४ चैत्र २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

भाद्र शुक्ल अष्टमी: धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गर्दैछन्। धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ। आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष भदौ २४ गते बुधबारसम्म यो व्रत गरिन्छ। यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ। 

 प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एक पटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ। सोह्र दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अर्घ्य दिने गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ। यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको बास भई दुःख दारिद्रय नाश भई सुख, शान्ति मिल्ने धार्मिक विश्वास छ।

साक्षात् भगवान् शङ्करले यो व्रत विधि भगवती पार्वतीलाई बताउनुभएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले जानकारी दिए। यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुनेछ। 

देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्रसमेत रचना गर्नुभएको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ। बिहान, मध्याह्न र साँझसमेत तीनपटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख, वैभव प्राप्त गर्नुका साथै शत्रुसमेत नाश हुने उनले बताए। 

प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीनपटक विशेष रूपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ। आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि पूजा आराधना गरिन्छ। रासस

प्रकाशित: १५ भाद्र २०८२ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App