३० मंसिर २०८१ आइतबार
image/svg+xml
कर्पोरेट

ज्योति समूह फुट्यो, पद्म ज्योतिको नेतृत्वमा नयाँ समूह घोषणा

ज्योति समूहबाट पद्म ज्योति समूह अलग भएको छ ।   

ज्योति समूहबाट आफ्ना सम्पूर्ण कम्पनीहरू सञ्चालन गर्दै आएका पद्म ज्योतिले आइतबार पद्म ज्योति समूह घोषणा गरेका हुन्। पद्म ज्योतिले आफ्नो समूहको लोगो सार्वजनिक गर्दै नयाँ औद्योगिक समूह सञ्चालनमा आएको घोषणा पनि गरे ।  

घोषणापछि विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात भएको दाबी गर्दै उक्त समूहले धेरै बाधा र चुनौतीहरू पार गरेता पनि आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

ज्योति समूहबाट पद्मज्योति समूहमा भएको परिवर्तनले प्रगति, अनुकूलनता र नयाँ अवसरहरूको खोजीमा प्रतिबद्ध रहेको देखाउने उनको भनाइ छ । नयाँ घोषणासँगै पद्मा ज्योति समूहले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरू सँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू ल्याएको जनाएको छ । 

आइतबार एक विज्ञप्ति निकालेर पद्मज्योति समूहले भनेको छ, 'हामी अगाडि बढिरहँदा, विकास र सृजनशीलताको लागि नयाँ अवसरहरू खोज्दै हाम्रा ग्राहकहरूले अपेक्षा गर्नु भएको उच्चगुणस्तर कायम राख्न प्रतिबद्ध छौं । हाम्रा दूरदर्शी लिडरहरू पद्म ज्योति, सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुह्रिद ज्योति र आरती ज्योतिको मार्गदर्शनमा हामी यो नयाँ अध्याय सुरु गर्न पाउँदा निकै उत्साहित छौं।' 

समूहको अध्यक्षमा पद्म ज्योति छन् भने मीरा ज्योति संस्थापक सदस्य तथा सौरभ, सुहृद, सिर्जना र आरती ज्योति निर्देशक रहेका छन्। यसअघि मुख्य सदस्य रहेका पद्म ज्योति र रूप ज्योतिबीच लामो समयदेखि विवाद रहँदै आएको थियो । उनीहरूले बुवा मणिहर्ष ज्योतिले सन् १९४० मा स्थापना गरेको ज्योति समूहबाटै संयुक्तरुपमा कारोबार सञ्चालन गर्दै आएका थिए ।  

नयाँ समूह घोषणा गर्दै अध्यक्ष पद्म ज्योतिले बावुले खोलेको समूहलाई नै आफूले निरन्तरता दिएको दाबी गर्दै सोही विरासतलाई कायम राख्न नयाँ अध्याय सुरू गरेको बताए । 

प्रकाशित: ३० मंसिर २०८१ १८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App