आवश्यक भएको बताए ।
प्रत्येक वर्ष नयाँ वर्ष सुरु हुनुभन्दा चार दिन अगाडि र पछाडि गरी कुल आठ रात नौ दिन लामो यो जात्राको क्रममा भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ५५ हात लामो ल्यसिंद्य (लिंगो) उभ्याइन्छ । साथै भक्तपुर नगरपालिका वडा नं ५ न्यातापोल पाँचतलल्ले मन्दिर अगाडि काठैकाठको प्रयोगबाट प्यागोडा शैलीमा बनाइने तीनतल्ले करिव ३५ फिट अग्लो भैरबनाथको रथलाई तानेर भक्तपुर नगरको पूर्व थने र पश्चिम क्वनेमा लाने गरिन्छ । यो क्रममा छरपस्ट तारहरुले अवरोध गर्नसक्ने हुनसक्छ । यही कारण यस्ता तारहरुलाई जात्रा अगाडि नै व्यवस्थित पार्न छलफल गरिएको हो ।
छलफलमा नगर प्रमुख प्रजापतिले भक्तपुर ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको मौलिक नगर भएको बताउँदै भक्तपुरलाई सफा र सुन्दर नगरको रुपमा विकास गर्न नगरको मुख्य बजार क्षेत्रका पसलहरुमा छतहरुमा एकरुपता आउने गरी छत राख्ने कार्य भइरहेको जनाए ।
छलफलमा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगर क्षेत्रभित्र तारहरु निकै अस्तव्यस्त भएको जनगुनासो रहेको बताउँदै अनावश्यक रुपमा राखिएका केबल नेटवर्कहरुलाई यथाशक्य हटाउन आवश्यक भएको बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सहर सुन्दर बनाउन र अव्यवस्थित तारबाट हुनसक्ने सम्भावित दुर्घटना न्युनीकरणको लागि तारहरु व्यवस्थित गरिनुपर्ने बताए ।
बैठकले नजिकिँदै गरेको बिस्का जात्रालगायतका जात्राहरुमा विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क, इन्टरनेट सेवा प्रदायकहरुका तारहरुमा क्षति पुग्ने विषयलाई न्यनीकरण गर्न अनावश्यक तारहरु हटाउने र व्यवस्थित गर्ने कार्यको लागि भक्तपुर नगरपालिका श्यानिटेशन शाखा प्रमुख दीलिप सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी कार्य अघि बढाउने निर्णय गर्यो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क, इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्रकाशित: ९ चैत्र २०८२ १८:१६ सोमबार





