ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।
यही पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ ।
उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
बैंकले सबै प्रदेशहरुमा यही पुस महिनामा उक्त शिविर संचालन गर्ने तयारी गरेको छ । जस अन्तर्गत बैंकले बागमती प्रदेशमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ११ सरस्वती टोल हलमा पौष १८ गते बिहीबार, मधेश प्रदेशमा बाराको कलैया उपमहानगरपालिका वडा नं. १, राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा पर्वतको मोदी गाँउपालिका वडा नं. १ भुक स्वास्थ्य चौकीमा पौष २० गते शनिबार, कोशी प्रदेशमा मोरङको विराटनगर महानगरपालिका वडा नं. १२, स्थित आधारभुत स्वास्थ्य चौकी, बर्खी टोलमा पौष २१ गते सोमबार सञ्चालन हुनेछ ।
यस्तै लुम्बिनी प्रदेशमा रुपन्देहीको शैनामैना नगरपालिका वडा नं. ११ स्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पौष २३ गते बुधबार, कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं. २ स्थित दौलाटपुर स्वास्थ्य चौकीमा पौष २६ गते शनिबार र सुदूरपश्चिम प्रदेशमा कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ स्थित स्याउले आधारभुत स्वास्थ्य चौकीमा पौष २८ गते सोमबार निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारी रहेको छ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध सहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

प्रकाशित: १६ पुस २०८१ १९:२५ मंगलबार