राजा मानदेवले सुरु गरेको कान्तिभैरव जात्रा शनिबार मध्यरातदेखि गोकर्णेश्वरमा सुरु भएको छ। वैशाख कृष्ण चतुर्दशीमा स्थानीयले घर-आँगन सरसफाइ गरेपछि मध्यरातमा यो जात्रा सुरु हुने परम्परा छ।
जात्रा अक्षय तृतीयासम्म चल्छ। वैशाख कृष्ण आमावास्यामा स्थानीय डबलीमा आमा-छोरी र सासू-बुहारी सहभागी भएर सिन्दूर जात्रा हेर्ने जनविश्वास छ। यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भनिन्छ। गोकर्णेश्वरका पूर्वउपाध्यक्ष राधाकृष्ण श्रेष्ठ भन्छन्, ‘यो दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा र भक्ति देखाएर मीठो खाना खुवाउने दिन हो, त्यसैले कान्तिभैरव जात्रालाई आमाप्रतिको सम्मानको रूपमा लिन्छौँ।’
ऐतिहासिक परम्परामा आधारित जात्रा
जात्रामा भैरव, कुमारी र गणेशका मूर्तिलाई सजाइएको तीनतले रथमा राखेर पूजा गरिन्छ। त्यसपछि बाजागाजा, गीतसङ्गीत र नृत्यसहित टोल परिक्रमा गराइन्छ।
चतुर्दशीमा बिहान गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढकीमा राखेर गुप्तिगणेशमा पुर्याउँछन्। स्थानीयले दिनभर गुप्तिगणेशको पूजा गर्छन्। साँझ गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथमा राखेर गोकर्णेश्वरको पुरानो बस्ती ‘गोकर्ण देशे’को बीचमा बिसाइन्छ। गुठियारका अनुसार, गोकर्ण देशेस्थित भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ। मूर्तिलाई थकालीले बलि चढाएर पूजा गर्छन्।
स्वर्णमय झण्डा र गजुरसहितको सिंहासनलाई तीनपटक मन्दिर परिक्रमा गराइन्छ। सजाइएको तीनतले रथमा भैरवको मूर्ति राखेर गोकर्णेश्वरका टोलमा घुमाइन्छ। भातको देवता, जसलाई भाते द्यौता भनिन्छ, कान्ति भैरवको सौगात मानिन्छ। तीन स्थानमा व्रत बसेका तीन गुठियारले एक-एक पाथी भातबाट भाते द्यौता बनाउँछन्। पाकेको भातलाई झिकेर थकालीले भातको मूर्ति बनाउँछन्।
यो मूर्तिलाई दुई जनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजान्छन्। मन्दिरमा भातको देवता लिन रथसहित सरिहहरू पुग्छन्। रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकेर जात्रा उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्छ। बाजा बजाउने, रथ तान्ने, चिराग, सुकुन्दा र भातको देवता बोक्ने गुठियारहरू सहभागी हुन्छन्। यो परम्परालाई लामो समयदेखि हेर्दै आएकी स्थानीय सङ्गीता श्रेष्ठले बताइन्।
आमाको मुख हेर्ने परम्परा
आमाको मुख हेर्ने दिन कान्तिभैरवको रथ भैरवी मन्दिरमा पु¥याउँदा भैरव आमालाई भेट्न आएको मानिन्छ। यो लिच्छविकालदेखिको धार्मिक विश्वास रहेको त्रिभुवन विश्वविद्यालयका शोधकर्ता वटुराम भण्डारी बताउँछन्। रथ बिसाएपछि कर्माचार्य पुजारीले बलिसहित पूजा गरेर सिन्दूर जात्रा र रथ उठाउने परम्परा छ।
रथलाई महतटोल, किसिगाल, भैरवचौर, तालिञ्चोक, चौतारा र नयाँपाटीमा बलिसहित पूजा गरिन्छ। सिन्दूरजात्रा गर्दै रथलाई राजा मानदेवले स्थापना गरेको गोकर्णदेशेमा राखिन्छ।
औँसीको साँझ डबलीमा गणेश, कुमारी र बीचमा भैरवको रथ बिसाएपछि आमाको मुख हेर्ने दिनको जात्रा समाप्त हुन्छ। वैशाख शुक्ल प्रतिपदामा केपूजा गरेपछि रथ उठाइन्छ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा प्रतिपदाको मध्याह्न सिङ्गो बाँसमा पाँचथरी कपडाका ध्वजा बाँधेर बाजागाजासहित भैरवको तान्त्रिक पूजा र बलि चढाइन्छ। ध्वजासहितको बाँसको टुप्पाले रथको गजुरमा जुधाएर रथ उठाई डठुलाछीमा लगिन्छ। यो दिन गोकर्णेश्वरका १० गाउँका मानिसले पूजा गर्छन्। वैशाख शुक्ल द्वितीया र तृतीयामा रथलाई विभिन्न क्षेत्रमा घुमाइन्छ। अक्षय तृतीयाको साँझ भैरवलाई मन्दिरमा प्रवेश गराएपछि पाँचदिने जात्रा सम्पन्न हुन्छ।
गुठी र खर्च व्यवस्थापन
जात्राका लागि राजा मानदेवको समयदेखि गुठीको व्यवस्था थियो। हाल गुठी मासिएपछि पशुपति क्षेत्र विकास कोषको पशुपतिनाथ अमालकोट कचहरी र गोकर्णेश्वर नगरपालिकाले खर्च व्यहोर्छन्।
कान्तिपुरको नामकरण
यो जात्राबाटै कान्तिपुर नगरको नामकरण भएको विश्वास छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मिलनरत्न शाक्यको पुस्तकमा कान्तिभैरवकै नामबाट कान्तिपुर नामकरण भएको उल्लेख छ। पूर्णप्रसाद मिश्र/रासस
प्रकाशित: १४ वैशाख २०८२ १२:१२ आइतबार





