पोखरामा चैत दोस्रो सातादेखि 'वाडा अटो शो' हुने भएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन (वाडा)को आयोजनामा यहि चैत ११ गतेदेखि १५ गतेसम्म पोखरामा ‘दोस्रो वडा अटो सो’ हुने सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । नाडा अटोमोवाइल एशोसियसन अफ नेपालको प्रस्तुतीमा हुने वाडा अटो सो पर्यटकीय केन्द्र पोखराको लेकसाइडस्थित तालबाराही चोक स्थित खेल मैदानमा हुने वाडाका अध्यक्ष दीपेन्द्र कोईरालाले जानकारी दिए ।
वाडा अटो शो मा २० वटा स्टलहरु रहने आयोजकले जनाएको छ । जहाँ १६ ब्राण्डका चार पाङग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एसेसरिजहरुका स्टल रहने अध्यक्ष कोइरालाले बताए । उनका अनुसार अटो सो एम्पेयर, एथर, अक्वेल, बिवाईडी, चेरी, वान्डा, चेतक, दीपाल, डोन्फेङ, फर्थिङ, ग्यारो, हुण्डाई, कामा, किया, लिप मोटर, म्याक्सस, एसएमएल ईसुजु, सुजुकी, टाटा, टिभिएस, एक्सप्रेस–टी, यामाहा, जोन्टेसलगायतका प्रख्यात ब्राण्डका सवारीहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।
अटो सो को अवसरमा कम्पनीहरुले विशेष छुट दिने जनाइएको छ । अटो सो मा प्रत्येक कम्पनीले ५० हजारदेखि एक लाखसम्म छुट दिने वाडाका महासचिव विनय थापाले जानकारी दिए । ‘त्यसबाहेक अन्य एसेसरिज, वीमालगायत पनि छुट दिइनेछ’–उनले भने ।
अटो सोको अवसरमा भिन्टेज कार प्रदर्शनीमा राखिने जनाइएको छ । बतास ब्रदर्सका सञ्चालक आनन्दराज बतासको विशेष सहयोगमा ४० वर्ष पुराना करीब १० वटा गाडीहरु प्रदर्शनीमा राखिने अध्यक्ष कोइरालाले बताए । त्यसबाहेक रोवोट प्रदर्शनीलगायत पनि अटो सो को आकर्षणका रुपमा रहने उनको भनाई छ । ‘अत्याधुनिक प्रविधि विकास एवम् नवप्रवर्तनसँग आम सर्वसाधारणलाई साक्षात्कार गराउनका लागि रोबोटहरु पनि प्रर्दशनमा राखिनेछ’–उनले भने । उनका अनुसार युनी ट्री जि वान ह्युमानोइड रोबोट, युनीट्री गो टु, चंखे जस्ता आकर्षक रोबोटहरु प्रर्दशनमा राखिनेछ ।
अटो व्यवसायीलाई एउटै छाना मुनि भेला गराई सहज व्यवसायीक वातावरण निर्माण गर्दै आन्तरिक पर्यटनमा टेवा पुर्याउन अटो शोको उद्देश्यले अटो सो आयोजना गरिएको वाडाका बरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले जानकारी दिए । वाडा अटो सोपछि अटोमोवाइल क्षेत्रको बिक्री बढ्ने अपेक्षा गरिएको उनले बताए ।
५ दिनसम्म चल्ने अटो शोमा ४५ हजार मानिसहरुले अवलोकन गर्ने वाडाका उपाध्यक्ष निरन केसीले बताए । वाडा अटो सो मा प्रवेशका लागि एक सय रुपैयाँको टिकट काट्नुपर्नेछ भने विद्यार्थीलाई ५० प्रतिशत सहुलियत छुट दिईने उनले बताए ।
पछिल्लो समय अटोमोवाइल क्षेत्रमा डिजेल, पेट्रोलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको बिक्री बढी हुने गरेको उपाध्यक्ष केसीले जानकारी दिए । उनका अनुसार झण्डै ७५ प्रतिशत विद्युतीय सवारी साधनको बिक्रीहुँदा २५ प्रतिशतमात्रै डिजेल, पेट्रोलबाट चल्ने सवारी साधन बिक्री हुने गरेको छ । उनले गण्डकी प्रदेश र त्यसको राजधानी पोखरामा मात्रै अर्बौंको लगानी अटोमोवाइल क्षेत्रमा रहेको बताए । यस क्षेत्रले सो रुममा मात्र हाल करीब ४ हजार रोजगारी प्रत्यक्ष रुपमा दिएको र अटोमोवाइल मेकानिक्सको क्षेत्रमा त्योभन्दा बढी रोजगारी सिर्जना गरेको उनले दाबी गरे ।
प्रकाशित: ९ चैत्र २०८२ १७:३५ सोमबार





