३ असार २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

अनुमानित रकमभन्दा तीन करोड कम खर्चमा मन्दिर निर्माण

भक्तपुर नगरपालिका वडा नं ४ गहिटीस्थित एउटा ऐतिहासिक मन्दिरको पुननिर्माण झण्डै चार करोडमा सकिएको छ । मन्दिरको कुल लागत पुननिर्माण इष्टमेट रु. ७ करोड ७७ लाख रहेकोमा रु. ४ करोड ८३ लाख खर्चमा काम सम्पन्न भएको हो ।

मन्दिरको पुननिर्माण ठेक्काबाट नभई उपभोक्तासमितमार्फत गरिएको थियो । यही कारण उक्त मन्दिरका लागि २२ लाख ६६ हजारभन्दा बढी नगद सहयोगस्वरुप प्राप्त भएको थियो । साथै ७५० जनाभन्दा बढीले श्रमदान गरेका थिए । लाखौ रुपैयाँ बराबरको जिन्सी सहयोग प्राप्त भएको मन्दिर पुनःनिर्माण उपभोक्ता समितिले जनाएको छ ।

लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणसँगै टौमढी र गःहिटी क्षेत्रको आकर्षण थप बढेको छ । यो मन्दिर विश्वप्रसिद्ध न्यातापोल मन्दिर (पाँंचतल्ले मन्दिर) बाट एक सय मिटरको दुरीमा रहेको छ । भक्तपुरका धेरै मन्दिरहरुमध्ये यो एउटा ऐतिहासि पुरानो मन्दिर हो । १९९० सालको महाृभूकम्पले पूर्ण क्षति पु¥याएको लक्ष्मीनरसिंह मन्दिर भक्तपुर नगरपालिकाले पुनःनिर्माण गरेको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पपूर्वको भन्दा निकै फरक मल्लकालिन मौलिक स्वरूपमै मन्दिरको पुनःनिर्माण गरिएको मंगलबार भएको उदघाटन कार्यक्रममा बताए । लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रु. ७ करोड ७७ लाख लगत इस्टमेट पारित गरेकोमा उपभोक्ता समितिमार्फत रु. ४ करोड ८३ लाखमा पुनःनिर्माण सम्पन्न भएको नगर प्रमुख प्रजापतिले कार्यक्रममा जानकारी गराए । विदेशीको सहयोगविना नै २०७२ सालको भूकम्पपछि तहसनहस भएका सयौ सम्पदाहरू आफ्नै बलबुट्टामा पुनःनिर्माण र जीर्णोद्धार गर्न सफल हुनु भक्तपुरको गौरव बनेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरको महत्वपूर्ण सम्पदा संरक्षणमध्ये लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण पनि एक भएको बताए ।

उदघाटन समारोहमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले सम्पदा पुनःनिर्माणमा परम्परागत सीप, प्रविधि, स्वरुप र सामाग्री प्रयोग हुनु भक्तपुरको सराहनीय काम भएको बताउँदै सम्पदा पुनःनिर्माणसँगै सदियौंदेखिको हाम्रो पहिचान र परिचय पनि जोगिएको बताए । सो अवसरमा उनले २०७२ सालको भूकम्पपश्चात पुरातत्व विभागले ८१५ वटा सम्पदाहरु बनाइसकेको बताउँदै विभागले सम्पदा प्रभाव मूल्यांकन सम्पन्न गरेर मात्र सम्पदा पुनःनिर्माण कार्यलाई अगाडि बढाउँदै आएको बताए ।

लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण प्राविधिक समितिका संयोजक एवम् ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले मन्दिर पुनःनिर्माणका क्रममा स्थानीय कालिगडबाट नयाँ र परम्परागत ज्ञान हासिल गर्ने अवसर प्राप्त भएको सुनाए ।

लक्ष्मीनरसिंह मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँले मन्दिरको उद्घाटन तथा शिलापत्र अनावरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले मन्दिर पुनःनिर्माणका डकर्मी जगतराम न्हिसुतु र सिकर्मी नाइके बलराम शिल्पकारलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।

मन्दिर उद्घाटनपूर्व भक्तपुर दरबार क्षेत्रबाट भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सांस्कृतिक बाजागाजासहित क्वाछेँ, टोमढी हुँदै लक्ष्मीनरसिंह मन्दिरसम्म ¥याली भएको थियो । भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको अवसरमा लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन गरिएको हो ।

सोही समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित लक्ष्मीनरसिंह मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण संग्रहित लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण २०८२ पुस्तक र लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेका थिए । लक्ष्मीनरसिंह मन्दिरको शिलान्यास बि.सं. २०७८ मंसिर २७ गते नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले गरेका थिए ।

प्रकाशित: ६ जेष्ठ २०८२ १८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App