२० श्रावण २०८३ बुधबार
image/svg+xml
कर्पोरेट

नेपाल फास्टेस्ट बलर सिजन–३ सम्पन्न, अभिषेकले बनाए १३३ किमि प्रतिघण्टाको नयाँ रेकर्ड

वर्ल्डलिंक कम्युनिकेशन्सले आयोजना गरेको ‘नेपाल फास्टेस्ट बलर’ प्रतियोगिताको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। नेपालभरका तीव्र गतिका बलरहरूको खोजी तथा उनीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगिता करिब दुई महिनासम्म देशका २३ वटा सहरमा सञ्चालन गरिएको थियो।

प्रतियोगितामा देशभरबाट करिब २ हजार ५ सय बलरहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। यस वर्षको प्रतियोगितामा अभिषेक कोइरालाले १३३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै प्रतियोगिताको इतिहासमै सबैभन्दा तीव्र बलिङको नयाँ कीर्तिमान कायम गरेका छन्।

यसअघि पहिलो संस्करणमा प्रदीप जैसवालले १२५ किलोमिटर प्रतिघण्टा तथा दोस्रो संस्करणमा हिक्मत महराले १३० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै उपाधि जितेका थिए। यस संस्करणमा वीरबहादुर घर्तीले समेत १३० किलोमिटर प्रतिघण्टाको गति पार गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।

प्रतियोगितामा विभिन्न उमेर समूह र स्तरलाई समेटेर चार विधामा प्रतिस्पर्धा गराइएको थियो। कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल तथा टी–२० अन्तर्राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको विशेष उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय क्रिकेट प्रस्तोता एन्ड्रयु लियोनार्डले गरेका थिए। उनले प्रतियोगिताका क्रममा विभिन्न सहरमा पुगेर सहभागीहरूसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरेका थिए।

प्रतियोगिताका विजेता अभिषेक कोइरालाले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रथम उपविजेता तथा ‘प्रमिसिङ ट्यालेन्ट’ घोषित वीरबहादुर घर्तीले ५० हजार रुपैयाँ तथा दोस्रो उपविजेता राजेन्द्र बमले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

यसका साथै विजेता अभिषेक कोइराला र प्रमिसिङ ट्यालेन्ट वीरबहादुर घर्तीले आगामी जुलाई महिनामा भारतस्थित जस्ट क्रिकेट एकेडेमीमा तीन महिनाको विशेष प्रशिक्षण अवसर प्राप्त गरेका छन्। प्रशिक्षण अवधिमा उनीहरूले आधुनिक क्रिकेट प्रशिक्षण, बायोमेकानिक्स, स्किल डेभलपमेन्ट लगायतका क्षेत्रमा विशेषज्ञहरूसँग काम गर्ने अवसर पाउनेछन्।

गत वर्षका विजेता हिक्मत महराले सोही प्रशिक्षण कार्यक्रम पूरा गरेपछि आफ्नो बलिङ गति उल्लेखनीय रूपमा सुधार गर्दै हाल १४४ किलोमिटर प्रतिघण्टासम्म बलिङ गर्न सफल भएका छन्। उनी अहिले नेपाली घरेलु क्रिकेटमा सुदूरपश्चिम प्रदेशबाट प्रतिस्पर्धात्मक क्रिकेट खेलिरहेका छन्।

प्रतियोगिताका प्रमुख प्रायोजक तथा क्रिकेट कनेक्टिभिटी साझेदार वर्ल्डलिंक कम्युनिकेशन्सले नेपाली क्रिकेटमा लुकेर रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान, विकास र प्रोत्साहनका लागि निरन्तर योगदान दिँदै आएको जनाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) तथा विभिन्न जिल्ला क्रिकेट संघहरूको सहकार्यमा सञ्चालन हुँदै आएको यो कार्यक्रम अहिले तेस्रो वर्षमा प्रवेश गरेको छ। आयोजक वर्ल्डलिंकले भविष्यमा पनि नेपाली क्रिकेटका प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने तथा उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: १८ असार २०८३ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App