यो आँप पाक्ने याम हो। सिरहाका बजारमा मात्र होइन, सडक किनार र यत्रतत्र आँपैआँप देखिन्छन्। केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ।
पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएको छ। मालदहलगायत आँपको सुवासले सिरहा मगमगाइरहेको छ। हरेक घरको आँगन, बगैंचाको कुनो र बजारको छेउमा बगिरहेको आँपको सुगन्ध सिरहाको पहिचान हो। हावामा घुलिएको त्यो सुगन्ध, जुन स्वादमा बदलिन्छ। यही स्वाद अब व्यवसाय, रोजगारी र आत्मनिर्भरताको गाथा बन्न थालेको छ।
सिरहालाई आँपको राजधानीका रूपमा लिइन्छ। यद्यपि, यो उपाधि कुनै आधिकारिक निकायले दिएको नभई जनमानसमा विकसित भएको उपमा हो। सिरहालाई ‘आँपको राजधानी’ भन्ने चलन यसको बृहत् उत्पादन, समथर भूभाग, गर्मी मौसम, विशिष्ट गुणस्तर र व्यापारिक महत्वजस्ता कारणले हो।
आँप केवल स्वादिलो फलमात्र होइन, यो पोषण, स्वास्थ्य, संस्कृति र अर्थतन्त्रसँग गाँसिएको फल पनि हो। त्यसैले यसलाई ‘फलको राजा’ मात्र नभई ‘जीवनको फल’ पनि मानिन्छ। यसको खेतीमा जीवनयापन गर्ने हजारौं व्यावसायिक किसानको आशा, मेहनत र भविष्य यसैमा गाँसिएको छ। आँप केवल स्वाद र सुगन्धको प्रतीकमात्र होइन, यो धेरैको लागि जीवनको आधार पनि हो।
गोलबजार नगरपालिका–३ मुसहर्नियाका किसान भरत यादव र निरज सिंहले करिब सय बिघा क्षेत्रफलमा फैलिएको आँपको व्यवस्थित बगैंचा तयार गरेका छन्, जुन अहिले जिल्लाकै सबैभन्दा ठूलो व्यावसायिक आँपखेतीको नमूना बनेको छ। यो बगैंचाले उत्पादनको मात्रामा मात्र योगदान दिएको छैन, जिल्लामा व्यावसायिक आँपखेतीतर्फ किसानको रुचि बढाउने प्रेरणा पनि दिएको छ।
‘पहिला परम्परागत रूपमा खेती गर्थ्यौं, अहिले बजार, प्रविधि र व्यवस्थापनमा ध्यान दिएर व्यावसायिक बनाएका छौं,’ किसान निरज सिंहले भने, ‘आँपखेतीबाट दैनिक २५ देखि ३० जनाले रोजगारी पाउँछन्। सिजनमा दुई सयदेखि पाँच सय कार्टुनसम्म आँप टिप्ने, प्याक गर्ने र काठमाडौं, पोखरा, वीरगञ्ज, जनकपुरसम्म लैजाने गरेका छौं।’ बगैंचाबाट हरेक वर्ष लाखौं रूपैयाँको आँप बिक्री हुने गरेको उनको भनाइ छ।
नेपालमा आँपको मुख्य मौसम सुरु नहुँदै बजार भारतीय आँपले भरिने क्रम यस वर्ष पनि दोहोरिएको किसान सिंहले दुखेसो पोखे। जेठको दोस्रो सातादेखि नेपालका सहरबजारमा भारतीय आँपको बर्चस्व देखिन्छ, जबकि स्थानीय आँप असारको पहिलो, दोस्रो हप्तामा मात्र परिपक्व हुन्छ। ‘यसले देशभरका व्यावसायिक किसान चिन्तित छन्,’ उनले भने।
यहाँका आँप बजारमा आउनुअघि सस्तो दरमा भारतीय आँप बग्रेल्ती भित्रिएपछि किसान प्रतिस्पर्धामा पछाडि परेका छन्। मुसहर्नियाका व्यावसायिक कृषक भरत यादव भन्छन्, ‘हामीले मेहनत गरेर आँप उत्पादन गर्यौं, तर भारतीय आयातले हाम्रो उत्पादनलाई बजार नै नदिएपछि ठूलो घाटा सहनुपरेको छ। एकातिर आँपको उत्पादन घट्यो, अर्कातर्फ बजार मूल्य उस्तै रह्यो।’
भारतीय आँप नेपालमा सस्तो मूल्यमा पाइने भए पनि, उपभोक्ताले रसायन प्रयोगको डर, कम स्वाद र कम ताजगीजस्ता गुनासो गर्छन्। नेपालमा फलफूल आयातसम्बन्धी स्पष्ट नीतिको अभाव, कमजोर सीमास्तर निगरानी र स्थानीय उत्पादनको संरक्षण नहुनु मुख्य कारण मानिन्छ। किसानहरू भन्छन्, ‘नेपाल सरकारले कागजमा आत्मनिर्भरता भन्ने नारा लगाउँछ, तर व्यवहारमा किसानको संरक्षण छैन।’
स्वाद र गुणस्तरमा अब्बल भए पनि स्थानीय आँपले भारतीय फलसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेको छ। विदेशी आँप चम्किला र आकर्षक देखिए पनि तीमध्ये धेरैमा अत्यधिक विषादी वा रसायन प्रयोग हुने गरेको खबर सार्वजनिक हुन्छ। लहान–२४ का व्यावसायिक किसान शम्भु चौधरी भन्छन्, ‘हामीले रोग नियन्त्रणका लागि जैविक उपायमात्र अपनाउँछौं र अत्यधिक विषादी प्रयोग गर्दैनौं। त्यसैले हाम्रो आँप स्वादिलो, सुरक्षित र ताजा हुन्छ।’
आँप उत्पादनमा सिरहा पहिलो
मधेस प्रदेश आँपखेतीका लागि उर्वरभूमि हो। यहाँको हावापानी र माटो आँप उत्पादनका लागि सुहाउँदो छ। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लामा व्यावसायिक रूपमा आँपखेती हुन्छ। आँप उत्पादनमा यो प्रदेशको ७७ प्रतिशतभन्दा बढी योगदान रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका सचिव डा उमेश दाहालको भनाइ छ।
मन्त्रालयको तथ्याङ्कअनुसार देशभर ४२ हजार ७७३ हेक्टरमा आँपखेती हुन्छ। जसबाट वार्षिक पाँच लाख १३ हजार ५५ मेट्रिक टन आँप उत्पादन हुन्छ। मधेस प्रदेशमा २९ हजार ९९ हेक्टरमा आँपखेती हुन्छ, जसबाट तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुन्छ।
आँप उत्पादनमा सिरहा अगाडि छ। सिरहामा वार्षिक एक लाख चार हजार ६७६ मेट्रिक टन आँप फल्छ। सप्तरीमा ९६ हजार, धनुषामा ३६ हजार ९१६, महोत्तरीमा ३२ हजार ७२२, सर्लाहीमा ३९ हजार ११८, रौतहटमा ६२ हजार ५६१, बारामा १९ हजार २६९ र पर्सामा चार हजार ७३१ मेट्रिक टन आँप उत्पादन हुन्छ।
स्वादमा नामी
नेपालका सहरमा ‘लहानको मालदह आँप’ स्वादका हिसाबले चर्चित छ, तर बजारमा ठगी, विषादी प्रयोग र नक्कली ‘लेबलिङ’का कारण यसको बदनामी पनि बढ्दो छ। लहानकै मालदहको स्वाद पाएकाहरूमाझ यो आँप नामी छ।
लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइ भन्छन्, ‘लहानकै वास्तविक मालदह आँप खाएका उपभोक्ता यसको मिठास, सुगन्ध र प्राकृतिक रसिलोपनाको प्रशंसा गर्छन्। तर बजारमा यही नाममा कम गुणस्तरका, समयअगावै टिपेर पकाइएका वा भारतीय आँप बिक्री हुँदा उपभोक्तामा भ्रम र असन्तुष्टि बढेको छ।’ राजमार्गको उत्तरी भेगमा पर्ने सिरहाको लहान, धनगढीमाई, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकाको चुरे क्षेत्रमा सुक्खा जमिनमा फल्ने आँप दक्षिणी भेगमा ओसिलो ठाउँमा फल्ने आँपभन्दा स्वादिलो र मिठो हुन्छ।
स्थानीय आँपको ‘ब्रान्डिङ’
‘लहानको आँप’ भनेर अर्कै ठाउँको बेच्ने, एउटा आँप भनेर अर्कै बेच्ने, विषादी प्रयोग गरिएको आँप बेचेर लहानको आँपलाई बदनाम गराउनेलाई निरुत्साहित गर्न लहान नगरपालिकाले दुई वर्षदेखि मालदह आँपलाई ‘ब्रान्डिङ’ गरी काठमाडौंलगायत सहरमा पठाउँदै आएको छ। गाउँगाउँमा किसानले उत्पादन गरेको आँपलाई ब्रान्डिङ, ग्रेडिङ र प्याकेजिङ गर्नाले उपभोक्ता र उत्पादक नठगिने कृषि संयोजक बद्रीनारायण चौधरीले बताए।
पहिलो वर्ष ३० मेट्रिक टन र दोस्रो वर्ष ९० मेट्रिक टन आँप ‘ब्रान्डिङ’ गरी काठमाडौं, पोखरा, हेटौंडालगायत सहरमा बिक्री गरिएको उनले बताए। यस वर्षबाट गोलबजारको आँपलाई पनि ‘ब्रान्डिङ’ गरिएको छ।
उत्पादन कम भएपछि गरिएन ‘ब्रान्डिङ’
आँपको उत्पादनमा कमी आएकाले यस वर्ष लहानको आँपलाई ‘ब्रान्डिङ’ नगरिएको कृषि शाखाले जनाएको छ। एक वर्ष बिराएर फल्ने आँप गत वर्ष लटरम्म फलेकाले यस वर्ष उत्पादनमा २० प्रतिशतले कमी आएको छ। मागअनुसार पुर्याउन नसक्ने भएकाले यस वर्ष ब्रान्डिङ नगरेको शाखा प्रमुख प्रकाश साह हलुवाइले बताए।
सप्तरीको सुरुंगा नगरपालिकाको उत्तरी भेगमा पर्ने श्रीपुर क्षेत्रमा उत्पादन हुने ठूलो परिमाणको आँपको बजार पनि लहान हो। सिरहा जिल्लाभित्र राष्ट्रिय राजमार्गसँग जोडिएको र चुरे क्षेत्रको वातावरण रहेको लहान, गोलबजार, धनगढीमाई, मिर्चैया र कर्जन्हा नगरपालिकाले ५० प्रतिशत अनुदानमा आँपको बिरुवा किसानलाई वितरण गर्ने कार्यक्रम ल्याएपछि आँपखेतीको विस्तार भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठको भनाइ छ।
चिस्यान केन्द्र नहुँदा समस्या
२०८१ चैत २६ मा मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको मुख्य फल आँपलाई युरोपलगायत मुलुकमा निर्यात गर्नुपर्ने बताए। आँपको रसलाई जुसका रूपमा ब्रान्डिङ गरेर मनग्य आम्दानी लिन सकिने उनको भनाइ थियो। तर आँपको भण्डारण गर्न आवश्यक चिस्यान केन्द्र सिरहामा मात्र होइन, मधेस प्रदेशमै छैन।
चिस्यान केन्द्र निर्माणका लागि स्थानीय तहको स्रोतसाधनले नधान्ने लहान नगरप्रमुख महेशप्रसाद चौधरीको भनाइ छ। त्यसका लागि प्रदेश र सङ्घीय सरकारसँग पटकपटक पहल गरे पनि बेवास्ता गरिएको उनले गुनासो गरे। ‘व्यवस्थित चिस्यान केन्द्र भए किसानले आँप भण्डारण गरी मूल्य आएका बेला बेच्न पाउँथे। केन्द्र र प्रदेश सरकारसमक्ष कुरा राखे पनि प्रगति हुन सकेन। सबैभन्दा बढी आँप उत्पादन हुने क्षेत्रमा चिस्यान केन्द्र नहुनु विडम्बना हो।’
सरकारले आँपखेती गर्ने व्यावसायिक किसानका लागि चिस्यान केन्द्र, प्रशोधन कारखाना र निर्यातमा सहजीकरण गरिदिए मधेसको आँप अन्तरराष्ट्रिय ब्रान्ड बन्न सक्ने जानकारहरू बताउँछन्। उत्पादन र वितरण दुवैमा सुधार गरियो भने मधेसको आँपखेतीले व्यावसायिक कृषिमा आमूल परिवर्तन ल्याउन सक्ने सम्भावना बलियो छ। सुदीप राउत/रासस
प्रकाशित: ६ असार २०८२ ०७:०५ शुक्रबार