१० माघ २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

धार्मिक पर्यटकीय क्षेत्र ‘घुमारी घाट’ ओझेलमा

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र ‘घुमारी घाट’ ओझेलमा परेको छ। जिल्लाको बुलिङटार गाउँपालिका-६ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाटमा पूर्वाधार विकाससहित प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो।

कालिगण्डकी करिडोरसँगै जोडिएको घुमारी घाट प्राकृतिक रूपमा मनमोहक रहेको छ। कालीगण्डकी नदीले शङ्ख आकारको घाट बनाएको यो स्थानलाई कृष्णसँग जोडिएको धार्मिक कथाले भरिएको छ। घुमारी घाटमा द्वापर युगमा भगवान् कृष्णले कामधेनु गाई चराउँदै आउँदा गाईको दूध खाएको धार्मिक विश्वास छ। सो स्थानमा भगवान् कृष्णले दूध खाँदा बग्दै आएकी कालीनदी श्रीकृष्णलाई बचाउन घुमेर बगेको बताइन्छ।

कालीगण्डकी नदीले करिब ५ सय रोपनी क्षेत्रफलमा शङ्ख आकारको प्राकृतिक घेरा बनाएको छ। कालीगण्डकी नदी घुमेर बगेको प्राकृतिक रूपमा मनमोहक स्थान भए पनि घुमारी क्षेत्र ओझेलमा पर्दै आएको स्थानीय समाजसेवी डिबी गुरुङले बताए।

कालीगण्डकी नदी बग्दै आउँदा यति सुन्दर भएर घुमेको र धार्मिक मान्यतासँग समेत जोडिएको ठाउँ भए पनि यसको विकास र प्रवर्द्धनमा खासै कसैले चासो नदिएको उनले बताए।

घुमारी क्षेत्र पुग्ने बाटो स्तरोन्नतिको कामले समेत पूर्णता पाउन नसक्दा धेरै मान्छे उक्त स्थल नपुग्ने गरेको उनले बताए। “पहुँचमार्ग सहज हुने हो भने कालीगण्डकी करिडोर हुँदै यात्रा गर्ने जो कोही यसको अवलोकनका लागि आउँथे होला, बाटोको पनि असुविधा छ, पूरै बन्न सकेको छैन”, गुरुङले भने।

घुमारीको विकासका लागि केही वर्ष पहिले काम अघि बढेको भए पनि हाल अलपत्र जस्तै बन्न पुगेको छ। पाँच वर्ष पहिला निर्माण सुरु गरिएको राधाकृष्ण मन्दिर अहिले अलपत्र छ। मन्दिरले पूर्णता नपाउँदा बनेका संरचनासमेत जीर्ण बन्दै गएको छ।

 गण्डकी प्रदेश सरकार मार्फत २०७७ सालमा मन्दिरको संरचना निर्माण सुरु गरिएको थियो। पछिल्ला वर्षमा उक्त स्थानका लागि बजेट नपर्दा अलपत्र बनेको स्थानीय गुरुङको भनाइ छ।

सुरु गरिएको कार्यलाई पूर्णता दिनेगरी योजना नबनाउँदा घुमारीमा हाल रहेका संरचना थप जीर्ण भएर भग्नावशेषमा परिणत हुने चिन्ता छाएको छ। निर्माण सुरु गरिएको योजनालाई पूर्णता दिने साथै यसको प्रचारप्रसार र प्रवर्द्धनमा लाग्नुपर्ने उनले बताए।

पर्यटन तथा उद्योग कार्यालय नवलपुरका कार्यालय प्रमुख निर्मलराज बरालले जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा केही पूर्वाधार विकासका लागि बजेट र योजना भए पनि घुमारीका लागि चालु आवमा केही कार्य नभएको बताए।

जिल्लाको पर्यटकीय क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षको योजनामा समेत घुमारी कतैबाट सिफारिस नहुँदा सो स्थानमा काम गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ। 

प्रकाशित: १८ असार २०८२ १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App