लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला कपिलवस्तु नगरपालिका–३ तिलौराकोट दरबार परिसर बाहिर एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन्।
तिलौराकोट घुम्न गएकी ती किशोरीलाई डर त्रास देखाई भाइरल टुर गाइड कपिलवस्तु नगरपालिका वडा नम्बर ६ तिलौरीका २० वर्षीय राहुल मल्लाह बलात्कार आरोपमा पक्राउ परेका छन्।
गत मंसिर १४ गते मल्लाहले ती किशोरीलाई डर त्रास देखाई तिलौराकोट दरबार बाहिर रहेको झाडीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
नाताले भिनाजु पर्नेसँग घुम्न तिलौराकोट गएको बेला मल्लाहले भिनाजुलाई गालीगलौजसहित विभिन्न आरोप लगाएपछि उनी त्यहाँबाट भागेका थिए। एक्लै परेकी किशोरीलाई मल्लाहले डर त्रास देखाई घटना घटाएको जाहेरीमा उल्लेख गरिएको छ।
किशोरीको स्वास्थ्य संस्थामा शारीरिक परीक्षण गरिएको थियो। पक्राउ परेका मल्लाहलाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए। ६ वर्षअघि युट्युबर भाग्य न्यौपाने र भोजराज थापालाई अन्तर्वार्ता दिएपछि मल्लाह भाइरल बनेका थिए।
प्रकाशित: १७ मंसिर २०८२ १३:५० बुधबार





