७ असार २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

पाथीभरा क्षेत्रमा कुनै गतिविधि वा संरचना निर्माण गर्न अब पूर्वस्वीकृति लिनु पर्ने

पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्र भनी सीमाङ्कन भएको क्षेत्रमा पूर्व स्वीकृति वा समन्वय बिना कुनै कार्यक्रम गर्न वा संरचना निर्माण गर्न प्रतिबन्ध लगाएको छ ।  

क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए । हाङवाङका अनुसार पाथीभरा क्षेत्र भनी सीमाङ्कन भएको क्षेत्रभित्र व्यक्तिगत वा संस्थागत हिसावले कुनैपनि कार्यक्रम गर्नुपर्ने वा संरचना निर्माण गर्नुपर्ने भएमा पाथीभरा क्षेत्र विकास समितिको पूर्व स्वीकृति वा आवश्यक समन्वय गर्नुपर्ने छ । क्षेत्र विकास समितिले पूर्व स्वीकृति वा आवश्यक समन्वय बिना आफुखुसी गरे कानुन बमोजिम कारबाही हुने निर्णय समेत गरेको हाङवाङले जानकारी दिए ।  

पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०५३(पहिलो संशोधन २०७५) ले पाथीभरा क्षेत्रको सीमाङ्कन प्रष्ट्याको छ । जस अनुसार पूर्वमा सिरिजङ्गा गाउँपालिका वडा नं ३ को हर्कटेडाँडालाई भित्रपारी फुङलिङ नगरपालिकाको वडा नं ११ फावाखोलाको सिम्बुसम्मको सम्पूर्ण क्षेत्र,फक्ताङलुङ गाउँपालिकाको वडा नं ३ लिङखिम र वडा नं ५ तापेथोकको पाथीभरा मन्दिरबाट तीन किलोमिटर क्षेत्रको सम्पूर्ण क्षेत्रभित्रको सम्पूर्ण क्षेत्र पाथीभरा क्षेत्रकमा पर्ने छ ।  

उत्तरमा फक्ताङलुङ गाउँपालिकाको वडा नं ४ र सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ र वडा नं ६ को सिमाना क्षेत्रभित्रको सम्पूर्ण क्षेत्र तथा दक्षिणमा फुङलिङ नगरपालिकाको वडा नं १० को फुरुम्बु गढीडाँडा,वडा नं ९ को देउराली,वडा नं ६ को सुकेटार सानो पाथीभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथीभरा याङवरक गाउँपालिकाको वडा नं ३ को दुधिले पश्चिम फुङलिङ नगरपालिकाको सिमानाको सम्पूर्ण क्षेत्रलाई पाथीभरा क्षेत्र विकास समिति गठन आदेशले पाथीभरा क्षेत्र भनी निर्धारण गरेको छ ।  

कोशी प्रदेश सरकारको पर्यटन,वन तथा वातावरण मन्त्रालयले तयार पारेको गठन आदेशमा भनी पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०५३ ले तोकेको सीमा झैं पाथीभरा क्षेत्रको सीमाक्षेत्र तोकेको छ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा सहलगानी लिफ्टिङ खानेपानी आयोजनाको अवस्थाबारे खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामसंग प्राविधिक लगत इष्टिमेट,नापी किताव र कार्य सम्पन्न भएको भए कार्य सम्पन्न प्रतिबेदन समेत माग गर्ने निर्णय समेत गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङवाङले जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिमले पाथीभभरा क्षेत्रको अहिले निर्धारण भएको सीमाङ्कन अव्यवाहारिक रहेको भन्दै यसका बारेमा विज्ञटोलीद्धारा थप अनुसन्धान गरी पुनरावलोकन गर्न प्रस्थाव अघि सारेका छन् । क्षेत्र विकास समितिका अध्यक्ष थेबेका अनुसार सीमाङ्कन सम्वन्धमा उठेको बिषयलाई थप परार्मश गरी विज्ञटोलीमार्फत विस्तृत अध्ययन तथा सुझाव सिफारिसका लागि क्षेत्र विकास समितिले कार्यदल समेत बनाएको छ । कार्यदलमार्फत छलफल र आवश्यक प्रकृया अघि बढाउने तयारी भइरहेको कार्यकारी निर्देशक हाङवाङले बताए ।

प्रकाशित: २७ जेष्ठ २०८२ १६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App