यो ताप्लेजुङको पाथीभरा दर्शनको उपर्युक्त समय हो । दर्शन गर्ने ‘पिक सिजन’ सुरु भएसँगै पाथीभरा मन्दिरका दर्शनार्थीको सहजतालाई ध्यानमा राख्दै पाथीभरा क्षेत्र विकास समितिसहितका सरोकारवाला निकायले सुरक्षित दर्शनको वातावरण बनाएका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशन प्रजिन हाङवाङले यातायात व्यवस्थापनदेखि दर्शनार्थीलाई सुरक्षित तवरले दर्शन गरी फर्कने सहजता प्रदान गर्न सरोकारवाला सबै निकाय गम्भिर र सर्तक रहेको बताए ।
काफ्लोपाटीसम्म पुग्ने यातायात मार्ग अहिले धमाधम स्तरोन्नतीको क्रममा रहेकोले पानी परेको समयमा ठाउँठाउँमा भइरहेको हिलाम्मे समस्याको अस्थायी समाधान गर्नेसम्मको काममा आफुहरू लागेको उनले बताए ।
दर्शनार्थीलाई पाथीभरा मन्दिर क्षेत्रका बारेमा जानकारीसहित उनीहरुको यात्रा सहजताका लागि तोक्मेडाँडा, नयाँ बसपार्क, सुकेटार, काफ्लेपाटी, ठूलो फेदी र मन्दिरसम्म नै यात्रु सहयाता कक्ष स्थापना गरिएको उनले बताए ।
यस्तै दर्शनार्थीलाई हुने स्वास्थ्य समस्यालाई दृष्टिगत गरी माथिल्लो फेदी र पाथीभरा मन्दिरतर्फको पदमार्गका विभिन्न स्थानमा हेल्थ डेस्क स्थापना गर्नेगरी प्रकृया अघि बढाईएको छ । यात्रुको चापलाई ध्यानमा राखि माथिल्लो फेदीमा मुख्य र त्यसभन्दा उभोंका क्षेत्रमा सहायक रुपले स्वास्थ्य सेवा प्रदान गर्ने हेल्थ डेस्क स्थापना गर्ने क्षेत्र विकास समितिको तयारी गरेको छ ।
सुरक्षित रुपले दर्शन गरी फर्कने व्यवस्था गर्न पाथीभरा मन्दिर क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीको सहयोग लिन आह्वान गरेको हाङवाङले बताए । दर्शनार्थीको चापका आधारमा लाइन लगाई व्यवस्थित रुपले पूजापाठको व्यवस्थापनका लागि मन्दिर क्षेत्रका कर्मचारीलाई तयारी हालतमा राखिएको समेत क्षेत्र विकास समितिले जनाएको छ ।
दर्शनार्थीको अत्यधिक चापका कारण दर्शनार्थी व्यवस्थापनमा मन्दिर क्षेत्रमा अहिले कार्यरत कर्मचारीले नभ्याए दर्शनार्थीको पिक सिजन अवधिसम्मका लागि स्वयंसेवक थप गर्ने क्षेत्र विकास समितिको योजना छ । पाथीभरा क्षेत्रमा रहेका होटल तथा आवास कक्षमा पुगेर बस्ने दर्शनार्थीलाई सहज रुपले आवाससहितको व्यवस्थाापन गर्न पाथीभरा क्षेत्रका होटल व्यवसायीसँग चरणबद्ध छलफल गरिएको उनले बताए ।
नवरात्रको समय सुरु भएसँगै पाथीभरामा दर्शनार्थीको उपस्थिति बाक्लो हुँदै जाने गरेको छ।
प्रकाशित: ८ आश्विन २०८२ १९:१२ बुधबार





