सरकारले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रूपमा एनसेललाई सम्मान गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को कार्यक्रममा एनसेललाई यो सम्मान प्रदान गरिएको हो।
हरेक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ का रूपमा मनाइन्छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरेका हुन्।
आर्थिक वर्ष २०८०/८१ मा आईसीटी क्षेत्रबाट सबैभन्दा बढी कर तिरेर राष्ट्रको विकासमा योगदान गरेको भन्दै एनसेललाई यो सम्मान दिइएको हो। एनसेल लामो समयदेखि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा स्थापित छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने, ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को यो अवसरमा आईसीटी क्षेत्रमा हाम्रो योगदानको कदर गर्दै सरकारबाट सम्मान पाउनु हाम्रा लागि खुसीको कुरा हो। धेरै कर तिर्ने करदातामध्ये एकको रूपमा एनसेलले हरेक वर्ष विभिन्न कर र शुल्कमार्फत सरकारलाई योगदान दिँदै आएको छ। देशको आईसीटी विकास र आर्थिक वृद्धिमा योगदान गर्न पाउँदा हामी गर्व गर्छौं। हाम्रो थिम “हामी तपाईंकै लागि” अनुसार डिजिटल नेपालको भिजनअनुरूप डिजिटल भविष्यका लागि काम गर्न हामी प्रतिबद्ध छौं।’
यसअघि पनि एनसेलले सर्वोत्कृष्ट करदाता र आयकरदाता जस्ता सम्मान पाइसकेको छ। गत पुसमा ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिरेको भन्दै एनसेललाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको थियो।
स्थापनाकालदेखि आर्थिक वर्ष २०८०/८१ सम्म एनसेलले विभिन्न कर र शुल्कमा ३ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी सरकारलाई बुझाएको छ। गत वर्ष मात्र कम्पनीले २० अर्ब ३० ३० करोड रुपैयाँ कर र शुल्क तिरेको थियो। साथै, एनसेल फाउन्डेसनमार्फत सामाजिक जिम्मेवारीका कार्यक्रम सञ्चालन गर्दै कम्पनीले सातै प्रदेशका समुदायमा पुगेर १ करोड ३० लाखभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुर्याएको छ। सीएसआरअन्तर्गत २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरेको एनसेलले जनाएको छ।
प्रकाशित: १९ वैशाख २०८२ १८:५१ शुक्रबार