उदयपुरको पश्चिमी बजार कटारीबाट भारी मात्रामा प्रतिबन्धित लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन्।
सोमबार बिहान कटारी नगरपालिका ६ बाँकेटारस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट सो परिमाणको गाँजासहित मानिसहरु पक्राउ परेका हुन्।
बिहान ४ः०० बजेजस्तो समयमा कटारी वनक्षेत्रमा लागूऔषध ओसारपसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कायौलय कटारीबाट खटेको टोलीले गाँजा र व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार सो ठाउँ पुगेर जंगलभित्र खोजतलास गर्दा बा १६ च ५२६९ न. को बोलेरोमा ल्याएर जंगलमा लुकाई छिपाई राखेको अवस्थामा ५२ बोरामा प्याक गरेको अवस्थामा १ हजार १ सय २२ किलो ६७ ग्राम जडिबुटीजन्य प्रतिबन्धित गाँजा फेला परेको हो।
गाँजा र बोलेरोसहित ताप्ली गाँउपालिका १ डाँडागाँउका अन्दाजी ५५ वर्षीय रामबहादुर मगर, सोही ठाउँका अन्दाजी २१ वर्षीय नेकबहादुर मगर र अन्दाजी ४६ वर्षीय पृथ्वीराज मगर पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गणेश बमले बताए।
गाँजासहित नियनत्रमा लिइएका बोलेरो र उनीहरुलाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर थप अनुसन्धान सुरु भएको डिएसपी बमले बताएका छन्।
प्रकाशित: १५ भाद्र २०८३ १४:२३ सोमबार





