२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

भूत मेलाका लागि प्रख्यात भगवती सोनासतिमाई

महोत्तरी जिल्लाको औरही नगरपालिका-७ भोइल गाउँमा अवस्थित सोनासति महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात रहेको छ। सदरमुकाम जलेश्वरदेखि २३ किलोमिटर उत्तरमा रहेको यस मन्दिर मिथिला क्षेत्रकै भगवती मन्दिर तथा शक्तिपीठहरूमध्ये महत्त्वपूर्ण एवं चर्चित धार्मिकस्थलको रूपमा रहेको छ।

मन्दिरमा विशेषगरी भूतप्रेत, पिसाच, दुष्ट आत्मा तथा बोक्साबोक्सीहरूद्वारा सताइएका व्यक्तिहरूलाई झारफुक एवं तान्त्रिक विधिद्वारा निको हुने विश्वास गरिन्छ। सन्तान नभएकाहरूलाई सन्तान प्राप्त हुने, भाकल पूरा हुने विश्वास रहेको पुजारी कामेश्वर झाले बताए। यहाँ दैनिकजसो पूजापाठ, आराधना, दर्शन र बलि प्रदान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ

करिब पाँच सय वर्षअघि यस मन्दिर क्षेत्रमा घना जङ्गल थियो। जङ्गलमा गाईभैँसी लगायतका वस्तुभाउ चराउन जिल्लाको पश्चिमी तथा दक्षिणी भेगबाट मान्छेहरू आउँथे र रातिको बास जङ्गलमै बस्नुपर्दथ्यो। एकदिन वस्तुभाउ चरिरहेकै अवस्थामा पाँच भैँसी एकैसाथ हराएपछि चरवाहाहरूले भैँसी खोज्दै जाँदा हाल मन्दिर रहेको क्षेत्रमा पुग्दा सोनासति महारानी मानवको रूपमा प्रकट भई ‘भैसी आफूसँग रहेको बताए।

उनले ‘मलाई दैनिक पूजापाठ, साँझ बत्ती, आरती गरे मात्र भैँसी दिने नत्र नदिने’ भनेपछि चरवाहाहरूले सोही दिनदेखि त्यहाँ सोनासतिमाईको पूजापाठ आरती हुँदै आएको माताको तत्कालीन पुजारी माझी झाको भनाइ किम्वदन्तीको रूपमा रहेको पुजारी झगरु झाले बताए।

अर्को प्रसङ्गमा पुजारी माझी झाको मित्र माझी चौधरीका व्यक्ति बिनाकसुर वीरगञ्ज जेलमा परेपछि उनले जेलबाटै सोनासति महारानीको मन्दिर बनाइदिन्छु भनी भाकल गर्दा जेलबाट निस्केको कहानी समेत स्थानीयहरूको जनजिब्रोमा रहेको अर्का पुजारी घनश्याम झाको कथन छ।

मन्दिर निर्माण हुनुपूर्व यहाँ कहचरीया स्थान भन्ने एउटा धेरै पुरानो सिसौको रुखको टोड्कामा सोनासति महरानीको बास रहने गरेको स्व पुजारी राजेन्द्र झा (बन्ठु) को भनाइ थियो। केही वर्षपछि पुजारीले कहचरीया स्थानबाट मूर्ति ल्याई हाल मन्दिर रहेको स्थानमा माटोको घर बनाई दैनिक पूजापाठ गर्न थाले।

यसैबीच सोनामाईकै नाम सम्झिँदा जेलबाट मुक्त भएका माझी चौधरीले मातालाई गरेको पूर्ववाचाअनुसार मन्दिर बनाई दिएपछि त्यसमा माताको प्राणप्रतिष्ठा गराई पूजापाठ हुन थालेको स्थानीय राजनीतिकर्मी नरेन्द्र यादवले बताए।

धेरै वर्ष सोही मन्दिरमा पूजाआजा भयो र पुनः सो मन्दिर पनि पुरानो र जीर्ण भएपछि त्यसलाई भत्काई अहिलेको नयाँ मन्दिर बनेको छ र यसै मन्दिरमा माताको पूजा, पाठ, आरती दैनिक रूपमा भइरहेको छ। यस शक्तिपीठलाई देशकै नमूना शक्तिपीठ तथा धार्मिक एवं पर्यटकीयस्थलको रूपमा समेत विकास गर्न सकिने स्थानीयहरूको भनाइ छ।  

नेपालकै धार्मिक एवं ऐतिहासिक धरोहरहरूमध्येको यो मन्दिर पनि एउटा शक्तिपीठ हो। यहाँ विशेषगरी दसैँमा छिमेकी मुलुक भारतबाट हजारौं भक्तजनको पूजाआजा, दर्शन, भेटी र बलि चढाउनुका साथै भूत मेलामा सहभागी हुनका लागि घुइँचो लाग्ने गर्दछ। घटस्थापनादेखि विजयादशमीसम्म यस मन्दिरमा हर्षोल्लास र धुमधामका साथ विशेष पूजा आराधना गर्नुको साथै यहाँ ठूलो भूत मेला लाग्ने गर्दछ।

यस मन्दिरमा मनोकामना पूरा भएको भन्दै मानिसहरू पूर्व भाकल अनुसार लड्डु, मिठाई, बोका, परेवा, राँगा लगायतका पञ्चबलि चढाउन आउने गर्छन्। कतिले त सुनचाँदीका गरगहना, लत्ताकपडा, मुकुट, गेरुवा, चनमा आदि पनि चढाउँछन् भने कतिले विभिन्न आकारका घण्टीहरू समेत चढाउने गर्छन्।

पहिलापहिला प्रत्येक वर्ष वैशाखदेखि असोजसम्म छिमेकी गाउँहरूबाट चामल, धुप, अगरवती, फूल, पैसा सङ्कलन गरी महिला र पुरुषको समूह बनाएर माताको पूजा गर्न आउने चलन समेत रहेको स्थानीय राजनीतिकर्मी रामबाबु चौधरी बताए।

यस मन्दिर परिसरमा गणेश, राजदेवी, सरस्वती आदि देवीदेवताको मूर्तिको अतिरिक्त तपसी बाबाको धुनी समेत छ। यहाँ वर्षको ३६५ औँ दिन चौबिसै घण्टा आगो (धुनी) बलिरहन्छ।

यहाँ प्रत्येक वर्ष बडादसैंको अवसर पारेर ठूलो भूत मेला पनि लाग्ने गर्छ। दसैँको दश दिन यहाँ सोनासति महारानी साक्षात विराजमान रहने गरेको जनविश्वास रहेको अर्का पुजारी रमेश झाले बताए।

असोज शुक्ल प्रतिपदादेखि विजया दशमीसम्म यहाँ ठूलो मेला लाग्ने गर्छ। दसैँको पहिलो दिन अर्थात् घटस्थापनाको दिन बिहान ३/४ बजे पुजारीको घरबाट परम्परागत बाजागाजाको साथ सबै पुजारी सामेल भई ‘डाला’ (धुप, दीप, अक्षता, कलश, नैवेध, रातो कपडा, खर्ग आदि) मन्दिरमा लगिन्छ र घटस्थापना हुन्छ एवं जमरा राखिन्छ।

यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ। द्वितीयादेखि षष्ठीसम्म ठूलो सङ्ख्यामा भक्तजन आउने पूजापाठ गर्ने, दर्शन गर्ने, लडु, पेडा, मिठाई मातालाई चढाउने तथा बोका, परेवाको बलि दिने गरिन्छ। त्यसैगरी सप्तमीको दिन विभिन्न ठाउँबाट आएको फूलपाती मन्दिरमा भित्र्याउने चलन छ।

त्यस्तै नशा पूजा अष्टमीको दिन हुन्छ र सो दिन रातिमा धुप–दीप, नैवेद्य, फलफूल, चुरा, सुन, चाँदी आदिले भव्य पूजा भई मन्दिरभित्रै बोका बलि दिइन्छ। त्यस्तै राजदेवीलाई कुभिन्डोको बलि दिने तथा माताको जीउभरि घ्यू र सिन्दूर लगाई नयाँ कपडा लगाउने चलन छ। यस मन्दिरमा महानवमीको दिन सयभन्दा बढीको संख्यामा राँगाको बलि प्रदान हुन्छ।

 विजयादशमीको दिन पुनः माता सोनासतिको डाला मन्दिरबाट परम्परागत बाजागाजाको साथ पुजारीको घरमा लगेर विधिवत् तरिकाले सोनामाई मेलाको सम्पन्न हुन्छ। यसै दिन भोइल, टिमकिया, औरही, चेपकट, श्रीपुर, मेघनाथ गोरहन्ना आदि गाउँका वासिन्दाहरू खुशीले लड्डु, मिठाई, पेडा, खोवा, जिलेवी आदि चढाएर आपसमा प्रसाद बाँड्ने गर्दछन्।  

यस सोनामाई मन्दिरको विशेष आकर्षणको रूपमा यहाँ चौथीदेखि अष्टमीको दिनसम्म भूत मेला लाग्ने गदर्छ। चौथीदेखि अष्टमीसम्मको पाँच दिनसम्म करीब पाँच सयको सङ्ख्यामा आफूलाई भूतप्रेत, पिसाच, दुष्ट आत्मा र बोक्साबोक्सीद्वारा सताएको ठानिएका व्यक्तिहरू यस गाउँको चारैतिरको सीमा क्षेत्रमा प्रवेश गर्दा रुँदै, कराउँदै, दौडदै राजदेवीमाईको खुट्टानिर लड्ने गर्दछन्। मन्दिरका पुजारीहरुले ती व्यक्तिहरूलाई तन्त्रमन्त्रद्वारा बाँध्ने तथा भूतप्रेत तथा बोक्साबोक्सीबाट मुक्ति दिलाउने गरिएको स्थानीय प्रेमबाबु यदुवंशीले बताए।

- सञ्जीतकुमार मण्डल / रासस 

प्रकाशित: ८ आश्विन २०८२ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App