७ चैत्र २०८२ शनिबार
image/svg+xml
अपराध

टिकटकमार्फत चिनजान, ‘अमेरिकन आर्मी’को बहाना बनाएर ठग्ने युवक पक्राउ

सामाजिक सञ्जाल प्रयोग गरी अनलाइन ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक युवकलाई काठमाडौंको थानकोट क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार टिकटकमार्फत चिनजान गरी ह्वाट्सएपमा कुराकानी गर्दै महिलाहरूलाई लक्षित गरेर ठगी गरेको आरोपमा ‘विशाल थापा क्षेत्री’ नाम बताउने भेषराज वाग्लेलाई पक्राउ गरिएको हो।

पक्राउ परेका ३४ वर्षीय वाग्ले स्याङ्जाको बिरुवा गाउँपालिका–२ का बासिन्दा हुन्। उनलाई चन्द्रागिरि नगरपालिका–७, थानकोटबाट नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा आरोपितले आफू अमेरिकन आर्मीमा कार्यरत रहेको दाबी गर्ने, नेपाल बिदामा आएको भन्दै जग्गाको कर तिर्न समस्या परेको बहाना बनाउने र त्यसका लागि रकम मागेर ठगी गर्ने गरेको खुलेको छ।

त्यस्तै, आफ्नै बैंक खातामा ‘लिमिट’ लागेको भन्दै विभिन्न व्यक्तिसँग पैसा मागेर ठगी गर्ने कार्यमा समेत उनी संलग्न रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन्।

प्रहरीले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग आर्थिक कारोबार नगर्न र कुनै पनि प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

प्रकाशित: ७ चैत्र २०८२ १४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App