२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
बजार

सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य

विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन्। ‘एभरेस्ट १° इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रमा दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्द्धन, जलवायु उत्थानशीलता अभिवृद्धि तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाएका छन्।

बीवाइडीको “कूल द अर्थ बाई १° सेल्सियस” अवधारणाबाट प्रेरित भई सीबीसीएफले सन् २०२५ देखि एसपीसीसीसँग सहकार्य सुरु गरेको थियो। यस सहकार्यको उद्देश्य सगरमाथा तथा खुम्बु क्षेत्रले सामना गरिरहेका वातावरणीय चुनौतीहरूको समाधानका लागि नवीन तथा दीर्घकालीन उपायहरूको विकास गर्नु हो।

पछिल्ला दशकहरूमा बढ्दो पर्वतारोहण गतिविधि र जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रको वातावरणीय सन्तुलनमाथि गम्भीर दबाब परेको छ। विभिन्न अध्ययनअनुसार हिमालमा अझै पनि ८० टनभन्दा बढी फोहोर, अक्सिजन सिलिन्डर, प्लास्टिक, आरोहण सामग्री तथा मानवजन्य फोहोर बाँकी रहेको अनुमान छ। यसले हिमनदी, जलस्रोत तथा स्थानीय समुदायमाथि प्रत्यक्ष असर पारिरहेको छ।

यसैबीच, सन् २०२६ को वसन्तकालीन आरोहण सिजनमा ‘एभरेस्ट १° इनिसियटिभ’ अन्तर्गत महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। सीबीसीएफको सहयोगमा एसपीसीसीले पहिलो पटक क्याम्प–२ मा ‘एभरेस्ट रेन्जर्स बेस’ स्थापना गरेको छ। उच्च हिमाली क्षेत्रमा परिचालित दुई जना एभरेस्ट रेन्जर्सले वातावरणीय मापदण्डको पालना, फोहोर व्यवस्थापनको अनुगमन, आरोहीहरूमा वातावरणीय सचेतना अभिवृद्धि तथा आपत्कालीन सहयोग सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

आरोहण सिजनभर रेन्जर्सहरूले आधार शिविरभन्दा माथिका क्षेत्रमा फोहोर व्यवस्थापन गतिविधिको अनुगमन गरेका थिए। विशेषगरी क्याम्प–३ र क्याम्प–४ बाट प्रत्येक आरोहीले अनिवार्य रूपमा कम्तीमा २ केजी फोहोर फिर्ता ल्याउनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिएको एसपीसीसीले जनाएको छ। साथै, जिम्मेवार फोहोर व्यवस्थापन अभ्यासलाई प्रवर्द्धन गर्न विभिन्न अभियानसमेत सञ्चालन गरिएको थियो।

सन् २०२६ को वसन्तकालीन आरोहण सिजनले वातावरणीय व्यवस्थापनका दृष्टिले उल्लेखनीय नतिजा दिएको छ। यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से गरी कुल ७०१ जना आरोही सहभागी भएका थिए, जुन यी हिमालहरूको इतिहासकै उच्च सहभागितामध्ये एक मानिएको छ।

एसपीसीसीको फोहोर व्यवस्थापन तथा अनुगमन कार्यक्रमअन्तर्गत क्याम्प–३ र साउथ कोल क्षेत्रबाट १ हजार २२६ किलोग्राम पुनः प्रयोग गर्न नसकिने फोहोर संकलन गरिएको छ। त्यस्तै, २१० वटा ईपीआई ग्यास क्यानिस्टर तथा १ हजार ७६९ वटा मानव फोहोर संकलन झोला (पुप ब्याग) तल्लो क्षेत्रमा झारिएको छ।

त्यसैगरी, खुम्बु आइसफल प्रवेशद्वारस्थित एसपीसीसी चेकपोइन्टमार्फत थप ६ हजार ५२२ किलोग्राम फोहोर व्यवस्थापन गरिएको छ। यसमा प्लास्टिक, धातुजन्य सामग्री, कागज, भान्साजन्य फोहोर, टेन्ट, डोरी तथा अन्य आरोहण सामग्री समावेश छन्।

एसपीसीसीका अनुसार सन् २०२६ को वसन्तकालीन आरोहण सिजन संस्थाका लागि बहुआयामिक उपलब्धिको वर्ष बनेको छ। एकातर्फ सगरमाथा, ल्होत्से र नुप्त्से क्षेत्रमा इतिहासकै उच्च सङ्ख्यामा आरोही सहभागी भए भने अर्कोतर्फ क्याम्प–२ मा एसपीसीसीको पहिलो मौसमी कार्यालय सञ्चालनमा आएको छ। साथै, फोहोर व्यवस्थापनतर्फ पनि उल्लेखनीय सफलता हासिल भएको छ।

यी उपलब्धिलाई आधार बनाउँदै एसपीसीसी र सीबीसीएफले आगामी वर्षहरूमा सगरमाथा क्षेत्रमा थप दिगो फोहोर व्यवस्थापन पूर्वाधार विकास गर्ने योजना अघि बढाएका छन्। यसअन्तर्गत आरोहीहरूका लागि वातावरणीय अभिमुखीकरण कार्यक्रम सञ्चालन, मानव फोहोर व्यवस्थापन प्रणाली विस्तार, उच्च शिविरहरूमा विशेष फोहोर संकलन केन्द्र स्थापना तथा ड्रोनमार्फत फोहोर ढुवानी प्रणाली विस्तार गरिनेछ।

यस साझेदारीले सन् २०२५ मा एयरलिफ्ट टेक्नोलोजिजसँगको सहकार्यलाई पनि निरन्तरता दिएको छ। उक्त सहकार्यअन्तर्गत परीक्षण चरणमा क्याम्प–१ बाट २८३ किलोग्राम फोहोर ड्रोनमार्फत सफलतापूर्वक संकलन तथा ढुवानी गरिएको थियो। यसले हिमाली क्षेत्रमा प्रविधिमैत्री फोहोर व्यवस्थापनको सम्भावना उजागर गरेको एसपीसीसीले जनाएको छ।

स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि सीबीसीएफले एभरेस्ट बेस क्याम्पमा ५ केभीए क्षमताको सौर्य ऊर्जा प्रणाली स्थापना गर्न सहयोग गरेको छ। यसले दुर्गम हिमाली क्षेत्रमा भरपर्दो तथा स्वच्छ ऊर्जा उपलब्ध गराउँदै परम्परागत इन्धनमा निर्भरता घटाउन सहयोग पुर्‍याइरहेको छ।

‘एभरेस्ट १° इनिसियटिभ’ लाई तीन चरणमा कार्यान्वयन गर्ने योजना रहेको छ। पहिलो चरण सन् २०२६ मा वातावरणीय चार्टर निर्माण, वित्तीय योजना, सरोकारवालासँग परामर्श, प्रशिक्षण सामग्री विकास, दुई जना रेन्जर परिचालन, वातावरणीय अभिमुखीकरण भिडियो निर्माण तथा प्रारम्भिक ड्रोन परिचालनमा केन्द्रित हुनेछ।

सन् २०२७ मा दोस्रो चरणअन्तर्गत वातावरणीय चार्टर कार्यान्वयन, वातावरणीय व्यवस्थापक तालिम, ६ जना रेन्जर परिचालन, क्याम्प–४ मा फोहोर संकलन केन्द्र निर्माण, दुईवटा ड्रोन सञ्चालन, १४० वटा मानव फोहोर व्यवस्थापन उपकरण विस्तार तथा याक टोली परिचालन गरिनेछ।

तेस्रो तथा अन्तिम चरण सन् २०२८ मा दिगोपना सुनिश्चित गर्ने लक्ष्यसहित सञ्चालन हुनेछ। यस अवधिमा रेन्जर परिचालनलाई निरन्तरता दिइने, थप तालिम कार्यक्रम सञ्चालन गरिने, सम्पूर्ण पूर्वाधार पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने, २०० वटा मानव फोहोर व्यवस्थापन उपकरण परिचालन गरिने तथा आरोही शुल्कमा आधारित आत्मनिर्भर वित्तीय मोडेलमा रूपान्तरण गरिने योजना रहेको छ।

सन् १९९१ मा स्थापना भएको एसपीसीसी शेर्पा समुदायको नेतृत्वमा सञ्चालित गैरनाफामूलक संस्था हो। यसले सगरमाथा क्षेत्र तथा सगरमाथा राष्ट्रिय निकुञ्जभित्र वातावरण संरक्षण, फोहोर व्यवस्थापन, आरोही सुरक्षा तथा दिगो विकासका क्षेत्रमा कार्य गर्दै आएको छ।

सन् २०२४ मा स्थापना भएको सीबीसीएफ साइमेक्स इन्क प्रालि र बीवाइडीको संयुक्त पहल हो। शिक्षा, स्वास्थ्य तथा दिगो विकासका क्षेत्रमा केन्द्रित फाउन्डेसनले वातावरण संरक्षण, नवीकरणीय ऊर्जा तथा सामुदायिक विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित: २४ जेष्ठ २०८३ १८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App