हरेक वर्ष वैशाख शुक्ल नवमीमा मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती आज सीताप्रति श्रद्धा र भक्तिपूर्वक पूजा गरेर मनाइँदै छ।
त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ गरेर खेत जोत्दा सीता उत्पत्ति भएको कथा रामायणसहित वैदिक दर्शनका ग्रन्थ र पुराणमा उल्लेख छ। ‘भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका छोरा श्रीरामको जन्म हुनुअघि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको विभिन्न ग्रन्थमा वर्णन छ,’ धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतमले बताए।
‘सीतालाई सत्यवती, पतिव्रता र आदर्श नारीका रूपमा सम्मान गरिन्छ। अयोध्याका राजकुमार रामसँग विवाह भएकी सीता पिताको आज्ञा पालना गर्न राम वनबास जाँदा साथ गएकी थिइन्। रावणले हरण गर्दा पनि उनले पतिव्रता धर्म नछोडेको कथा पुराणमा छ,’ गौतमले भने।
रावणमाथि विजय प्राप्त गरेर अयोध्या फर्केपछि लोकनिन्दाले राजा रामलाई काम गर्न असहज नहोस् भनेर सीताले महारानीको पद त्यागेर गर्भवती हुँदा पनि वनबास रोजिन्, जसले उनलाई आदर्श नारी बनाएको गौतमले बताए।
अयोध्या छोडे पनि सीता मन, वचन र कर्मले रामप्रति समर्पित रहिन्। आफ्ना छोरा लव र कुशलाई वाल्मीकि आश्रममा राखेर शिक्षादीक्षामा निपुण बनाई अयोध्यामा फर्काएर उनले सबै नारीको सम्मान बढाएको गौतम बताउँछन्। अयोध्यामा लव र कुशले रामायणको कथा र सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाए। प्रजाको मागमा ऋषि वाल्मीकिसहित सीतालाई दरबारमा बोलाइयो।
दरबार पुगेकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे, तर केहीले उनको पवित्रतामाथि प्रश्न उठाए। त्यसपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भन्दै आह्वान गरिन् र पृथ्वीभित्र लोप भइन्। प्रश्न उठाउने प्रजाले माफी मागे पनि उनी धर्तीको कोखमा लुप्त भएको प्रसङ्ग रामायणसहितका ग्रन्थमा छ। माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भइन्।
आज सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा गरेर यो पर्व मनाइँदै छ। जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजा र मेला लाग्छ। सीताको सांस्कृतिक, धार्मिक र प्राचीन ग्रन्थमा आधारित योगदानको स्मरण गर्दै सरकारले उनलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गरेको छ।
यस अवसरमा बत्तीसपुतलीको श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा, भक्तिसङ्गीत र प्रवचन कार्यक्रम हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा. गोविन्द टन्डनले बताए। गोकर्णेश्वर नगरपालिका–२ भूमिस्थलीको रामजानकी मन्दिरमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ। रासस
प्रकाशित: २३ वैशाख २०८२ ०६:२२ मंगलबार





