१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
अपराध

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत र बुल्गेरिया पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा रौतहट राजपुर नगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने २४ वर्षीय दिपक कुमार जयसवाल र सर्लाही हरिपुर नगरपालिका-२ घर भएका ३५ वर्षीय मोहन कुमार थापा रहेका छन्।

प्रहरीका अनुसार जयसवालले बेलायत पठाइदिने र आकर्षक तलब हुने आश्वासन दिएर एक जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। त्यस्तै, थापाले बुल्गेरिया पठाइदिने भन्दै दुई जना पीडितहरूबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।

पीडितहरूको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले जयसवाललाई नागार्जुन नगरपालिका–८ बाट र थापालाई काठमाडौं महानगरपालिका–६ बाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले वैदेशिक रोजगारीमा आकर्षक अवसर पाउने भन्दै पीडितहरूलाई विश्वासमा पारेर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: १५ वैशाख २०८३ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App